गण्डकी प्रदेशको राजधानी पोखरा रंगशलामा नेपाली खेलकुदको कुम्भमेला

हिमालय टाइम्स
Read Time = 18 mins

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौं प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तालिका भए पनि अस्वस्थताका कारण उपराष्ट्रपति उपस्थित हुनुभएको हो ।

भव्य रूपमा भएको प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्नुभयो भने युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायनलगायत आतिसबाजी गरिएको थियो । कोभिड महामारी लगायत विविध कारणले समयमा हुन नसकेर पछि धकेलिएको प्रतियोगिता गण्डकीमा ३९ वर्षपछि आयोजना भएको हो । यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो । नवौंको अधिकांश खेल पोखरा रंगशालामा हुनेछन् । ११ टिमका ६ हजार १५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । यसपटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन् ।

एपीएफ र मधेस प्रदेश विजयी
नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफ र मधेस प्रदेश विजयी भएका छन् । पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई र दोस्रो खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो ।

एपीएफ क्लबले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गर्‍यो । पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १०६ बल बाँकी रहँदै प्राप्त गर्‍यो । एपीएफकोतर्फबाट सीता रानामगरले पाँच बलमा दुई चौका प्रहार गर्दै १२ रन जोड्नुभयो । इन्दु वर्माले तीन बलमा दुई चौकासहित नौ रनको योगदान दिनुभयो ।

खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनै खेलाडीले दोहोरा आँकडाको योगफल तयार पार्न सक्नुभएन । सृष्टि जैसीले बनाउनुभएको पाँच रन नै गण्डकीको सर्वाधिक बन्न पुग्यो ।
एपीएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले तीन ओभरमा चार रन खर्चिएर दुई विकेट लिनुभयो । त्यस्तै सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगरले एक–एक विकेट लिनुभयो । गण्डकीका सृष्टि जैसीले एक विकेट लिनुभएको थियो । जितसँगै एपीएफ ग्रुप ‘ए’को शीर्षस्थानमा पुगेको छ । एपीएफले दुई खेलमा दुई जित हासिल गर्दै चार अंक जोडेको छ ।

दोस्रो खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै विजयी भयो । पहिले व्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९१ रनको योगफल तयार गर्‍यो । ९२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिम प्रदेशले आठ विकेट गुमाएर ७६ रनमात्र बनाएपछि मधेस प्रदेश विजयी भएको हो ।

मधेस प्रदेशका सना प्रवीन प्लेयर अफ दि म्याच घोषित हुनुभयो । उहाँले मधेसका लागि ३५ रनको योगदान दिनुभयो । त्यस्तै गोमा आलेले १० रन बनाउनुभयो । मधेसका सन्तोषी चौधरी, शान्ति चौधरी र अनुराधा चौधरीले समान दुई/दुई विकेट हात पार्नुभयो । सुदूरपश्चिमका लागि ऋतु कनौजियाले २७, रुवि पोद्दारले १२ तथा यशोदा विष्टले ११ रनको योगदान दिनुभयो ।

फुटबल
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको दोस्रो खेलमा बागमतीले मधेस प्रदेशलाई २-० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि बागमतीले दोस्रो हाफमा २ गोल गर्दै जित हासिल गरेको हो । बागमतीका लागि अञ्जन विष्ट र सुनिल बलले गोल गर्नुभएको थियो ।

खेलको ३९औँ मिनेटमा सुनिलको गोलमा अग्रता लिएको बागमतीका लागि ४५औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टिमार्फत गोल गर्दै अग्रता दोब्बर बनाउनुभएको थियो । खेलको पहिलो हाफमा मधेस प्रदेशले बागमतीलाई निकै दबाबमा राखे पनि गोल गर्न नसक्दा हार व्यहोरेको हो । पहिलो खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २-० गोलअन्तरले पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच पहिलो तथा कर्णाली र सुदूरपश्चिमबीच दोस्रो खेल हुने जनाइएको छ ।

