चार महिनादेखि अवरुद्ध ग्रामीण सडक अझै खुलेन

Read Time = 7 mins

-डम्मर बुढा मगर
बागलुङ । निसीखोला गाउँपालिकाले सात वटै वडाको बस्ती–बस्तीमा सडक पु¥याएको छ । हिउँदको समयमा घरै अगाडि सडक गुड्ने गरे पनि वर्षातको समय ठप्पै हुन्छन् । गत असार महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडकहरु अहिलेसम्म संचालनमा आएका छैनन् । चार महिनादेखि अवरुद्ध सडक संचालन नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । गाउँदेखि बजार पुग्न पैदलनै हिड्नु पर्छ भने उपभोग्य सामान पनि बोकेरै गाउँ पु¥याउनु पर्ने अवस्था छ ।
गाउँपालिकाको वडा नम्बर ३, ४ र ७ का केही गाउँ पुग्ने सडकहरुमा पहिरोले कम क्षति पु¥याएको हुँदा संचालनमा आए पनि दर्जन बढी अझै अवरुद्धनै रहेको स्थानीय दिलबहादुर विकले बताउनुभयो । उहाँले असारदेखि बन्द भएको सडक अवरुद्ध हुँदा सामान ओसारपसारमा समस्या भएको गुनासो गर्नुभयो । दसैँ अगावै सडक संचालन हुने अपेक्षा गरे पनि तिहार नजिकिँदासमेत खुल्ने सुरसार नभएको उहाँको भनाइ छ ।
“दसैँ अगाडिनै सडक सुचारु भएर गाउँमा गाडी आउला भन्ने लागेको थियो तर आएन, तिहार आउन लाग्यो अहिलेसम्म सडक खुलाउने सुरसार छैन, यही हिसाबले त तिहारमा पनि बोकेरै सामान ल्याउनु पर्ने भयो” विकले भन्नुभयो “गाउँमा आउने बाटोको १५÷२० ठाउँमा पहिरो गएको छ, कतै माथिदेखि कतै तलदेखि पहिरोले बाटो क्षतविक्षत भएको छ, एक दिन डोजर लगाउने भए त खुलाउन सकिने थियो, सडक खुलाउन कसैले पनि ध्यान दिएनन् ।”
उहाँले भदौमा आफ्नो बहिनी सिकिस्त बिरामी भएर अस्पताल लैजाँदा बोकेरै अस्पताल लगेको सुनाउनुभयो । विकले गाउँमा सडक आएर पनि आफूहरुले सुविधा लिन नपाएको दुखेसो गनुभयो । सरोकारवालाले ध्यान नदिँदा चार महिनासम्म सडक संचालन गर्न नसकेको आरोप छ । केही गाउँहरुमा गाडी चले पनि धेरै जस्तो गाउँका बाटोहरु पहिरोले अवरुद्ध बनेको विक बताउनुहुन्छ ।
“गाउँमा सडक आयो, अब हामी गाउँलेलाई सुविस्ता होला भन्ने सोचेका थियौँ, सडक आउँदा जग्गा जमिन पनि दियौँ, काम पर्दा उपयोग गर्न पाइएन, बन्द भएको यतिका समय भयो, खुलाउने निकाय वडा कार्यालय, गाउँपालिका होला तर उहाँहरुले ध्यान दिनु भएन,” उहाँले भन्नुभयो–“गाउँमा धेरै मान्छे बिरामी हुन्छन् गाडी चले त यहीबाटै अस्पताल पु¥याउन सकिन्थ्यो होला, सडक नचल्दा मैले पनि बहिनी बिरामी हुँदा मान्छे लगाएर बोकेरै अस्पताल पु¥याएँ ।”
निसीखोला गाउँपालिका–१ लेबाङका पुरन घर्ती मगरले सडक अवरुद्ध हुँदा खच्चडमा सामान ओसार्नु पर्ने अवस्था आएको बताउनुभयो । उहाँले बजारदेखि गाउँ निकै टाढा रहेको हुँदा दैनिक उपभोग्य सामानहरु बोकेर उपभोग गर्नसमेत गाह्रो भएको भन्दै खच्चडमा ढुवानी गरेको बताउनुहुन्छ । सडक खुले यहाँका सयौँ नागरिकलाई सहज हुने घर्ती मगरको भनाई छ ।
“बजारदेखि गाउँ निकै टाढा छ, सामान बोकेर पनि पु¥याउन गाह्रो हुन्छ, गाउँका पसलेहरुले असार अगाडिनै गोदाममा राखेका सामान पनि दसैँ अगाडिनै सकियो, ल्याउने बाटो खुले छैन भन्छन्, त्यही भएर खच्चडमा ढुवानी गरेर पेट पाल्नु परेको छ,” घर्ती मगरले भन्नुभयो “अघिल्लो साल त दसैँमा सडक खुलेर गाउँमा गाडी गुड्थे, सामान बोकेर लैजानु परेको थिएन, अहिले त तिहार आउँन लाग्दा पनि सडक खुलेन, अब तिहारपछि खुल्ला ।”
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले दसैँ अगाडिनै सडक खुलाउन थाले पनि वर्षाका कारण समस्या भएको बताउनुभयो । उहाँले केही गाउँहरुका सडकहरु संचालनमा आए पनि अझै धेरै सडकहरु खुलाउन बाँकी रहेको बताउनुहुन्छ । अध्यक्ष घर्ती मगरले भन्नुभयो–“दसैँ अगाडिनै सबै गाउँहरुका सडक खुलाउने गरि योजना बनाएका थियौँ, तर वर्षाले गर्दा खुलाउन सकिएन, दसैँ अगाडि पनि निरन्तर वर्षा भयो, दसैँ सकिएपछि पनि ठूलो वर्षा हुँदा सडक खुलाउन नसकिएको हो ।”
उहाँले वर्षा रोकिएपछि सडक खुलाउने प्रसाग गरि रहेको बताउनुभयो । अहिले इन्जिनियरले गाउँ–गाउँमा पुगेर सडकहरुको अवस्था बुझ्ने र खर्च इस्टिमेट गरि रहेको भन्दै अब केही दिनै सडक खुलाउन थाल्ने बताउनुभयो । “यतिका समय सडक अवरुद्ध हुँदा नागरिकहरुलाई धेरै समस्या परेको छ, हामीले बुझेका छौँ, अलिकति वर्षाले डिस्टर्व ग¥यो, अहिले इन्जिनियरहरु गाउँ–गाउँमा पुगेर सडकको अवस्था बुझ्ने र खर्च के कति लाग्छ इस्टिमेट तयार गर्दै हुनुहुन्छ, अब केही दिनमै सबै सडक खुलाउने छौँ ।”
अध्यक्ष घर्ती मगरले धेरै जस्तो ग्रामीण सडक कच्ची हुँदा माथिदेखि भलसहित आएको बाढीले कालोपत्रे लोकमार्गसमेत बिगारेको बताउनुभयो । गाउँपालिकाले अब ग्रामीण सडकलाई व्यवस्थित बनाउन नाली निर्माण गर्ने र पहिरो रोक्नका लागि वृक्षारोपसमेत गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?