बुटवल क्षेत्रको सडक ‘फोर लेन’लाई ‘सिक्स लेन’ बनाईएपनि ६ वर्षदेखि जहाँको त्यहीँ

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 8 mins

बुटवल । साघुरो सडक फराकिलो ब्यस्त बजारलाई ब्यबस्थीत बनाउने उद्देश्यले सुरु गरिएको बुटवल बजार क्षेत्रको सडक बेहाल भएको ६ बर्ष पुगेपनि अहिले सम्म बन्न सकेको छैन ।

२०७३सालमा ‘फोर लेन’को सडकलाई ‘सिक्स लेन’ विस्तार गर्ने उद्देश्यका साथ ठेक्का सम्झौत भएपनि अहिले सम्म धुलाम्मे/हिलाम्मे हुँदा व्यापार व्यवासायमा ठूलो प्रभाव परेको हो ।

‘फोर लेन’ को सडकलाई १७ चैत २०७३ मा ‘सिक्स लेन’ विस्तार गर्ने ठेक्का सम्झौता भएको थियो । सडक निर्माणमा गरिएका राजनीति, ठेकेदारको लापवाहीका कारण अहिले बुटवल कुरूप बनेको छ । बुटवलको ‘मुटु’ मुख्य बजार क्षेत्रको साढे तीन किलोमिटर सडक भत्काएर ठेकेदारले जहाँको त्यहीँ छाड्दा ठूला व्यापारी पलायन भएका छन् । नेपालको सडक निर्माणको कामको गति र प्रकृति कस्तो छ भनेर थाहा पाउन बुटवलको निर्माणाधीन सडकलाई नियाले पुग्छ ।

धुलोले नागरिकको स्वास्थ्यमा असर परेको छ भने, व्यवसाय शून्यजस्तै रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजू बताउनु हुन्छ । ‘सधैं गुलजार रहने बुटवल बजारलाई सडक विस्तारको लागि डोजर चलाएपछि सुनसान मात्र बनाएको छैन, धेरै व्यवसायी विस्थापित भएका छन्’ अध्यक्ष कसजूले भन्नुभयो ।

सडकमा सडक डिभिजन कार्यालय, बुटवलका अनुसार सडक निर्माणको काम वि.स.२०७६ असोजमा सकिनु पर्ने हो । यो सडक स्थानीय निर्वाचनका बेला भोट माग्ने र घटाउने अस्त्र बनेको थियो ।

सडकमा गिट्टी बिच्छाएर दुर्दशा देखाइएको छ । बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रादेवी अर्यालले सडकमा आएर छिटो काम सक्न निर्देशन दिँदै हिँडे पनि सडक अहिलेसम्म उस्तै छ । डिभिजन कार्यालयका अनुसार अहिलेसम्म सडकको भौतिक प्रगति ३० प्रतिशत समेत हुन सकेको छैन ।

सडक निर्माणका नाममा बाटो ‘वान-वे’ बनाउदा दुर्घटना समेत बढाएको छ । निर्माण सुरूआती चरण्मा अदालती मुद्दा मामिलाले सडक निर्माणमा अवरोध सृजना गरियो । बुटवलका व्यवसायीहरूले सडकमा परेको संरचना भत्काउन अटेर गरी अदालतमा पुगे । लाखौं चन्दा उठाएर मुद्दामामिलामा जुटे पनि उनीहरूको पक्षमा फैसला भएन । अन्ततःअतिक्रमित क्षेत्रमा बनेका घरहरू डोजर चलाएर भत्काइयो भने, केही घरधनी आफैले भत्काए । अदालतको अन्तिम फैसलापछि सडक निर्माण थालनी भयो ।

तर, राजनीतिक दाउपेचले सडक निर्माण रोक्ने र अघि बढाउने कार्य भए । सडक निर्माणमाथि भएको अराजनीतिक खेलले बुटवल शहर नै कुरूप बन्दै गएको छ । निर्माण कम्पनी द कञ्जनजंगा-बिरूवा जेभीले पछिल्लो पटक म्याद थपको मौका पाउँदै आगामी असारसम्म निर्माण सक्ने जनाएको छ । तर, सडक निर्माण कार्य सकिने अवस्था भने, काम गराइको अवस्थाले देखिँदैन ।

