तिहार शुरु भएसँगै बढ्यो बजारमा चहलपहल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालीहरुको महान चाड शुभ दीपावली शुरु भएसँगै काठमाडौं लगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ ।

तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भीड देखिएको हो । काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी लगायतका क्षेत्रमा सर्वासाधारणको चाप उल्लेख्य छ । काठमाडौंका भित्री शहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु सजाइएको छ । मखमली र सयपत्री फूलले राजधानीको बजार ढाकिएका देख्न सकिन्छ । बजार घुम्न जानेलाई समेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ ।

तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् । विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरु असन, भोटाहिटी, इन्द्रचोक, न्युरोडलगायतका ठाउँमा आउने भएकाले पनि त्यस क्षेत्रमा बढी भीड भएको हो । लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ ।

त्यस्तै भाइटीकाका लागि चाहिने सगुनहरुको पनि किनमेल बढेको छ । यी क्षेत्र लगायत उपत्यकाका अन्य क्षेत्र र देशभरका बजारहरुमा पनि तिहारमा चाहिने सामान किन्नेहरुको चहलपहल शुरु भएको पाइन्छ । आजबाट विधिवत रुपमा यमपञ्चक शुरु भएको छ । आज धनतेरस पर्व पनि मनाइँदै छ । सुन, चाँदीका सामग्रीहरुको पूजा गरेर धनतेरस मनाइने गरिन्छ । आज बेलुका यमदीपदान शुरु गर्ने र भोलिबाट क्रमशः काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोरु तिहार र भाई टीका मनाउने गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?