भत्केका भौतिक संरचनामा अध्ययन गर्न बाध्य विद्यार्थी

हिमालय टाइम्स
Read Time = 4 mins

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका-८ गुरदयालपुरमा रहेको लक्ष्मी प्राथमिक विद्यालयको भौतिक संरचनाहरू जीर्ण बन्दा विद्यार्थी जोखिम मोलेर पढ्न बाध्य छन् । वि.सं. २०४० सालमा स्थापना भएको विद्यालयको समय समयमा मर्मत संभार नहुँदा विद्यालय जीर्ण बनेको हो । विद्यालय जीर्ण भएकै कारण बर्सेनि यहाँबाट विद्यार्थीहरू घटिरहेको स्वयंम् विद्यालयका शिक्षकहरू बताउँछन् ।
बाँके र बर्दियाको सिमाना मानखोलाको छेउमा रहेको यो विद्यालयको सुरुवाती चरणमा भौतिक संरचना राम्रो हुँदा विद्यार्थी संख्या उल्लेख्य भएपनि पछिल्लो समय अधिकांश विद्यार्थीले निजी विद्यालय रोजेका छन् । विद्यार्थीहरू भत्किएका भौतिक संरचनामा नै डराएर अध्ययन गर्न बाध्य रहेको स्थानीयहरूको गुनासो छ ।

बैजनाथ गाँउपालिका-८ का कार्यवाहक अध्यक्ष शुक्रबहादुर रावतका अनुसार पाँच वर्षमा विद्यालयमा एक लाख मात्र बजेट विनियोजित भएको छ । विद्यालयको फर्निचरको लागि वडा कार्यालयले पाँच वर्षमा मात्र एक लाख रुपैयाँ दिएको उहाँले बताउनुभयो ।

विद्यालय सुधारका लागि हालसम्म कुनै निकायले चासो नदेखाएको प्रध्यानध्यापक सुरेशकुमार थारुले बताउनु भयो । उहाँका अनुसार विद्यालयमा ५ कक्षासम्म पढाइ भए पनि भौतिक संरचना जिर्ण हुँदा र सामुदायिक विद्यालयमा सरकारले चासो नदिँदा जम्मा ४६ विद्यार्थी रहेको बताउनुभयो । स्थानीय सरकारसँग बारम्बार पहल गर्दासमेत विद्यालयको भौतिक प्रगति गर्न नसकेको उहाँको भनाइ छ ।

विद्यालय विकास समितिका सदस्य राधेश्याम थारूले समितिले विद्यालयको मर्मत सम्भारका लागि वडाबाट अहिलेसम्म एक लाख रुपैयाँ मात्र उपलब्ध गराएकोे बताउनुभयो । यसअघिको विकास समितिले केही नगरे पनि पछिल्लो विद्यालय विकास समितिले निरन्तर विद्यालयको रेखदेखका लागि आवश्यक पहल थालेको उहाँले बताउनुभयो ।

उहाँले विद्यालय स्थापना भएको चार दशक पुग्दासमेत कुनै भौतिक संरचना र विद्यालयको कुनै विकास निर्माण हुन नसक्नु भनेको देशकै लागि लज्जाजनक विषय भएको बताउनुभयो । विद्यालयका सबै भवनहरू भत्केर जीर्ण छन् तर मर्मत हुने छाँटकाँट देखिँदैन । आवश्यक सामग्रहरू पनि विद्यालयमा पर्याप्त नरहेको उनीहरूको भनाइ छ । भत्किएको भवनमा पानी चुहिने, हावाहुरी चल्दा टिनको छानोहरू नै उडाउने जस्ता समस्या रहेको उनीहरू बताउँछन् । विद्यालयको पूर्वाधार जीर्ण भएको छ भने गुणस्तरीय शिक्षा सुधार्न कतैबाट सहयोग नमिलेको स्थानीयहरूको भनाइ छ । विद्यालयमा अहिले भौतिक पूर्वाधारको अभाव देखिएकाले गतिविधि पनि शून्य जस्तै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?