अख्तियारद्वारा कैलालीको सामुदायिक वन उपभोक्ता समितिमा चार जनाविरुद्ध मुद्दा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सामुदायिक वन उपभोक्ता समितिको २५ लाखभन्दा बढी रकम हिनामिना गर्ने पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । कैलालीको चुरे गाउँपालिका-३ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहितका चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार मुद्दाका प्रतिवादीहरू समितिका तत्कालीन अध्यक्ष मनिराम आचार्य, सचिव हिक्मतसिंह भाट, कोषाध्यक्ष पृथ्वीराज विष्ट र अडिटर गौरीप्रसाद नाथको मिलेमतोमा समूहको २५ लाख २४ हजार ३४६ रुपैयाँ अनियमितता भएको पुष्टि भएको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूले समूहका कुनै पदाधिकारीलाई जानकारी नदिई आर्थिक वर्ष २०७२/०७३ र ०७३/०४ मा खर्च गरेको रकम साधारणसभाबाट अनुमोदन नगराई सरकारी रकम हिनामिना गरेको उजुरी परेको थियो । उजुरीमाथि अनुसन्धानका क्रममा सामुदायिक वनबाट भएका आम्दानी रकम बिल भर्पाईविना खर्च गरेको देखाई सक्कल बिल भर्पाई समेत नभएको अख्तियारले जनाएको छ । साथै नक्कली फोटोकपी बिल भर्पाईहरू राखी खाई मासेको पाइएको प्रवक्ता भण्डारीले जानकारी गराउनुभयो ।

अख्तियारले हिनामिना भएको रकम बराबरको बिगो कायम गरी समूहका अध्यक्ष आचार्यबाट असुल गरी कैद र जरिवाना गर्न माग गरेको छ भने सचिव भाट र कोषाध्यक्ष विष्टलाई १८ लाख ३८ हजार ३७२ रुपैयाँ बिगो कायम गरी मुख्य प्रतिवादी मनिराम आचार्य सरहको सजाय हुन माग दाबी गरेको छ । अर्का प्रतिवादी अडिटर नाथले भए गरेका कुरा लुकाई छिपाई नभएको कुरा उल्लेख गरी अडिट प्रतिवेदन पेश गरी रकम हिनामिना गर्नमा सहयोग गरेको भन्दै कैद तथा जरिवाना माग गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?