सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर

क्रिकेट खेल्न विदेश जान पनि अनुमति

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । साथै उहाँलाई क्रिकेट खेल्न विदेश जान अनुमतिसमेत दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो । सर्वोच्चको आदेशमा सन्दीपले अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनभित्र नेपाल आई काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन भनिएको छ । उहाँ यसरी अदालतमा उपस्थित नभएमा विदेश जान दिइएको सुविधा खारेज हुने आदेशमा उल्लेख छ । उहाँले २० लाख रुपैयाँ धरौटी राख्नुपर्ने उच्च अदालत पाटनको आदेश भने सर्वोच्चले कायम राखेको छ ।

सर्वोच्चको आदेशपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सन्दीप लामिछानेको तर्फबाट विदेश खेल्न जान पाउनुपर्ने निवेदनमा सुनुवाइ गर्दै विदेशमा खेल्नबाट रोक्नुपर्ने कुनै कारण नरहेकाले विदेशमा खेल्नका लागि जान पाउने आदेश अदालतले दिएको बताउनुभयो । उहाँले निजको राहदानी रोक्का भएको भए फुकुवा गर्न पनि आदेश दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उच्च अदालत पाटनबाट विभिन्न प्रकृतिका निषेधात्मक आदेशहरू उल्लंघन नगरी पालना गरेको देखिन्छ । अतः प्रतिवादी संलग्न कागजात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलाडी भएको र निजले देश र देशबाहिर पनि अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा भाग लिन जानुपर्ने देखिएको हुँदा विदेश जान रोक लगाउन उच्च अदालत पाटनले प्रकरण नम्बर २१ को खण्ड क दण्डित मिति २०७९/९/२८ मा भएको आदेश मिलेको नदेखिँदा सो हदसम्म बदर गरिएको छ । हाल निज प्रतिवादी विश्वकप एसिया छनोटको प्रतियोगिता जानुपरेको निवेदनको अनुसार प्रतिवादी सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जान दिनू, दिलाउनू एवं निजको राहदानी रोक्का भएको भए फुकुवा गरिदिनू भनी सम्बन्धित निकायमा लेखी पठाउनू र निज प्रतिवादी सन्दीप लामिछाने नेपालको तर्फबाट सहभागी भई कुनै पनि देशमा क्रिकेट खेल्न गएको भएमा सो खेल समाप्त भई उपलब्ध यातायातका साधन जस्तै हवाईजहाज, स्वदेश फर्किन लाग्ने युक्तिसंगत म्यादबाहेक १५ दिनभित्र मुद्दा हेर्ने अदालतमा उपस्थित भई स्वदेश फर्किएको जानकारी दिलाउनू र यस सर्तको उल्लंघन गरेको उक्त सेवासुविधा फिर्ता लिने भन्ने व्यहोराको जानकारी निज प्रतिवादी सन्दीप लामिछानेलाई गराउनू । प्रस्तुत मुद्दा जबरजस्ती करणको अभियुक्त भएको र प्रतिवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी भई सार्वजनिक चासोको विषय भएकोले फास्ट ट्र्याकबाट निरन्तर सुनुवाइका प्रक्रिया पूरा गरी छिटो कारबाही गर्नू भनी काठमाडांै जिल्ला अदालतलाई जानकारी दिई नियमअनुसार गर्नू । प्रस्तुत निवेदन बन्द इजलासबाट सुनुवाइ भएकोले यो आदेशको प्रतिलिपि सम्बन्धित जाहेरवाला प्रतिवादी र निजका कानुन व्यवसायीलाई मात्र उपलब्ध गराई सो आदेश सामाजिक सञ्जालमा अपलोड नगर्नू नगराउनू ।’

सोमबार सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गर्नुभएको थियो । सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जवाफी बहस गर्नुभएको थियो । सन्दीपलाई एकजना किशोरी (गौशाला २६) लाई बलात्कार गरेको अभियोग लागेको थियो । त्यसपछि उहाँलाई जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्लाको उक्त आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन जानुभएको थियो । जहाँ गत पुस २८ गते उच्च अदालतले सन्दीपलाई थुनाबाट रिहा गर्न आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी वकिलको कार्यालय, सर्वोच्च अदालत गएको थियो । लामिछानेको तर्फबाट पनि सर्वोच्च अदालतमा आइसिसी क्रिकेट विश्वकप लिग-२ खेल्न युएई जान पाउनुपर्ने मागको निवेदन परेको थियो । त्यस्तै, सरकारी वकिलको लामिछानेलाई थुनामै राख्नुपर्ने माग गर्दै निवेदन दायर भएको थियो ।

उक्त आदेशपछि उहाँ पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएर नेपाली राष्ट्रिय क्रिकेट टोलीमा फर्किनुभएको थियो । तर, त्यसपछि सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं छाड्न पूर्वअनुमति लिनुपर्ने र विदेश जान नपाउने आदेश दिएको थियो । त्यसविरुद्ध सन्दीप सर्वोच्च अदालत पुग्नुभएको थियो । उहाँले आफूलाई विदेश जान रोक लगाउने उच्च अदालतको आदेश बदर गर्न माग गर्नुभएको थियो ।

सर्वोच्चमा बहस हुँदा नेपाली क्रिकेट टिमका व्यवस्थापक विनोद दास सर्वोच्चको बन्द इजलासमै पुगेर सन्दीपलाई विदेश लैजाँदा आफूले फर्काउने ग्यारेन्टी लिनुभएको थियो । दुई दिन चलेको बहसबीच पीडितको पक्षबाट महान्यायाधिवक्ताको कार्यालले सन्दीपलाई थुनामै फर्काउनुपर्ने मागलाई पनि अस्वीकार गरेको छ । सर्वोच्चले बिहीबार सन्दीप र पीडित पक्ष दुवैको निवेदन एकैठाउँ पेस गर्न भनेको थियो । त्यसपछि दुवै निवेदन एकैठाउँ राखेर सुनुवाइ भएको थियो । सर्वोच्चको यो आदेशसँगै अब सन्दीप क्रिकेट खेल्न युएई जान पाउने हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?