गठबन्धनमा आवद्ध दलले एकअर्कालाई भोट नहाल्नु आत्मघाती : अध्यक्ष दाहाल

हिमालय टाइम्स
Read Time = 5 mins

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा आवद्ध दलहरुले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताउनुभएको छ ।

शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धनका दलहरुले एकअर्कालाई भोट नहाल्नु आत्मघाती गरेजस्तै हुने बताउनुभएको हो ।

उहाँले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले पनि जित्न नसक्ने भन्दै उम्मेदवारहरुलाई सचेत गराउनु भयो ।

उहाँले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर आफूले रुख चिन्हमा छाप लगाइसकेको र नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोईरालाले हँसियाहथौडामा छाप लगाइसकेको टिप्पणी गर्नुभयो । अध्यक्ष दाहालले वामपन्थी र लोकतन्त्रवादी शक्तिहरु मिलेर नै देशमा ठूलठूला परिवर्तन सम्भव भएको भन्दै प्रतिगमनलाई परास्त गर्न मिलेर अगाडी जानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘रुखलाई हँसियाहथौडामा भोट हाल्न गाह्रो । रुख र हँसियाहथौडालाई कलममा भोट हाल्न गाह्रो । कलमलाई फेरि रुख, हँसियाहथौडामा भोट हाल्न गाह्रो भयो भनेको जस्तोपनि सुनिन्छ । कतिपयले प्रचार गर्दाखेरी आफ्नो त प्रचार गरिन्छ । अर्काको त प्रचार गरिँदैन । आफ्नो पार्टीको नभएको उम्मेदवारको त प्रचार गरिँदैन भनेको पनि मैले यदाकदा सुनेको छु । म साथीहरुलाई छातीमा हात राखेर विचार गर्न अनुरोध गर्न चाहन्छु, के सात राजनीतिक दलको तर्फबाट गिरिजाप्रसाद कोईराला र तत्कालिन बिद्रोहीको तर्फबाट मैले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नु सही थियो कि गलत थियो । यदी त्यो सहि थियो भने मैले भन्ने गरेको छु त्यही दिन हँसियाहथौडावाला म रुखमा मैले छाप लगाइदिएको हो । गिरिजाप्रसाद कोईराला रुख उहाँले हँसियाहथौडामा छाप लगाइदिनुभएकै हो । र देश शान्तिको नयाँ युगतिर प्रवेश गरेकै हो । लोकतन्त्रको नयाँ युगतिर प्रवेश गरेकै हो । अनि हँसियाहथौडाले रुख, कलमले रुख र हँसिया हथौडा स्वीकार गरिसकेको । तपाईहरुलाई त्यो गर्न सही लाग्छ या गलत । यदी तपाईहरु मध्ये कसैले चाहे जुनसुकै चुनाव चिन्हको भएपनि मेरोमा चाहीँ हाल्छु अर्कोमा हाल्दिन भने आफ्नै आत्माघात गरेजस्तै हो । तपाईहरुले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट गर्नुभएन भने तपाई पनि जित्नुहुन्न । यो इतिहासको तथ्य हो कि हामी मिलेर मात्रै, जतिबेला हामी वामपन्थी र लोकतन्त्रवादी मिलेका छौँ देशमा ठूलाठूला परिवर्तन सम्भव भएका छन् । एक्लै हिँड्छु भन्यो भने दुःख पाएको इतिहास छ । र शान्ति सम्झौता पनि मिलेर मात्रै भएको हो । अहिले प्रतिगमनको जो खतरा छ, त्यसलाई परास्त गर्ने पनि हामी मिलेर मात्रै सकिन्छ । त्यसकारण हामी कसैले पनि इतिहासको यो सत्यलाई नजरअन्दाज नगरौँ ।’

अध्यक्ष दाहालले परिवर्तनका बिरोधी र निरंकुशताका पक्षधरहरुको अर्को गठबन्धन बनेको पनि उल्लेख गर्नुभयो । उहाँले सो गठबन्धनमा देशको एकतालाई खण्डित गर्न चाहानेहरु केन्द्रित भएकाले हल्का रुपमा नहेर्न पनि नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अर्को गठबन्धन पनि छ सँगसँगै । त्यो यो परिवर्तन उल्ट्याउन चाहन्छ । परिवर्तनका विरोधी । निरंकुशताका पक्षधर, सामन्तवादी, राजावादी ती सबै शक्तिहरु देशको एकतालाई खण्डित गर्न चाहने तत्वहरु पनि अर्को गठबन्धनमा केन्द्रित छन् । हेक्का राखौँ । हल्का रुपले नहेरौँ ।’

उहाँले गठबन्धनभित्र जहाँ जसको उम्मेदवारी छ उसैलाई जिम्मेवारीबोध र खुशीका साथ भोट हाल्न आग्रह गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?