‘नो नट अगेन’ र तोसिमा कार्कीबिरुद्ध परेको रिटमा आज सुनुवाइ

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । सर्वोच्च अदालतमा निर्वाचन आयोगविरुद्ध परेका दुई रिटविरुद्ध आज सुनुवाइ हुँदैछ ।

‘नो नट अगेन’ अभियानविरुद्ध आयोगले विज्ञप्ति जारी गरेको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा।तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध दिएको रिटमाथि सुनुवाइ हुन लागेको हो ।

सोमबार अधिवक्ता अनिल आचार्यले ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गर्नुभएको थियो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार नै रिट दायर गर्नुभएको थियो ।

No not again nirbachan ayoj himalaya times

यस्तो छ- ‘नो नट अगेन’ माथि आयोगको बन्देजविरुद्ध सर्वोच्चमा परेको रिट

नो नट अगेन अभियानविरुद्ध निर्वाचन आयोगले जारी गरेको चेतावनीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सामाजिक सञ्जालको पेज ‘नो नट अगेन’ लगायतका पेजलाई प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध आयोगले दूषित मनशायले सूचना जारी गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आयोगले जारी गरेको सूचना खारेज हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको हो । उहाँले आयोगको सूचनालाई अन्तरिम आदेशमार्फत तत्काल निस्तेज बनाउन माग गर्नुभएको छ । निर्वाचनका क्रममा नागरिकले आफ्नो हक र स्वतन्त्रताको शान्तिपूर्ण रूपमा उपभोग गर्न पाउनुपर्ने भन्दै त्रिपाठीले आयोगले जारी गरेको सूचनाले नागरिकको संवैधानिक स्वतन्त्रतालाई निष्प्रभावी बनाउने दाबी गर्नुभएको छ ।

‘यो सूचना आफैँमा स्वेच्छाचारी एवं बदनियतपूर्ण छ । संवैधानिक स्वतन्त्रतालाई पूर्णरूपमा निष्प्रभावी तुल्याउन खोजिएको छ’ रिट निवेदनमा उल्लेख छ, ‘निर्वाचन आयोगले संविधानले तोकेको भन्दा फरक विषयवस्तु तथा आधारमा नागरिक स्वतन्त्रतालाई प्रतिबन्धित वा कुण्ठित गर्नु स्वेच्छाचारिताको नमुना हो ।’ निर्वाचनका क्रममा नागरिकले मन परेको उम्मेदवारलाई मत दिन अनि मन नपरेको उम्मेदवारलाई मत नदिन अभियान चलाउन स्वतन्त्र हुने भन्दै आयोगको सूचनाले नागरिकको हक कुण्ठित भएको रिट निवेदनमा दाबी गरिएको छ । वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने गरी निर्वाचन आयोगले विज्ञप्ति जारी गरेको भन्दै उक्त निर्णय र चेतावनी उत्प्रेषणको आदेशबाट बदर गर्दै ‘नो नट अगेन’ लगायतका पेजहरू पूर्ववतरूपमा सञ्चालनमा ल्याउन परमादेश दिनसमेत माग गरिएको छ ।

आयोगको सूचनाअनुसार नो नट अगेन अभियानमा संलग्न हुनेमाथि एक लाख रुपैयाँ जरिवाना, विद्युतीय कारोबार ऐनअनुसार कारबाही वा अन्य कारबाहीको चेतावनी गरिएको थियो । रिट निवेदनमा त्यो सूचना निस्तेज बनाउनुपर्ने माग गरिएको हो । मंगलबार रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने निवेदक त्रिपाठीले बताउनुभएको छ ।

tosima karki-hita

यस्तो छ तोसिमा कार्कीको रिट

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ की उम्मेदवार डा.तोसिमा कार्कीको रिट दर्ता भएको छ । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।

उम्मेदवारी मनोयनको करिब एक महिनाअघि नेपाल मेडिकल काउन्सिलको सदस्य लाभको पद हो वा होइन भन्ने निक्र्योलका लागि कार्कीले आयोगलाई पत्राचार गर्नुभएको थियो । तर, आयोगले कार्कीलाई औपचारिक वा अनौपचारिक रूपमा त्यसको कुनै जवाफ दिएन । आयोगको जवाफ नआएपछि कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ । डा.तोसिमा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुनुहुन्छ । नियमित तलब नपाइने भए पनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलाई निर्वाचन आयोगले लाभको पद भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो । तर, मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको र नियमित तलब भन्दै आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर अदालत जानुभएको हो ।

यसैगरी, आयोगले असोज २५ सम्म उम्मेदवारविरुद्ध उजुरीको समय तोकेको थियो । त्यो समय कटेपछि नियोजित रूपले आफूविरुद्ध उजुरी दिइएको कार्कीको दाबी छ । आफूमाथि आयोगले अन्याय गरेको भन्दै कार्कीले प्रश्न गर्नुभएको छ, ‘मैले उम्मेदवार बन्नका निम्ति नियमित पारिश्रमिक आउने सरकारी संस्थाबाट राजीनामा दिएँ । मेडिकल काउन्सिलको सवालमा द्विविधा भएपछि निवेदन दिएँ । मेरो जिज्ञासामा आयोगले समयमै सम्बोधन गर्नुपर्दैन ?, मेरो निवेदनबारे आयोगले समयमै किन सुनुवाइ गरेन ?’

कार्कीले उजुरी दिने म्याद कटिसकेपछि आफूविरुद्ध परेको उजुरीमा आयोगले फैसला गर्दा अन्याय भएको तर्क पनि गर्नुभएको छ । तर, निर्वाचन कानुनअनुसार यो उजुरी लिनु जायज भएको आयोगको तर्क छ ।

उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदाबी लिएर अदालत पुग्नुभएकी कार्कीको रिट मंगलबारको पेसीमा राखिएको छ । मंगलबार एक न्यायाधीशको इजलासमा उहाँको रिटमाथि सुनुवाइ हुनेछ । अन्तरिम आदेशको माध्यमबाट उम्मेदवारी कायम राख्न आदेश आएमा उहाँको उम्मेदवारी कायम रहन पनि सक्नेछ ।

यसअघि, रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको रिटमा एक न्यायाधीशको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने दुई न्यायाधीशको इजलासले अन्तरिम आदेशको निरन्तरता दिन अस्वीकार गरेको थियो । आयोगले तोसिमाविरुद्ध गरेको निर्णय जायज वा नाजायज भन्ने कुरा अब सर्वोच्चले निक्र्योल गर्नेछ । रिटमा नेपाल मेडिकल काउन्सिलको बैठकमा भाग लिएबापत पाइने भत्ता लाभको पद हो कि होइन भनेर व्याख्या गर्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?