बास्केटबल
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँको दमौलीमा सञ्चालन हुने महिला बास्केटबलमा छ प्रदेश सहभागी हुनेभएका छन् । महिला बास्केटबल प्रतियोगिता अन्तर्गत दुई विधामा खेल सञ्चालन हुनेछ । छजना खेल्ने खेलमा छवटा प्रदेश र तीनजना खेल्ने खेलमा छ प्रदेशसहित आठवटा टिमको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो ।

तीनजना खेल्ने खेलमा छवटा प्रदेशका अतिरिक्त सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय टिम सहभागी हुँदैछ । खेल सञ्चालनका लागि खेलमैदान तयार भइसकेको छ । खेलमैदानमा रंगरोगन, सरसफाइ गरिएको छ भने मैदान सम्याउन ढलान गर्ने कार्य गरिएको छ । यहाँ रहेको दुईवटा मैदानमा खेल सञ्चालन हुनेछ ।

बेनीमा राष्ट्रिय महिला भलिबल
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमादेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ । कात्तिक २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि बेनीको खुल्लामञ्चमा खेल सामग्रीको बन्दोबस्त, खेल मैदान निर्माण तथा मर्मत र सजावटको काम सकिएको छ । खेलाडीको आवास र अभ्यासस्थलसहित व्यवस्थापकीय काम सकिएको र भव्य समारोहबीच उद्घाटन गर्ने तयारी गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिबल संघको नेतृत्व र पालिकाको सहयोगमा प्रतियोगिता सञ्चालनका लागि पूर्वाधार तयारी भएको छ । महिला भलिबलमा सहभागी हुने सात प्रदेशसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका खेलाडी बेनीमा आइसकेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बाँनियाले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुनआएका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई होटल व्यवसायी संघको समन्वयमा आवासको प्रबन्ध मिलाइएको छ । आज बेनीमा झाँकीसहितको र्‍यालीमार्फत खेलाडीलाई स्वागत गर्दै प्रतियोगिता औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

हृयाण्डबल
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हृयाण्डबल (महिला/पुरुष)तर्फका समूह चरणका खेल जारी छन् । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेल भइरहेका छन् ।

खेलमा घरेलु टोली गण्डकी प्रदेशले तेस्रो जित निकालेको छ । गण्डकीले बागमती प्रदेशलाई ३२-१४ अंकले जित्दै निकाल्दै महत्वपूर्ण तीन अंक बटुलेको छ । लगातार तीन खेल जितेको गण्डकीले योसँगै नौ अंक पाएको छ । अर्को खेलमा त्रिभुवन आर्मीले लगातार तेस्रो जित जितेको छ । आर्मीले प्रदेश-१ लाई ५४-१० अंकको जित निकालेको हो । आर्मीले नौ अंक जोडेको छ ।

यस्तै, सशस्त्र प्रहरी बलको एपीएफले लगातार तेस्रो खेल जित्दै नौ अंक बनाएको छ । एपीएपले प्रदेश-१ लाई ३५-५ अंकले जितेको हो । हृयाण्डबलको पुरुषतर्फ नै लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । लुम्बिनीले सुदूरपश्चिममाथि ३०-२५ अंकको जित निकालेको हो । जितसँगै लुम्बिनीले महत्वपूर्ण तीन अंक जोडेको छ ।

अर्को खेलमा कर्णाली प्रदेशले संघर्षपूर्ण जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले बागमतीलाई १८–१७ अंकले पराजित गरेको हो । प्रतियोगिता अन्तर्गत महिला हृयाण्डबल खेलमा बागमती प्रदेशले जित निकालेको छ । बागमतीले मधेस प्रदेशलाई ६–४ अंकले पराजित गर्दै तीन अंक बटुलेको हो । महिला हृयाण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित निकालेको छ । आर्मीले प्रदेश–१ माथि ३४–९ अंकको फराकिलो जित निकालेको हो । आर्मीले नौ अंक जोडेको छ ।

