नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन

Yagya Joshi
Read Time = 14 mins

यज्ञराज जोशी/हिटा
पोखरा । गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिक रूपमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ । उपराष्ट्रपति नन्दकिशोर पुनले एक भव्य कार्यक्रमबीच शुक्रबार साँझ पोखरा रंगशालामा राष्ट्रिय खेलकुदको उद्घाटन गर्नुभएको हो ।

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारासहित पोखरा रंगशालामा विभागीय टोलीहरू नेपाल आर्मी, नेपाल पुलिससँगै एपिएफ र सहभागी सात प्रदेश र एनआरएनएसहित ११ टोलीले झाँकी प्रदर्शन गरेका थिए । गण्डकी प्रदेशका आठै जिल्लामा राष्ट्रिय खेलकुद हुँदैछ ।
कात्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सबै तयारीहरू सम्पन्न भइसकेको प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिनुभयो ।

उद्घटनमा देशका सात प्रदेशको संस्कार र संस्कृति गीत, संगीत, नृत्य र झाँकीको प्रदर्शनी गरिएको थियो । नेपाली सांस्कृतिक विविधतालाई राष्ट्रिय खेलकुदको उद्घाटनले प्रतिनिधित्व गरेको थियो । नेपालको भूगोल र ठाउँ विशेष अनुसारको मौलिक संस्कृति प्रस्तुत गर्नेगरी नृत्य र झाँकी प्रदर्शन गरिएको छ । उद्घाटन समारोह दुई घण्टा सञ्चालन भएको थियो ।

प्रदेश नं १ को राई/लिम्बूको चर्चित साकेला नृत्य, मधेशको सतार र धिमाल जातिको मौलिक नृत्य, बागमतीको नेवारी संस्कृति, गण्डकीको कौरा, घाटु र लोकगीत, लुम्बिनीको थारू संस्कृति, कर्णालीको मगर समुदायको झ्याउरे र सुदूरपश्चिमको हुर्केली गीत र झाँकी प्रस्तुत गरिएको थियो ।

नेपालको हिमाल, पहाड र तराईको भौगोलिक विविधता र त्यसभित्रको जातीय र सांस्कृतिक फरकपनलाई झल्काउने गरी झाँकीहरू प्रस्तुत गरिएको थियो । पोखरा रंगशालाको अत्याधुनिक फुटबल स्टेडियममा नेपाली सेनाको मार्चपासबाट प्रतियोगिताको उद्घाटन भएको थियो । सेनाका तीन सय जनाले मार्चपास गरेका थिए । मार्चपासपछि सलामी अर्पणको कार्यक्रम रहेको थियो । त्यसपछि सेनाको एक टुकडीले नाच प्रस्तुत गरेको थियो । नेपाली सेनाका १८ जना महिलाको टोलीले सात प्रदेश, विभाग र खेल संघको झण्डा बोकेर रंगशालामा मार्चपास गरेका थिए ।

संस्कृतिको अनुपम नमुना गण्डकी प्रदेशको विभिन्न जाति, जनजाति र समुदायकोे संस्कार र संस्कृति झल्कने १२ वटा झाँकी प्रस्तुत भएको थियो । गण्डकी प्रदेशको चर्चित मगर समुदायको कौरा, गुरुङको घाटु, हिमाली भोटेको याक लगायतका नृत्य प्रस्तुत प्रदर्शन भएका थिए ।
पोखरा रंगशालाको खेल मैदान ढाकिने गरी चार सय विद्यार्थीले खेलकुदसँग सम्बन्धित र अन्य यहाँको मौलिक गीतमा नृत्य गरेका थिए । नृत्यका लागि चार सय जनाका दरले तीनवटा समूह बनाइएको थियो । तीनवटै समूहले फरक-फरक गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

‘गण्डकी प्रदेश लोक संस्कृतिको खानी भएकाले यहाँका जातजातिको विभिन्न किसिमका सांस्कृतिक झाँकी प्रदर्शन भएको । साथै देशका सातै प्रदेशका संस्कार र संस्कृति अनुसारका झाँकी रहेको । जसले खेलकुदका माध्यमबाट देशलाई एकताबद्ध बनाएको छ ।’ समारोह उपसमितिका संयोजक कुँवरले भन्नुभयो ।

