राजधानीका उम्मेदवारप्रति देशैभरको चासो

ठूला दलका नेताबीच मुख्य प्रतिष्पर्धा, चुनौती बन्दै स्वतन्त्र र विद्रोही उम्मेदवार

अनिल क्षेत्री
Read Time = 22 mins

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा उत्रिसकेका छन् । उम्मेदवारहरू मतदातालाई रिझाउन घरदैलो पुग्न थालेका छन् । निर्वाचन परिणामबारे राजनीतिक दलहरूबीच जोडघटाउ सुरु भइसकेको छ भने आममतदाता पनि हारजितको विश्लेषण गर्न थालेका छन् । मुलुक निर्वाचनमय भइरहँदा देशकै केन्द्रीय राजधानी रहेको काठमाडौंको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ । हुन त आसन्न निर्वाचनमा मात्र नभई हरेक निर्वाचनमा काठमाडौंलाई विशेष चासो र महत्वका साथ हेरिन्छ । मुलकमा भएका हरेक राजनीतिक परिवर्तनमा निर्णायक भूमिका, समग्र राजनीतिमा प्रभाव पार्नसक्ने र देशकै राजधानी भएका कारण अन्तर्राष्ट्रिय समुदायको समेत चासो हुने भएकाले काठमाडौंको निर्वाचन बढी चासोको विषय बन्ने गरेको छ । काठमाडौं सबैभन्दा बढी १० प्रतिनिधिसभा र २० प्रदेशसभा निर्वाचन क्षेत्र भएको जिल्ला पनि हो । स्वतन्त्र उम्मेदवार र शीर्ष नेताहरूकै दबदबा रहेको काठमाडौंको हरेक क्षेत्रलाई उत्तिकै महत्वका साथ हेरिने गरिन्छ ।

निर्वाचन क्षेत्र नम्बर १
काठमाडौंको अन्य क्षेत्रको तुलनामा १ नम्बरमा सबैभन्दा धेरै उम्मेदवारी परेको छ । निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको प्रत्यक्षतर्फका उम्मेदवारको सूचीअनुसार यो क्षेत्रमा दलगत २१ र स्वतन्त्र ११ गरी ३२ जनाको उम्मेदवारी परेको छ । यीमध्ये पुरुष २२ र महिला १० जना छन् । निर्वाचन आयोगका अनुसार सबैभन्दा धेरै महिला उम्मेदवार रहेको क्षेत्र पनि यही हो । यो क्षेत्रमा निरन्तर चुनाव जित्दै आउनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पनि उम्मेदवार हुनुहुन्छ । सिंहसँगै यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्र, एमालेबाट किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षकसमेत रहनुभएका सुशासन पार्टीका रमेश खरेल लगायतका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । दलगत र स्वतन्त्र उम्मेदवार धेरै भए पनि यो क्षेत्रमा पार्टी संगठन र जनाधारको आधारमा सिंह, पौडेल र मिश्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । २०७४ को चुनावमा मिश्र प्रकाशमानको चुनौती बन्नुभएको थियो । त्यतिबेला तत्कालीन विवेकशील साझाबाट उम्मेदवारी दिनुभएका मिश्र थोरै मतान्तरले सिंहसँग पराजित हुनुभएको थियो । यो क्षेत्रमा एमालेको संगठन र युवा भएको कारण किरण पौडेलले पनि यी दुई उम्मेदवारलाई ठूलो चुनौती दिन सक्ने आँकलन गरिएको छ । युवामाझ लोकप्रिय राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएका पुकार बमले पनि यो क्षेत्रमा अन्य उम्मेदवारलाई चुनौती दिनसक्ने देखिएको छ ।