महिलातर्फ लुम्बिनी प्रदेशले सदूरपश्चिम प्रदेशलाई माथि १४-१० अंकले पराजित गरेको छ । दुई समूहमा विभाजन गरेर खेलाइएको छ । पुरुषतर्फ समूह ‘क’मा गण्डकी, मधेस, बागमती, आर्मी र कर्णाली प्रदेश छन् । समूह ‘ख’मा एपीएफ, लुम्बिनी, प्रदेश एक र सुदूरपश्चिम प्रदेश छन् । महिलातर्फ समूह ‘क’मा एपीएफ, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् । समूह ‘ख’मा आर्मी, प्रदेश एक, बागमती, मधेस र कर्णाली प्रदेश छन् ।

बुद्धिचालमा जैसवाल र लोहनीको विजयी सुरुवात
रूपेश जैसवाल र सुजना लोहनीले नवौ राष्ट्रिय खेलकुद प्रतियोगित अन्तर्गत बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ । गोरखा जिल्लामा सुरु भएको प्रतियोगिताको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका रूपेशले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गर्नुभएको हो ।

पहिलो चरणको महिला क्लासिकल इभेन्टमा आर्मीकै सुजनाले बागमतीकी मार्सल तामाङलाई पराजित गर्नुभयो । खुला क्लासिकलतर्फको पहिलो चरणको खेलमा नेपाल प्रहरीका फिडे मास्टर शिक्षित भण्डारीले सशस्त्र प्रहरीबलका विश्वविजय घिमिरेलाई पराजित गर्नुभयो । त्यस्तै आर्मीका क्यान्डिडेट मास्टर मिलन लामा र मधेस प्रदेशका मनोज विकबीच भएको प्रतियोगिता ‘ड्र’ भएको छ ।

खुला क्लासिकलतर्फ प्रदेश नम्बर–१ का जेम्जुङ प्रसान्त दासलाई पूर्वराष्ट्रिय च्याम्पियनसमेत रहेका सुरवीर लामाले पराजित गर्नुभयोे । बागमतीका निकेन कुसताले आफ्नै प्रदेशका राजीव कार्कीलाई हराउनुभयो । महिला क्लासिकलतर्फको पहिलो चरणको खेलमा बागमतीकी लक्ष्मी कँडेलले सशस्त्रकी गीता जैसवाललाई पराजित गर्नुभयो । एनआरएनकी बिनिता कपालीले मधेसकी संगीता महतोलाई पराजित गर्नुभयो । प्रतियोगितामा कुल ११ टिमको सहभागिता छ ।

साइक्लिङ आजदेखि, चार विधामा १४० खेलाडीले प्रतिस्पर्धा गर्ने
गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हुने साइक्लिङ खेल भोलिदेखि सुरु हुँदैछन् ।
प्रतियोगितामा विभिन्न चार विधामा एक सय ४० जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । सात प्रदेश र तीन विभागीय गरी १० क्षेत्रबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधामा प्रतिस्पर्धा गर्ने साइक्लिङ खेल उपसमिति सदस्य रञ्जनराज भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार डाउन हिल र क्रस कन्ट्री पोखराको ड्याम साइडनजिक रानीवनको ट्रयाकमा प्रतिस्पर्धा गराइनेछ भने रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट पोखराको याम्दी-हेम्जा सडकमा प्रतिस्पर्धा गराउने तयारी छ ।

साइक्लिङको तयारी पूरा भइसकेको हुँदा शुक्रबार खेलाडीलाई ट्रयाक चिनाउने काम गरिएको नेपाल साइकल संघका प्रथम उपाध्यक्ष सुदीप पौडेलले जानकारी दिनुभयो । साइक्लिङ जोखिमयुक्त खेल भएकाले सुरक्षालाई विशेष ध्यान दिइने नेपाल साइकल संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले बताउनुभयो ।

साइक्लिङ खेलअन्तर्गत शनिवार पोखराको तितेपानी, रानीवन क्षेत्रको ट्रयाकमा डाउन हिल विधाको प्रतिस्पर्धा हुनेछ । त्यस्तै आइतबार सोही क्षेत्रमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुने र त्यसपछिका खेल याम्दी-हेम्जा सडक खण्डमा हुनेछन् । चार विधाबाट साइक्लिङमा पुरुष-महिला गरी आठ स्वर्ण, आठ रजत र आठ कास्यका लागि खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?