गुल्मीमा डा. भुसालद्वारा झाँक्रीलाई समर्थन

डा. दामोदर भुसालले पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा गर्दै।

हिमालय टाइम्स
Read Time = 3 mins

-रमेश विश्वकर्मा

गुल्मी। नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका लागि बागी उम्मेदवारी दिनुभएका डा. दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गर्नुभएको छ । सोमबार नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय वीपी स्मृति भवन तम्घासमा पत्रकार सम्मेलन गर्दै उहाँले आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा गर्नुभएको हो ।

गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका महासमिति सदस्य डा. भुसालले सत्ता गठबन्धनबाट सोही क्षेत्रमा उम्मेदवार बन्नुभएकी नेकपा एसका केन्द्रीय सचिव रामकुमारी झाँक्रीलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी निष्क्रिय गरेको बताउनुभयो ।

आफ्नो उम्मेदवारी पश्चात् नेपाली काँग्रेस केन्द्रीय समितिदेखि आम कार्यकर्तासम्मले प्रकट गरेको चिन्ता र चासो प्रति गम्भीर हुँदै आफ्नो उम्मेदवारी निष्क्रिय गरेको बताउनुभयो । ‘राष्ट्रिय आवश्यकतालाई दृष्टिगत गर्दै नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी सहितको पाँच दलिय गठबन्धनको पक्षमा मेरो समर्थन रहेको छ ।’ उहाँले भन्नुभयो, ‘यस पटकका लागि मैले मेरो उम्मेदवारी निष्क्रिय गर्ने निर्णय गरेको छु ।’

लोकतन्त्र, समृद्धि र सुशासनको जनआकाँक्षा पुरा गर्न एवम् पार्टीको शुद्धिकरण इमानदार कार्यकर्ताको रक्षासँगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदुर भविष्यका लागि सबल र सुदृढ पार्टी निर्माणकोख दिशामा सधै क्रियाशील रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

त्यस अवसरमा गठबन्धनको तर्फबाट क्षेत्र नं. २ को प्रतिनिधसभा सदस्य पदका उम्मेदवार रामकुमारी झाँक्रीले डा। भुसालको उम्मेदवारी निष्क्रिय हुनुले आफुहरुको जित सुनिश्चित भएको दावी गर्नुभयो ।

नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले डा। भुसाललाई धन्यवाद दिदै बिपक्षीहरू उत्साहित भइरहेका बेला भुसालको उम्मेदवारी निष्क्रिय हुनुले आफुहरुको जित सुनिश्चित भएको उल्लेख गर्नुभयो । यसले थप उर्जा भरेको भन्दै मतदाताहरुलाई भ्रममा नपर्न आग्रह गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?