निर्वाचन क्षेत्र नम्बर २
काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्रको रूपमा चिनिँदै आएको थियो । तर, यसपटक नेपालले यो निर्वाचन क्षेत्र छाडेर गृहजिल्ला रौतहटबाट उम्मेदवारी दिनुभएको छ । यो क्षेत्रमा आसन्न निर्वाचनको लागि २० जना दलीय र १० जना स्वतन्त्र गरी ३० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । यो क्षेत्रमा नेकपा एमालेबाट मणिराम फुँयाल र सत्ता गठबन्धनको तर्फबाट पूर्वसभामुखसमेत रहनुभएकी नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । घर्ती रोल्पाबाट उम्मेदवार बन्दै आए पनि यसपटक यो क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ । क्षेत्र नम्बर २ मा माओवादी केन्द्रको चुनाव जित्ने हैसियतको संगठन नभए पनि एमालेपछि मजबुत संगठन भएको नेपाली कांग्रेस र विगतमा यही क्षेत्रबाट चुनाव जित्दै आउनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको समर्थनको बलमा घर्तीले चुनाव लड्दै हुनुहुन्छ । यो क्षेत्रमा नेकपा एमालेको पनि राम्रो पकड रहेकाले फुँयाल र गठबन्धनको साथ रहेकाले घर्तीबीच नै तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३
काठमाडौं  निर्वाचन क्षेत्र ३ बाट आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि दलगत १५ र स्वतन्त्र आठ गरी २३ जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रबाट नेकपा एमालेका कृष्णबहादुर राई र सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सन्तोष चालिसेले उम्मेदवारी दिनुभएको छ । सत्ता गठबन्धनबीच भएको सहमतिविपरीत गठबन्धनको घटक माओवादी केन्द्रका बद्रीप्रसाद चौलागाईंले यो क्षेत्रबाट बागी उम्मेदवारी दिनुभएको छ । एमालेका राई अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित उम्मेदवार हो । एमालेको पार्टी संगठन निकै बलियो भएको र अर्का उम्मेदवारसँग गठबन्धनको साथ भएका कारण यो क्षेत्रमा एमालेका राई र कांग्रेसका चालिसेबीच तीव्र प्रतिस्पर्धा हुने विश्लेषण छ ।

निर्वाचन क्षेत्र नम्बर ४
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । महामन्त्री थापा २०७० को संविधानसभा र २०७४ को आम निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । यही क्षेत्रबाट उम्मेदवारी दिनुभएका महामन्त्री थापा जितको ह्याट्रिक गर्ने दाउमा हुनुहुन्छ । थापालाई नेकपा एमालेका राजन भट्टराई पुन टक्करको लागि मैदानमा उत्रिनुभएको छ । २०७४ सालको चुनावमा पनि यी दुवै उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । भट्टराईलाई तत्कालीन वाम गठबन्धनको समर्थन भए पनि थापाले बाजी मार्नुभएको थियो । यो क्षेत्रबाट दलगत १७ र स्वतन्त्र १४ गरी ३१ जनाले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा पुनः थापा र भट्टराईबीच नै हुने देखिन्छ । दुवै नेता राष्ट्रिय राजनीतिमा परिचित पनि हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट सशस्त्र प्रहरीको पूर्व-एआइजी ठाकुर मोहन श्रेष्ठले पनि उम्मेदवारी दिनुभएको छ । ठाकुरले कांग्रेस र एमालेका उम्मेदवारलाई टक्कर दिने सम्भावना कमजोर छ ।

निर्वाचन क्षेत्र नम्बर ५
काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ५ लाई पनि उत्तिकै चासोको रूपमा हेरिएको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई टक्कर दिन नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल मैदानमा उत्रिनुभएको छ । समकालीन राजनीतिमा शीर्ष नेतामध्येका एक पोखरेलसँग युवानेता पौडेल प्रतिस्पर्धी बन्न पुग्दा यो क्षेत्र आगामी निर्वाचनको लागि हटकेक मध्येको एक बन्न पुगेको छ । अर्कोतिर विवेकशील पार्टीकी पूर्वनेतृ रञ्जु दर्शना (न्यौपाने) को उम्मेदवारीले क्षेत्र नम्बर ५ को प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । एमाले उम्मेदवार पोखरेल अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भए पनि २०६४ र २०७० सालको संविधानसभाका दुवै निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नरहरि आचार्यसँग पराजित हुनुभएको थियो । यस्तै, युवा अभियन्ता हेमराज थापाले पनि यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । राप्रपाबाट प्रणयशमशेर राणाले पनि यही क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ । दलगत १५ र स्वतन्त्र १४ गरी २९ उम्मेदवार रहेको यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा पोखरेल, पौडेल र दर्शनाबीच हुने देखिन्छ । पोखरेल विवादित व्यक्तित्व भए पनि बलियो पार्टी संगठनको साथ छ । अर्का उम्मेदवार पौडेल प्रतिनिधिसभामा परीक्षण हुन बाँकी भए पनि पार्टी संगठन, गठबन्धन, जनाधार र युवा मतदाताको साथ छ । अर्का उम्मेदवार दर्शनाको राजनीतिका सुरुवाती दिनमा जस्तो क्रेज नभए पनि राजनीतिक दलबाट असन्तुष्ट मतदाता र युवाहरूको भोट जाने सम्भावना छ ।

