काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घर बाटो सिफारिश गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा यही माघ ३ गते पक्राउ परेका बादेविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनलाई कैद सजाय र बिगो बमोजिमको जरिवाना माग गरिएको छ ।
प्रतिकूल बकपत्र गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा
आयोगले प्रतिकूल बकपत्र गर्ने एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया, सिराहाका प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवार प्रतिवादी रहेको मुद्दामा प्रतिकूल बकपत्र गर्नेविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सरकारी साक्षीको रुपमा पेश गरिएका परिवर्तित नाम मिर्चैया १(२०८०) ले आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुने गरी बकपत्र गरेपछि उनीविरुद्ध नै मुद्दा दायर गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत मरासिनी र वडाध्यक्ष यादव भ्रष्टाचारी ठहर
घुससहित रंगेहात पक्राउ परेका रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र वडाध्यक्ष भीमबहादुर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई तीन महिना कैद सजाय तोकेको छ । उनीबाट ५० हजार रूपैयाँ बिगो असुल गरी त्यति नै जरिवाना भराउने फैसला भएको छ । यही मुद्दामा वडाध्यक्ष यादव र बिचौलिया विनोद भरलाई मतियार ठहर गरी डेढ महिना कैद २५ हजार रूपैयाँ जरिवाना हुने सजाय तोकिएको छ । उनीहरू तीनै जना २०७९ चैतमा ५० हजार रूपैयाँ घूससहित गाउँपालिका कार्यालयको चमेना गृहबाट रंगेहात पक्राउ परेका थिए । उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग घूस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले पक्राउ गरेको थियो ।
इञ्जिनियर मेहतालाई २० हजार जरिवाना, एक महिना कैद
भ्रष्टाचार मुद्दामा सुनसरीको बर्जु गाउँपालिकाका इञ्जिनियर अजयकुमार मेहता दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू डा. खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार मेहतालाई दोषी ठहर गरेको हो । अदालतले मेहतालाई २० हजार रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाएको छ । मेहताविरुद्ध अख्तियार दुरुपयोग अनसुन्धान आयोगले घरको नक्सा पास गर्न २० हजार रुपैयाँ घुस लिएको दाबीसहित मुद्दा दायर गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच