परम्परा धान्दै ९० वर्षीया गङ्गादेवी

हिमालय टाइम्स
Read Time = 4 mins

रामपुर । तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ ।

पाल्पा नगरपालिका-६ मिलनचोककी ९० वर्षीया गङ्गादेवी पराजुलीले भने पूरानो परम्परालाई धान्दै हुनुहुन्छ । उहाँ तातोपानीधाम गौशालामा रहेका गाईलाई हरियो धान काटेर खुवाउने संस्कृति जोगाउने अभ्यासमा हुनुहुन्छ ।

पहिलादेखि नै चलिआएको परम्परा हिजोआज हराउन पुग्दा पूरानो संस्कार संस्कृतिलाई अवलम्वन गर्दै नयाँ पुस्तामा जानकारी गराउन धान खुवाउने कार्यक्रम गरेको ज्येष्ठ नागरिक पराजुली बताउनुहुन्छ । उहाँले करिव तीन रोपनी जग्गामा लगाइएको धान काटेर गौशालमा रहेका १३५ गाईलाइ खुवाउनुभएको छ ।

“हाम्रा पालामा तिहारमा गाईलाई खुवाउन भनेर खेतमा छुट्टै धान रोपिन्थ्यो, हिजोआज त यस्तो चलन कतै छैन, हराउँदै गयो, नातीनातीनालाई घरमा सुनाउँदा आश्चर्य मान्छन्,” पराजुलीले भन्नुभयो,-“नयाँ पुस्ताले पूरानो चलन पनि सिकुन् भन्नका लागि गौशालामा म आफै पुगेर गाईलाई धान खुवाएपछि आत्मसन्तुष्टि मिलेको छ” ।

परिवार, आफन्त, स्थानीयको साथमा पूजाआजा गरी गाईलाई हरियो धान, चोकर, दाना, सातु खुवाउन पाउँदा आनन्द लागेको उहाँले बताउनुभयो । आश्चर्य मान्दै धान खुवाउने कार्यक्रममा आफन्त, छरछिमेकको उत्साहजनक सहभागीता रहेको थियो ।

वैदिक परम्परा अनुसार गौमातालाई खुशी बनाउन मुख्य खेती धान खुवाएमा सबै देवीदेवता खुशी हुने, गाईको अङ्गमा ३३ कोटी देवताले बास गर्ने भन्ने धार्मिक कथन छ । गौमातालाई खुशी पार्न तिहारका बेला झुल्दै गरेको हरियो धान खुवाउने परम्परा रहेको पण्डित दिनानाथ भण्डारी बताउनुहुन्छ ।

“लक्ष्मीका रुपमा पुजिने गाईलाई तिहारमा पूजा गरी खेतमा लगाइएको हरियो धान खुवाउने परम्परा छ”, उहाँले भन्नुभयो,-“यसो गरेमा कामधेनु गाई खुशी हुन्छिन्, हामीले मागेको कुरा पूरा हुने, धन सम्पत्ति, सुख, शान्ति प्राप्ती हुन्छ भन्ने धार्मिक विश्वास छ” ।

पहिला धान फल्दै गरेको खेतमा गाई लगेर खुवाउने चलन थियो । हिजोआज खेतबारीमा अरुका बाली नोक्सान गर्ने भएपछि काटेर गौशालामा लगेर खुवाउने गरिएको पण्डित भण्डारीले बताउनुभयो ।

यसरी हरियो धान काटेर तिहारमा खुवाउने पूरानो परम्परा भने गाउँघरमा हराइसकेको छ । यो परम्परा देखेर नयाँ पुस्तालाई अनौठो लाग्दछ । यस कार्यले गाउँघरमा हराउँदै गएको पूरानो संस्कृती ब्युताउने र अबका सन्ततीले केही नयाँ कुरा सिक्ने अवसर पाएको रामपुरका पाका पत्रकार वासुदेव ढकाल बताउनुहुन्छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?