निर्वाचन क्षेत्र नम्बर ६
काठमाडौं निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनको लागि दलगत १३ र स्वतन्त्र ११ गरी २४ जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका भीमसेनदास प्रधान उम्मेदवार बन्दा नेकपा एमालेले नेपाल प्रहरीका पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । यो क्षेत्रबाट चर्चित व्यक्ति प्रेमसागर कर्माचार्य र निर्देशन सिलवालले पनि स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ । प्रधान २०७० सालको संविधानसभा निर्वाचन र आमनिर्वाचन २०७४ मा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । तर, एमालेका उम्मेदवार खनाल भने पहिलोपटक उम्मेदवार मात्र होइन राजनीतिक पृष्ठभूमि नै नभएका उम्मेदवार हुन् । अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई समेत पराजित गर्न सफल प्रधान र पार्टी संगठनको बलमा खनालबीच नै प्रतिस्पर्धा हुने विश्लेषण भइरहेको छ । स्वतन्त्र मत भने कर्माचार्य र सिलवालले पनि तान्न सक्ने देखिएको छ ।

निर्वाचन क्षेत्र नम्बर ७
आसन्न निर्वाचनको लागि प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ७ बाट दलगत १३ र स्वतन्त्र १६ गरी २९ जनाको उम्मेद्वारी परेको छ । यो क्षेत्रमा नेकपा एमालेबाट श्यामकुमार घिमिरे, सत्ता गठबन्धनको तर्फबाट नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराई र जनता समाजवादी पार्टी (जसपा)का नेता एवं बिहीबार मात्रै बर्खास्तीमा पर्नुभएका मन्त्री राजेन्द्र श्रेष्ठको उम्मेदवारी परेको छ । २०७० र २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेर निर्वाचित हुनुभएका रामवीर मानन्धरले आगामी निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उम्मेदवार मानन्धरको यो क्षेत्रमा व्यक्तिगत र समुदायगत मत रहेको उक्त क्षेत्रका राजनीतिक जानकारहरूको भनाइ छ । मानन्धरको उम्मेदवारीको असर नेकपा एमालेका उम्मेदवारलाई पर्ने विश्लेषण भइरहेको छ । अर्कोतिर मानन्धरको समुदायगत भोटको असर गठबन्धनका उम्मेदवार यमीलाई समेत पर्ने दाबी गरिएको छ । स्थानीय बासिन्दा र निवर्तमान मन्त्री भएको कारण यो क्षेत्रमा जसपाका उम्मेदवार श्रेष्ठको पनि प्रभाव रहेको कतिपयको विश्लेषण छ । स्वतन्त्र उम्मेदवार मानन्धरको उम्मेदवारीले यो क्षेत्रमा चार पक्षीय तीव्र प्रतिस्पर्धा हुने राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।

निर्वाचन क्षेत्र नम्बर ८
दलगत १६ र स्वतन्त्र तीन गरी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा १९ जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट शिवसुन्दर राजवैद्यले उम्मेदवारी दिनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता एवं वहालवाला पर्यटनमन्त्री जीवनराम श्रेष्ठ उम्मेदवार हुँदा हाम्रो नेपाल पार्टीको तर्फबाट सुमन सायमीले पनि उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट विराजभक्त श्रेष्ठले उम्मेदवारी दिँदा जनता समाजवादीबाट मनोज खड्गीले उम्मेदवारी दिनुभएको छ । जीवनराम श्रेष्ठ अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । श्रेष्ठबाहेक अन्य उम्मेदवारहरू प्रतिनिधिसभा चुनावमा नवप्रवेशी हुन् । सायमी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडांै महानगरको प्रमुखमा प्रतिस्पर्धा गर्नुभएको थियो । यो क्षेत्रमा गठबन्धनका उम्मेदवार श्रेष्ठ र एमालेका उम्मेद्वार वैद्यबीच तीव्र प्रतिस्पर्धा हुने यसक्षेत्रका मतदाताको विश्लेषण छ ।

निर्वाचन क्षेत्र नम्बर ९
नेकपा एमालेबाट कृष्णगोपाल श्रेष्ठ, सत्ता गठबन्धनका तर्फबाट कल्पना धमलासहित दलगत १६ र स्वतन्त्र १० जनाले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ बाट उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेर संसद् छिर्न सफल एमालेका उम्मेदवार श्रेष्ठ अघिल्लो सरकारमा शिक्षामन्त्रीसमेत रहनुभएको थियो । पूर्वमन्त्रीसमेत रहनुभएकी सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी नेतृ कल्पना धमलाको लागि यो निर्वाचन क्षेत्र नितान्त नौलो हो । तर, अघिल्लो निर्वाचनमा दोस्रो पोजिसनमा रहेको कांग्रेस र नेकपा एमालेबाट छुट्टिएको नेकपा एकीकृत समाजवादीको साथ धमलालाई छ । यो क्षेत्रबाट विवेकशील नेपाली दलका संस्थापक मध्येका एक मिलन पाण्डेले पनि साझा पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिनुभएको छ । अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिस्पर्धा गर्नुभएका पाण्डेले पाँच हजार मत पार गर्नुभएको थियो । पाण्डेलाई राजनीतिक दलहरूप्रति असन्तुष्ट र युवा मतदाताको आकर्षण छ । एमाले उम्मेदवार श्रेष्ठलाई पार्टीको संगठनको बलियो साथ छ । पार्टीको संगठन कमजोर भए पनि धमलालाई गठबन्धनको साथ छ । धेरैले उम्मेदवारी दिए पनि यी तीन उम्मेदवारबीच नै निकटतम् प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर १०
२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनदेखि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० निकै चर्चित छ । पहिलो संविधानसभाको निर्वाचनमा भर्खरै विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा आएर पहिलो निर्वाचन लड्दै गर्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारीले चर्चा भयो भने दोस्रो संविधानसभा निर्वाचनमा उनै दाहाल पराजित भएर चर्चामा रह्यो । माओवादी अध्यक्ष दाहाललाई पराजित गरेर चर्चाको शिखरमा पुग्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी पुन उम्मेदवार बन्नुभएको छ । अघिल्लो निर्वाचनमा तत्कालीन वाम गठबन्धनका उम्मेदवारलाई समेत पराजित गर्नुभएका केसी यसपटक निर्वाचन जितेर ह्याट्रिक गर्ने दाउमा हुनुहुन्छ । सत्ता गठबन्धनको सहमतिविपरीत माओवादी केन्द्रकी नेतृ अञ्जना विसंखेको बागी उम्मेदवारीले केसीलाई समस्या पर्नसक्छ ।

तर, यो क्षेत्रमा माओवादी केन्द्रको जनाधार अत्यन्तै न्यून रहेकोले बागी उम्मेदवारीले असर नपर्ने कांग्रेसका नेताहरूको दाबी छ । अर्कोतिर नेकपा एमालेले गठबन्धनका उम्मेदवारसँग टक्कर लिन हिमेस केसीलाई उम्मेदवार बनाएको छ । दलगत १५ र स्वतन्त्र तीन गरी १८ जनाको उम्मेदवारी परेको यस क्षेत्रमा नेवार समुदायको मत निर्णायक मानिन्छ । तर, मुख्य दलका उम्मेदवार गैरनेवार समुदायका छन् । अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार नेवार समुदायकै भए पनि उक्त समुदायको भोट कांग्रेस उम्मेदवार केसीलाई नै गएको थियो । चर्चित र नवप्रवेशी उम्मेदवार बीचको प्रतिस्पर्धाले यो क्षेत्र पनि चासोको क्षेत्र बन्न पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?