आँधीखोला गाउँपालिकाको न्यायिक समितिमा डेढ वर्षमा २१ वटा उजुरी, अधिकांश लेनदेनका

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकाको न्यायिक समितिमा आ.ब. २०७९-८० र आ.ब. २०८०-८१ को हालसम्म गरी २१ वटा उजुरी परेका छन् ।

२०७९-८० मा जम्मा १९ वटा उजुरी परेका थिए भने २०८० को भदौ मसान्तसम्म २ वटा उजुरी परेका छन् । यीमध्ये अधिकांश उजुरी आर्थिक लेनदेनका रहेका छन् । कुलो, नहर, पानी, घरगोठलाई असर पर्ने बिरुवा सारेको, श्रीमान श्रीमतीको झगडा, माना चामल, बन्धकी जग्गा, काम गराई ज्याला मजदूरी नदिएको जस्ता उजुरी परेका न्यायिक समितिकी संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले बताउनुभयो ।

उजुरी परेका अधिकांश विषय जितजितको अवस्थामा मिलापत्र गराइएको तर एउटा उजुरी फैसला भइसकेपछि पुनरावेदनमा गएको उहाँले बताउनुभयो । ‘उजुरीको प्रकृति र व्यक्तिको प्रवृत्ति अनुसार एउटा उजुरीमाथि ३-४ पटकसम्म छलफल गरी मिलापत्र गराएका छौं ।’

यस वर्षको दुई वटा उजुरीमध्ये एउटाको न्यायिक निरुपण गरिएको र बाँकी एक उजुरीका सम्बन्धमा अध्ययन भइरहेको न्यायिक समितिले जनाएको छ । ‘न्याय निरुपणको कामलाई कानुन सम्मत् बनाउन प्रयास गरिएको छ । यसबाट आत्मसन्तुष्टि मिलेको छ ।’ न्यायिक समितिकी संयोजक थापाले भन्नुभयो ।’

उहाँका अनुसार आँधीखोला गाउँपालिकामा न्यायिक इजलास गठन भएको, आफ्नै फाइलहरु प्रयोग गरिएको, प्रत्येक महिना न्यायिक समितिको अनिवार्य बैठक गरिएको, वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना गरिएको तथा जिल्ला अदालत स्याङ्जाबाट बेलाबेलामा अनुगमन गरी सुझाव लिने काम भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?