व्यवहारमा लागू गर्न नसके दिएको सम्मानको अर्थ रहँदैन : उपमेयर डंगोल

फाईल तस्बिर

Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सम्वतको छुट्टै मौलिक महत्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताउनु भयो ।

उहाँले सरकारी कार्यालयहरुमा चलाउने डकुमेण्टहरुमा नेपाल सम्वत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर गर्नुभयो । उहाँले अहिलेका राजनीतिक दल र नेताहरुले राष्ट्रिय विभूति शंखधर साख्वाबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सम्वतको छुट्टै मौलिक महत्व र पहिचान छ । संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत हो नेपाल सम्वत । जनतालाई ऋण मोचन गरेर, जनतालाई सबैभन्दा प्राथमिकतामा राखेर शुरुवात भएको हाम्रो माटोको, मौलिक नेपाल सम्वत विशेष कार्यक्रम गरेर मनाइरहेका छौँ । राष्ट्रिय विभूतिको रुपमा मान्यता दिइसकेपछि हामीले लिखित रुपमा मात्रै होइन कार्यान्वयन गर्न व्यवहारमा लागू गर्न महत्वपूर्ण छ । हामीले चलाउने डकुमेण्टहरुमा जबसम्म नेपाल सम्वत प्रयोग गर्न सक्दैनौँ, तबसम्म यसलाई राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नहुन सक्छ । नेपाल संवत मनाइरहँदा राष्ट्रिय विभूतिबाट सिक्नुपर्ने धेरै पाठ छ । जनतालाई ऋण मोचन गरे झैँ आफू भन्दा माथि जनता भनेर सोच्न जरुरी छ ।’

उपमेयर डंगोलले संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत भनेको नेपाल सम्वत रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?