सडक डिभिजन कार्यालय बुटवलले केही समयअघि किन ठेक्का नतोड्ने ? भन्ने सार्वजनिक सूचना समेत जारी गरेको थियो । त्यसयता फेरि म्याद थप भई असारसम्मको मौका निर्माण कम्पनीले पाएको छ । सडक डिभिजन बुटवलका प्रमुख इन्जिनियर होमबहादुर एमसीले सडक निर्माणका लागि कम्पनीसँग लिखित प्रतिबद्धता गराइएको बताउनु भयो ।

‘निर्माण कार्यलाई तीब्रता दिने हो भने, तोकिएको समयमा सक्ने स्थिति छ’ एसीले भन्नुभयोे, ‘असारसम्म निर्माणको काम नसके कानूनी प्रक्रियामा हामी जान्छौं ।’ सार्वजनिक खरिद ऐनअनुसार सडक विभागले धरौटी जफत गरेर ठेक्क रद्द गर्न सक्नेछ । यद्यपि ठेक्का रद्द गर्दा सरकारको लागत झन बढ्ने भएकाले निर्माणलाई नै अघि बढाउने रणनीति डिभिजन कार्यालयहरुले अपनाउने गरेका छन् ।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणका लागि कम्पनीले ५३ करोड ९७ लाख ९९ हजार रूपैयाँमा ठेक्का लिएको थियो । कम्पनीले हालसम्म १३ करोड बढी रकम भुक्तानी लिइसकेको प्रमुख एमसीले बताउनु भयो ।

हालसम्मको काम गरेका भुक्तानी समयमा पाउन नसक्दा कामले गति लिन नसकेको निर्माण कम्पनीको भनाइ छ । कम्पनीले पछिल्लो कामको भुक्तानी बेलहिया बुटवल खण्डको र राजमार्ग, चौराहा-गोलपार्कको गरी करिब ६ करोड बढी बाँकी रहेको डिभिजन प्रमुख एमसीले बताए ।

केही कानूनी प्रक्रियाका कारण भुक्तानी ढिलो भएको तर, केही दिनमै भुक्तानी हुने प्रक्रियामा रहेको उहाँले बताउनु भयो । सडक विस्तारका लागि घर भत्काउन थालेपछि बुटवलको मुख्य व्यवसायिक केन्द्र ट्राफिक चोकमा ‘फेन्सी’ पसल गर्दै आएका वासुदेव बस्याल पसल बन्द गरेर विस्थापित हुनुभयाे । बुटवलकै अर्को महत्वपूर्ण व्यापारिक केन्द्र राजमार्ग चौराहामा व्यापार गर्ने सुजन श्रेष्ठ सडककै कारण अफ्टयारोमा हुनुहुन्छ ।

उहाँले पनि व्यवसायीलाई बैंकको चर्को ब्याजदर, चर्को घर भाडा र सडक विस्तारको कामले व्यवसायमा अवरोधजस्ता कारणले कैयन व्यवसायी विस्थापित भएको र यो अवस्था बढ्दै गएको बताउनु भयो ।

ठेक्का सम्झौता भएदेखि सुरूमा सडक किनारामा बनेका घर र जग्गा धनी आफूहरूले क्षतिपूर्ति पाउनुपर्ने मागसहित कानुनी विवादले लामो समयसम्म सडक विस्तारको काम रोकिएको थियो तर निर्माण कम्पनीले त्यसबेला पनि कानूनी विवादको बहानामा विवाद नभएको क्षेत्रमा समेत काम अगाडि बढाएको थिएन ।

बुटवल मात्र होइन, यस कम्पनीले बेलहिया-बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाअन्तर्गत तीनवटा ठेक्का लिएकामा तीनवटै काम पूरा नगरेको सडक कार्यालयले जनाएको छ । यही कारण आर्थिक वर्ष २०६८/६९ मा सुरू भएको सडक अलपत्र छ । बरू नसकिँदै सडक विभिन्न ठाउँमा भाँसिन र भत्किन थालेको छ । सुन्दर सफा फराकिलो बनाउने उद्देश्यका साथ सुरु भएको योजना समयमा सम्पन्न नहुँदा लागत खर्च बढ्ने र मानिसको स्वास्थ्य तथा ब्यवसायमा असर परेको देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?