अध्यक्ष बस्नेतको घरमा डाँका गर्ने पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतको मध्यपुरथिमि–३, गठ्ठाघरस्थित घरको ढोका फोडी अपहरणको धम्की दिइ डाँका गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–७ घर भई हाल चाँगुनारायण बस्ने ४१ वर्षीय अम्बरबहादुर लामा र सङ्खुवासभा पाँचखपन–८ घर भई हाल काठमाडौँ जोरपाटी बस्ने ३२ वर्षीय सुवास भन्ने रविनकिशोर राई छन् ।

उनीहरूको समूहले गत भदौ २५ गते राति ३ बजे बस्नेतको घर कम्पाउण्डको ढोका, घरको मूलढोका र बस्नेत सुत्ने कोठाको ढोकासमेत फोडेर घरका सदस्यलाई पेस्तोल ताकेर डाँका गरेका थिए । सो क्रममा अपहरणको धम्कीसमेत दिइएको थियो । घटनाको बेला बस्नेत काम विशेषले पोखरा जानुभएको थियो ।

प्रहरीले उनीहरूको साथबाट स्पेशल मेड इन इटाली लेखिएको पेस्तोल एक थान, सो पेस्तोलको म्याग्जिन एक थान, गोली दुई राउण्ड, खुकुरी एक थान, फलामको रड एक थानलगायत विभिन्न घरेलु औजार बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई चोरी तथा डाँकासम्बन्धी कसुर र हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?