चर्चित लोकगायक शिव परियार, कुन्ती मोक्तान, रचना रिमाल सहितको ६ जनाको टोलीले पूरै रंगशाला गुञ्जने गरी स्टेजबाट गीत प्रस्तुत गर्नुभएको थियो भने सो गीतमा ४० जना कलाकारको समूहले मैदानमा नृत्य प्रस्तुत गरेको थियो ।

उद्घाटन समारोहको अन्तिममा आतसवाजी गरिएको थियो । भारतको लखनउबाट आएको आतसबाजीको समूहले केही दिनदेखि नेपाली सेनाको ब्यारेकमा बसेर तयारी गरिरहेको थियो ।

यसपल्ट गण्डकीका हिमाली जिल्ला मनाङ, मुस्ताङ र लमजुङ बाहेकका जिल्लाले खेल आयोजनाको अवसर पाएका छन् । कोरोना भाइरस (कोेभिड–१९) महामारीको प्रभावले हरेक दुई-दुई वर्षमा हुनुपर्ने प्रतियोगिता तोकिएको समयभन्दा डेढ वर्ष ढिला गरी आयोजना भएको हो । विसं २०७७ फागुन अन्तिम साताका लागि तय भएको नवौँ कोरोनाकै कारण पटक-पटक स्थगन हुँदै आएको थियो ।

प्रतियोगिताको अन्तिम तयारीले मुख्य आयोजनास्थल पर्यटकीय सहर पोखरा खेलकुदमय बनेको छ । खेलाडी, खेलकुदकर्मीसहित विभिन्न पेसा व्यवसायीहरू उत्साहित बनेका छन् । विसं २०७६ मंसिरमा १३औँ दक्षिण एसियाली खेलकुदपछि पर्यटकीय सहर पोखराले पहिलोपटक घरेलु खेलकुदको सर्वोच्च प्रतियोगिताको आतिथ्यता प्रदान गरेको छ । यसअघि विसं २०४० मा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद भएको थियो ।

प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माण लगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । कतिपय खेलका पूर्वाधार निर्माण र स्तरोन्नतिमा ढिलाइ भए पनि समग्रमा राष्ट्रिय खेलकुदलाई भव्य बनाउने गरी काम भएको राखेप सदस्यसचिव टंकलाल घिसिङले बताउँनुभयो ।

राष्ट्रिय खेलकुदको भव्य उद्घाटनका लागि पोखरा रंगशालामा दुई सातादेखि तयारी भइरहेको थियो । रंगशालाभित्र र बाहिरसमेत नेपाली सेना, विद्यालयका विद्यार्थी तथा विभिन्न सांस्कृतिक समूहहरूको झाँकी तथा सांस्कृतिक प्रदर्शनी गरेका थिए । पोखराको ठाउँ–ठाउँमा स्वागतबोर्ड, ब्यानर र बत्तीले साँझमा झिलिमिली पारिएको छ ।

राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल हुनेछन् । पुरुष क्रिकेट राजधानी काठमाडौंमा सम्पन्न भइसकेको छ । सुटिङ पनि काठमाडौंमै हुनेछ । बाँकी खेलहरू अधिकांश पोखरा रंगशालामा हुनेछन् । पोखरामा २७ खेलहरू हुनेछन् । पुरुष बास्केटबल पोखरा र महिला बास्केटबल तनहुँमा हुँदैछ । बाँकी खेलहरू गोरखा, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा र नवलपुर गरी ६ जिल्लामा हुँदैछन् ।

राखेपले खेलस्थलको पूर्वाधार स्तरोन्नतिका लागि एक करोड रुपैयाँ बजेट छुट्टाएकामा पूर्वाधार स्तरोन्नतिको कामका लागि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको राखेपले जनाएको छ ।

राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन विभागीय र गैरआवासीय नेपाली (एनआरएनए)को गरी ११ टोलीको सहभागिता छ । प्रतियोगितामा ३९२ स्वर्ण, ३९२ रजत र ६०० कांस्य गरी एक हजार ३८४ पदकका लागि आठ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले पनि प्रतियोगिता भव्य बनाउन प्रचारप्रसारमा साथ दिएको छ । यसैगरी महानगरले प्रतियोगितामा पदक जित्ने खेलाडीलाई पुरस्कार घोषणा गरेर प्रोत्साहन गरेको छ । महानगरले प्रचार प्रसारका माध्यमबाट पोखरालाई खेलकुदमय बनाउन सहरका मुख्यस्थल र महानगरका प्रवेश नाकाहरूमा स्वागतद्वार र प्रचार सामग्री राखेको छ ।
महानगरले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता महानगरका खेलाडीहरूलाई व्यक्तिगत विधातर्फ स्वर्ण, रजत र कांस्य पदक विजेता खेलाडीलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहितसम्मान पत्र प्रदान गर्ने घोषणा गरेको छ । यसैगरी टिम खेलतर्फ पदक विजेतालाई नगद पाँच/पाँच हजार दरले पुरस्कार दिइने महानगरले जनाएको छ ।

राष्ट्रिय खेलकुदको चार दशक
नेपालमा विसं २०३८ देखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो । राष्ट्रिय खेलकुद आयोजनाले चार दशक पार गरिसकेको छ । हेरक दुई÷दुई वर्षमा राष्ट्रिय खेलकुद हुने भए पनि राजनीतिक तथा विभिन्न कारणले सोअनुसार हुन सकेको छैन ।
राष्ट्रिय खेलुदको पहिलो संस्करण विसं २०३८ भदौ २७ देखि असोज ४ सम्म राजधानी काठमाडौंमा भएको थियो । सुरुवातमा देशका १४ अञ्चलको प्रतिनिधित्व हुनेगरी प्रतियोगिता सञ्चालन हुने गरेको थियो ।

विसं २०४० मा पोखरामा दोस्रो संस्करण हुँदा, विसं २०४२ मा तेस्रो संस्करण वीरगञ्जमा भएको थियो । तेस्रो आयोजनाको १३ वर्षपछि विसं २०५३ मा नेपालगञ्जमा चौथो संस्करणको राष्ट्रिय खेलकुद आयोजना गरियो । गणतन्त्र स्थापनापछि विसं २०६५ मा राजधानी काठमाडौंमा पाँचौँ संस्करण भयो । विगतमा राजाले उद्घाटन गर्ने परम्परा रहेको राष्ट्रिय खेलकुद पहिलोपटक तत्कालीन राष्ट्रपति रामवरण यादले गर्नुभएको थियो ।

सुदूरपश्चिममा विसं २०६८ मा छैटौँ संस्करणको राष्ट्रिय खेलकुद भएकामा सातौँ संस्करण विराटनगरमा विसं २०७३ मा आयोजना गरियो । नेपालगञ्जमा विसं २०७५ चैतमा आठौं राष्ट्रिय खेलकुद भएको थियो । आठौँ राष्ट्रिय खेलकुदको साढे तीन वर्षपछि गण्डकी प्रदेशमा अहिले नवौं सुरु भएको हो ।

असोज २८ देखि कात्तिक ३ गतेसम्मको तोकिएको मितिअगावै केही खेल सुरु भए पनि लामो समयको प्रतीक्षापछि औपचारिक उद्घाटन भएको छ । उद्घाटन समारोहलाई भव्य र उल्लासपूर्ण बनाउने गरी दुई सातादेखि तयारी गरिएको थियो ।

प्रशिक्षक, खेल पदाधिकारी र अफिसियल गरी नौ हजारको प्रतियोगितामा सहभागिता रहेको सदस्य सचिव घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार सबै खेलाडी आ-आफ्नो खेलस्थल र सम्बन्धित जिल्लामा पुगिसकेका छन् । तोकिएका खेल स्थलको मर्मत सकिएको छ भने खेलाडी तथा अफिसियलको बसोबासको व्यवस्थापन गरिएको छ । गण्डकी प्रदेशका आठ जिल्लामा प्रतियोगिता अन्तर्गतका खेल हुँदैछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?