झापा ५ : केपी ओलीको सातौँ प्रतिष्पर्धा

हिमालय टाइम्स
Read Time = 7 mins

-सुरेन्द्र भण्डारी

झापा । संविधान सभा निर्वाचन २०६४ बाहेक २०४८ सालयता भएका कुनै पनि निर्वाचनमा खड्गप्रसाद ओलीले पराजय भोग्नु भएको छैन। नेकपा (एमाले) का अध्यक्ष ओली झापा ५ मा यो सहित सातौँ पटक चुनावी मैदानमा हुनुहुन्छ। उहाँले २०४८ सालमा भएको आम निर्वाचनमा निर्वाचित बनेयता २०६४ बाहेक पाँच पटक लगातार जनप्रतिनिधिका रुपमा चुनिएर दुई पटक प्रधानमन्त्री बनिसक्नु भएको छ।

२०५१ सालमा भएको आम निर्वाचनमा साविक झापा क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकीलाई पराजित गर्नुभएको थियो। २०५६ मा भएको आम निर्वाचनमा केपी झापाका दुई वटा निर्वाचन क्षेत्रबाट चुनाव लड्नुभयो। झापा २ र झापा ६ वाट एक साथ चुनाव लड्दा उहाँ दुबै क्षेत्रमा जित्नुभयो। झापा २ मा गिरिराजकुमारी प्रसाई र झापा ६ मा काँशीलाल ताजपुरियालाई पराजित हुनुभएको थियो।

तर, २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा एकीकृत नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार विश्वद्वीप लिङ्देनले ओलीलाई हराउनुभएको थियो।

२०७० सालमा भएको संविधान सभा निर्वाचनमा ओलीले कांग्रेसका उम्मेद्वार सुरेन्द्र कुमार योङ्या र २०७४ मा खगेन्द्र अधिकारीलाई हराउनुभएको थियो।

मंसिर ४ मा हुने निर्वाचनमा यस पटक पनि एमाले अध्यक्ष ओली र कांग्रेस नेता अधिकारीबीच प्रतिष्पर्धा हुने भएको छ। स्वतन्त्रसहित २५ जनाको उम्मेद्वारी रहेपनि मुख्य प्रतिष्पर्धा सत्तारुढ गठबन्धन र एमालेबीच नै हुने निश्चित छ। यता लेखक तथा सामाजिक अभियन्ता युग पाठक (दिपककुमार पाठक) को पनि झापा निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी परेको छ।

स्थानीय तहको निर्वाचनमा झापा ५ मा नेपाली कांग्रेसले राप्रपासँग गठबन्धन गरेपनि प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि राप्रपाले (नेकपा) एमालेसँग नै गठबन्धन गरेको छ। जसका कारण ओलीलाई जित्न सहज हुने आकलन गरिएको छ।

त्यसो त झापा ५ राप्रपा निर्णायक दलका रुपमा स्थापित छ। स्थानीय तहमा नेपाली कांग्रेससँग गठबन्धन गरेको राप्रपाले दमक नगरको नेतृत्व गरिरहेको छ। २०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा समेत राप्रपा र एमाले बीच नै चुनावी तालमेल भएको थियो।

jhapa chetra 3

स्थानीय तह : नेकपा (एमाले) बलियो

झापा क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा नेकपा९एमाले० का उपस्थिति बलियो छ। क्षेत्र नम्बर ५ मा पर्ने चार वटा पालिकाका २९ वटा वडामा नेकपा एमाले बलियो देखिएको हो।

गौरादह नगरपालिकाको वडा नम्बर १, २,३,४,५,६,७ र वडा र गौरीगञ्ज गाउँपालिकाको ३,४,५,६ वडा झापा ५ मा पर्छन्। दमकका १० वटा वडा मध्ये ७ वटा वडा एमालले जितेको छ। दुई वटा कांग्रेसले जित्दा राप्रपाले एउटा वडा अध्यक्ष जितेको छ।

कमल गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसले जितेको छ। १२ हजार ८ सय ६८ मत ल्याएर कांग्रेसका हुकुम सिंह राई विजयी हुँदा उपाध्यक्षमा भने एमालेका प्रमिला न्यौपाने १० हजार ८४५ मत ल्याएर विजयी भएकी थिइन्।

एमालेले कमल गाउँपालिकामा ३,४,६ र ७ नम्बर वडा अध्यक्षमा विजय हासिल गरेको छ भने कांग्रेसले वडा नम्बर १ माओवादीले ५ नम्बर र एकीकृत समाजवादीले वडा नम्बर ५ को वडाअध्यक्ष जितेको छ।

झापा क्षेत्र नम्बर ५ मा पर्ने गौरादह नगरपालिकाको मेयर र उपमेयर नै एमालेले जितेको छ। यो क्षेत्रमा पर्ने सात वटा वडाका अध्यक्षमध्ये एमालेले ४ वटा वडा अध्यक्ष जितेको छ। कांग्रेसले २ वटा वडा अध्यक्ष जितेको छ भने वडा नम्बर ३ को वडा अध्यक्षमा स्वतन्त्र विजयी भएका थिए।

गौरीगञ्ज गाउँपालिकामा पनि एमालेले अध्यक्ष उपाध्यक्ष नै जितेको छ। झापा क्षेत्र नम्बर ५ अन्तरगत पर्ने ४ वटा वडा मध्ये एमालेले ३ वटा वडाअध्यक्ष जितेको छ। एउटा वडाअध्यक्ष भने कांग्रेसले जितेको छ।

स्थानीय तहको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेले वडामा पाएको मत हेर्दा सबै भन्दा अगाडि छ।

त्यहाँ एमालेको वडागत मत ४१ हजार ६ सय १९ हो। कांग्रेसले २२ हजार, माओवादीले १० हजार ७८८, राप्रपाले ८ हजार ३५९ र एकीकृत समाजवादीले १ हजार ९८८ मत पाएको छ।

सो क्षेत्रमा राप्रपालाई समेत वडामा आएको मत जोड्ने हो भने एमाले राप्रपा गठबन्धनको मत ४९ हजार ९७८ हुन आउँछ भने सत्ता गठबन्धनको मत ३४ हजार ७७६ मात्रै देखिन्छ। यस हिसाबले पनि झापा ५ मा नेकपा (एमाले) र राप्रपा गठबन्धन बलियो छ।

 

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?