महिला सदस्य जनप्रतिनिधिको आत्मविश्वास-अब हामीले नै नेतृत्व गर्ने हो

हिमालय टाइम्स
Read Time = 5 mins

महोत्तरी । बर्दिबास नगरपालिका-३ मा दलित महिला सदस्यमा पहिलो पटक निर्वाचित हुँदा लक्ष्मी परियारलाई केही पनि थाहा थिएन । वरपरका मानिस यसले के गर्छे होला र भनेर जिस्काउँथे । सुरु-सुरुमा त काम, कर्तव्य, जिम्मेवारी थाहा नपाउँदा परियार निक्कै अल्लमल्लमा पर्नुभयाे तर उहाँलाई पछिल्लो समय भने उहाँ धेरै विषयमा जानकार भइसक्नु भएकाे छ । उहाँमा यो परिवर्तन माण्डवी नामक एक गैरसरकारी संस्थाले ल्याइदिएको हो ।

महिला नेतृत्व विकासमा आफूलाई कसरी विकास गर्ने ? भन्ने सम्बन्धमा उक्त संस्थाले पटक पटक तालिम दिएपछि लक्ष्मी जस्तैँ अन्य महिला सदस्य जनप्रतिनिधिहरू निक्कै जागरुक भएका छन् ।

तालिमले आफ्नो अधिकार र क्षेत्राधिकार बारे जानकारी दिएको बताउँनुहुन्छ कार्यापालिका सदस्य समेत रहेकी वडा सदस्य लक्ष्मी कोइराला । तालिममा सिकेका विषयले महिलालाई जागरुक बनाएको उहाँको पनि अनुभव छ । 'महिला जनप्रतिनिधिलाई अब स्वरोजगार कसरी बन्ने भन्ने योजना बनाएकी छु,' उहाँले भन्नुभयाे, 'अर्को स्थानीय तहको निर्वाचनसम्म म निक्कै ठूलो फड्को मार्नेछु भन्ने आत्मविश्वस बढ्दै छ ।'

संस्थाका माध्यमबट जिल्लाका कतिपय महिलाको त जीवन आमूल परिवर्तन भएको छ । तीन वर्ष अघिसम्म भंगाहा नगरपालिकाकी जुमिदा खातुन आफ्नै घर-परिवारवाट प्रताडित हुनुहुन्थ्याे । श्रीमान मदिरा सेवन गरेर आउने र कुटपिट गर्ने गर्दथे । जब जुमिदा स्वरोजगार बन्नुभयाे तब पारिवारिक अत्याचारवाट समेत मुक्त बन्नुभयाे । आफै कमाएर घर व्यवहार चलाउन थालेपछि श्रीमान तथा परिवारका सदस्यहरूले उहाँलाई सम्मान गर्न थाले ।

माण्डवीले द वुमेन इम्पावरमेण्ट परियोजनाअन्तर्गत गाउँगाउँमा पुगेर महिलालाई जागरुक बनाउने, स्वरोजगार बन्न अभिप्रेरित गर्ने, महिला नेतृत्व विकासका लागि विभिन्न अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने जस्ता गतिविधिले जुमिदालाई थप जागरुक र उत्प्रेरित बनायो । परिणामस्वरूप जुमिदाले महिला सदस्यमा उम्मेदवारी दिनुभयाे र निर्वाचित पनि हुनुभयाे ।

जुमिदा अहिले भंगाहा नगरपालिकामा उदाहरणीय पात्र बन्नुभएकाे छ । उहाँको नेतृत्व विकासले उहाँ जस्तै धेरै महिलालाई सामाजिक, राजनैतिक नेतृत्व गर्न अग्रसर बनाएको छ ।

माण्डवीले स्थानीय तह निर्वाचनअघि 'बुट क्याम्प' पनि सञ्चालन गरेको थियो । 'बुट क्याम्प'को लक्ष्य थियो महिलालाई उम्मेदवारी बनाउन अभिप्रेरित गर्ने र निर्वाचन अभियान चलाएर जित हासिल गर्ने । यही सिलसिलाअन्तर्गत 'बुट क्याम्प'का सहभागी महोत्तरीका औरही, भंगाहा, जलेश्वर, पिपरा र बर्दिबासका २० जना महिला पुन:निर्वाचित भएका छन् ।

'बुट क्याम्पबाटै त भन्दिन तर निर्वाचन अभियान र रणनीति बनाउन महिलालाई निक्कै सहज बन्यो भन्ने विश्वास छ ।' माण्डवीअन्तर्गत सि लिड परियोजनाकी प्रियंका ठाकुरले भन्नुभयाे ।

त्यसो त महिला जनप्रतिनिधिलाई जागरुक बनाउन र क्षमता विकासका लागि पालिकाहरूले पनि सक्रियता देखाएका छन् । शनिवार माण्डवीको पाँच दिने तालिमको समापनलाई सम्बोधन गर्दै बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले यसको लागि बजेट समेत छुट्याएको बताउनुभयाे ।

आफ्नो कार्याकालमा महिलाको क्षमता अभिवृद्धिको लागी माण्डवी जस्ता गैरसरकारी संस्थासँग हातेमालो गरेर अगाडि बढ्ने क्षत्रीको प्रतिबद्धता छ । सिमित बजेट र स्रोतसाधनबाट नगरले ध्यान पुर्‍याउन नसकी रहेको बेला माण्डबीको सिलिड परियोजनाको प्रशंसा गर्दै यस्तै थप कार्यक्रमको उहाँले अपेक्षा गर्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?