-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । बाँकेका ३०.१ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्यांक छ । बाँकेमा एक उपमहानगरपालिकासहित एक नगर र छ स्थानीय सरकार छन् । तीमध्येको एक हो जानकी गाउँपालिका । यहाँको आधा जनसंख्या गरिबीको रेखामुनि छ । कुल ४६ हजार जनसंख्या रहेको जानकीमा करिब ४० प्रतिशत गरिबी छ । गाउँपालिकाकी सूचना अधिकारी शोभा कँडेलका अनुसार गाउँपालिकामा अनुमानित ३८ देखि ४० प्रतिशत गरिबी रहेको छ । उहाँले गरिबी निवारणका लागि रोजगारी दिने कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
त्यस्तै, खजुरा गाउँपालिकाको गरिब घरपरिवार पहिचान सर्वेक्षणअनुसार १२ सय ७० जना गरिबीको रेखामुनि छन् । खजुरामा कुल जनसंख्या ५५ हजार रहेको छ । वैजनाथ गाउँपालिकामा हाल १८ प्रतिशत निरपेक्ष गरिबी छ । गाउँपालिकाको पञ्चवर्षीय आवधिक योजनाअनुसार गाउँपालिकाको बहुआयामिक गरिबीमा रहेको जनसंख्या २८.६ प्रतिशत छ । आवधिक योजनामा आर्थिक वर्ष २०८२/०८३ सम्म निरपेक्ष गरिबी ५ प्रतिशतमा झार्ने लक्ष्य छ । त्यस्तै, बहुआयमिक गरिबीमा रहेको जनसंख्या १० प्रतिशतमा झार्ने गाउँपालिकाको लक्ष्य छ ।
राप्तीसोनारी गाउँपालिकाको राप्तीसोनारी घरधुरी सर्वेक्षण २०७५ का अनुसार राप्तीसोनारीमा ५.६ प्रतिशत घरधुरी धेरै गरिब छन् । ३७.८ प्रतिशत गरिब छन् भने निम्नमध्यम वर्ग ३६.१ प्रतिशत रहेका छन् । १७.८ मध्यम वर्ग, १.२ प्रतिशत जनसंख्या उच्च मध्यम वर्ग रहेको छ । राप्तीसोनारीमा खाद्य निर्भरताका आधारमा आफ्नो आम्दानीमा तीन महिना कम खान पुग्ने घरधुरी १४.७ प्रतिशत छ ।
गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्य आवधिक योजनाअनुसार नै गाउँपालिका गरिबी घटाउने कार्यमा सक्रियरूपमा लागिपरेको दाबी गर्नुहुन्छ । उहाँका अनुसार स्थानीय सरकारले प्रत्येक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत गरिबी निर्वारण गरेर रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम र बजेट विनियोजन गरिएको छ । गाउँपालिकाको घरधुरी सर्वेक्षण २०७७ अनुसार १५ देखि ५९ वर्षसम्मको सक्रिय जनसंख्या ६१ प्रतिशत छ । १५ देखि ३९ वर्षसम्मको अति सक्रिय युवाको जनसंख्या ४९.७ प्रतिशत रहेको छ । वैजनाथ गाउँपालिकामा ५६. २६ प्रतिशत जमिन खेतीयोग्य रहेको छ ।
त्यसैगरी डुडुवा गाउँपालिकामा २६ प्रतिशत गरिबी रहेको छ । डुडुवामा कृषि उत्पादनको आत्मनिर्भरताको अवस्था हेर्ने हो भने आठ हजार दुई सय ७७ जनालार्ई तीन महिनादेखि १२ महिनासम्म खान पुग्ने गरेको घरधुरी सर्वेक्षण २०७५ ले देखाएको छ । त्यसमध्ये तीन महिनासम्म खान पुग्ने घरधुरी संख्या एक हजार चार सय ४६ छ । चारदेखि छ महिना खान पुग्ने एक हजार सात सय ९४, सातदेखि नौ महिनासम्म खान पुग्ने एक हजार सात सय ८५ र नौ महिनादेखि एक वर्षसम्म खान पुग्ने तीन हजार दुई सय २५ जना रहेका छन् । डुडुवा गाउँपालिकाको कुल जनसंख्याको १७.८४ प्रतिशत नागरिक कृषि र पशुपालनमा निर्भर छन् । गाउँपालिकामा वार्षिक आम्दानी ५० हजारभन्दा कम गर्ने घरपरिवारको संख्या एक हजार दुई सय ४९ जना रहेको छ ।
त्यस्तै, नरैनापुर गाउँपालिकामा आर्थिकरूपमा सक्रिय जनसंख्या ३४ हजार नौ सय ४२ जना रहेको छ । जसमध्ये महिला ४८.९८ र पुरुष ५१.६ प्रतिशत रहेका छन् । गाउँपालिकाको कुल जनसंख्या १८ हजार पाँच सय ५६ छ । तीमध्ये ५३.११ प्रतिशत जनसंख्या आर्थिकरूपमा सक्रिय छ । आर्थिकरूपमा निस्क्रिय जनसंख्याको प्रतिशत ४६.८९ प्रतिशत रहेको छ । रोजगारीको पर्याप्त व्यवस्था नहुनु पनि गरिबीको एउटा कारण भएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘जनचेतना, शिक्षाको कमीलगायतले गरिबी दर शूून्यमा झरेको छैन तर पनि गरिबी दर भने घट्दै गएको छ ।’
अपेक्षाअनुसार बाँकेमा गरिबीको दर घट्न नसकेको पालिकाहरूले जनाएका छन् । जनसंख्या दर वृद्धिसँगै गरिबी दर घटाउन चुनौती भएको पालिकाहरूको भनाइ छ । कोरोनाका कारण पनि गरिबी दर घटाउन समस्या समस्या भएको बताइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच