आजदेखि टी-ट्वान्टी विश्वकप

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आठौं संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट अष्ट्रेलियामा शुरू हुँदैछ । भिक्टोरियामा आइतबार पहिलो राउण्ड अन्तर्गत समूह ‘ए’ का दुई खेल हुँदैछन् ।

उद्घाटन खेलमा नामिबिया र श्रीलंका खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९ः४५ मा शुरू हुनेछ ।

आइतबार नै हुने दोस्रो खेलमा समूह ‘ए’ का यूएई र नेदरल्यान्ड्स खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ ।

सुरुमा आठ टिम सम्मिलित प्रारम्भिक चरण हुनेछ । त्यसपछि ‘सुपर ट्वेल्भ’ को चरण सुरु हुनेछ । यो चरणको समाप्तीमा नकआउटका खेल, सेमिफाइनल र अत्यमा फाइनल हुनेछ ।

सन् २००७ मा पहिलो पटक टी-ट्वान्टी विश्वकपको आयोजना भएको थियो । छोटो समयमै यसका सात संस्करण आयोजना भइसकेका छन् । यसको पछिल्लो संस्करण सन् २०२१ मै मा मात्र भएको थियो, जति बेला यसको उपाधि जितेको थियो, अस्ट्रेलियाले । यसपल्ट अस्ट्रेलियासामु आफ्नै गृहभूमिमा उपाधिको रक्षा गर्ने अवसर हुनेछ र यही टिमलाई मानिएको छ, उपाधिको सबैभन्दा ठूलो दावेदारको रुपमा ।

अस्ट्रेलियापछि भारत र इंग्ल्यान्ड दुवै उत्तिकै बलिया दाबेदार टिम रहेका छन् । तर यी टिमको खेल ‘सुपर ट्वेल्भ’ बाट सुरु हुनेछ । त्यस अगाडि रहेको छ, तिनै आठ टिमको खेल । यी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ, चार चार टिमका रूपमा । लिग चरणमा एकले अर्कोसँग खेल्नेछन् । समूहको शीर्ष दुई स्थानमा रहने टिमले ‘सुपर ट्वेल्भ’ को यात्रा तय गर्नेछ । यो चरणको सबैभन्दा ठूलो विशेषता हो, दुई हेभिवेट टिमको उपस्थिति ।

र ती हुन् श्रीलंका र वेस्ट इन्डिज । संयोगले दुवै पुराना विजेता पनि हुन् । वेस्ट इन्डिज त झन दुई पटकको विश्व विजेता समेत हो, सन् २०१२ र २०१६ को । यसबीच सन् २०१४ मा श्रीलंकाले उपाधि जितेको थियो । श्रीलंका प्रारम्भिक छनोटको समूह ‘ए’ मा रहेको छ र यस समूहमा सम्मिलित अन्य टिम हुन्, नामिबिया, नेदरल्यान्ड्स र यूएई ।

पछिल्लो समय विश्व क्रिकेटमा सबैभन्दा उदयमान टिम हो, नामिबिया । अर्को समूह ‘बी’ मा रहेको छ, वेस्ट इन्डिजसँगै जिम्बावे, आयरल्यान्ड र स्कटल्यान्ड । ‘सुपर ट्वेल्भ’ को पहिलो समूहमा छन्, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड र अफगानिस्तान ।

अर्को समूहमा भारत, पाकिस्तान र बंगलादेशसँगै दक्षिण अफ्रिका रहेका छन् । यो चरणमा प्रवेश गर्ने चार टिमकै लागि पहिलो चरणका खेल हुन लागेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?