बागलुङ-२ मा मन्त्री पौडेललाई कति सहज ?

हिमालय टाइम्स
Read Time = 6 mins

-डम्मर बुढा मगर

बागलुङ । चुनावको मिति नजिकिएसँगै बागलुङमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवार र विभिन्न दलका नेता कार्यकर्ता गाउँ–गाउँमा पुगेर मतदाता भेट्ने र भोट माग्ने गरिरहेका छन् । यसपालि बागलुङ क्षेत्र नम्बर २ को चुनाव निकै रोचक बन्ने देखिन्छ । यस क्षेत्रमा शिक्षामन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल र एमालेकी मञ्जु शर्मा चालिसेबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

मन्त्री पौडेल २०७४ को निर्वाचनमा यही क्षेत्रमा विजयी हुनुभएको थियो । त्यसबेला वाम गठबन्धन भएको थियो । पौडेलले नेपाली कांग्रेसका नरबहादुर पुनलाई आठ हजार ९२२ मतान्तरले पराजित गर्नुभएको थियो । पौडेलले २८ हजार ८२७ मत प्राप्त गर्दा पुनले १९ सय ९०५ मत ल्याउनुभएको थियो । पौडेलको जन्मस्थल क्षेत्र नम्बर १ मा भए पनि उहाँ क्षेत्र नम्बर २ बाट चुनाव लड्दै हुनुहुन्छ । अघिल्लो पटक यही क्षेत्रबाट निर्वाचित भएर मन्त्रीसमेत बन्नुभएका पौडेलले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्थानीयको आरोप छ ।

फरक क्षेत्र र अघिल्लो कार्यकालमा राम्रो काम गर्न नसक्दा मन्त्री पौडेललाई यसपटक गाह्रो पर्ने सक्ने नेता कार्यकर्ता बताउँछन् । माओवादी केन्द्रका एक नेताले भन्नुभयो, ‘अघिल्लो निर्वाचनमा मन्त्रीज्यूलाई यहीँबाट हामीले नै जिताएर पठाएका हौँ, तर उहाँले पाँच वर्षसम्म जनचाहनाअनुसार काम गर्न सक्नुभएन, यसपालिको निर्वाचनमा हामीले त हाम्रै क्षेत्रबाट उम्मेदवार बनाउनुपर्छ भनेर लागेका थियौँ, तर अहिले पनि उहाँ डाँडापारिबाटै आउनुभयो, राम्रो काम गरेको भए अहिले पनि उहाँको जित निश्चित हुने थियो ।’

चार गाउँपालिका र दुई नगरपालिका रहेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमोलेले एउटा मात्रै नगरपालिकाको प्रमुखमा जितेको थियो । ढोरपाटन नगरपालिकामा एमालेले जित हात पारेको थियो भने निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका र गलकोट नगरपालिका नेपाली कांग्रेसले र ताराखोला गाउँपालिका माओवादी केन्द्रले जितेको थियो ।

स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा गठबन्धन नौ हजार ९३० मतले अगाडि देखिन्छ । स्थानीय निर्वाचनमा गठबन्धनले २८ हजार ४३८ मत प्राप्त गरेको थियो भने एमालेले १८ हजार ५०८ पाएको थियो । ४८ वडा रहेको यस क्षेत्रमा नौ वटा वडा मात्रै एमालेले जितेको थियो भने अन्य वडा गठबन्धनले जितेको थियो ।

मन्त्री पौडलले अघिल्लो कार्यकालमा जनअपेक्षाअनुसार काम गर्न नसक्दा केही मत कम आउन सक्ने धेरैको आँकलन छ । त्यसमाथि माओवादी केन्द्रका नेता तुल्सीराम अर्यालले विद्रोही उम्मेदवारी दिएपछि पौडेललाई अर्को चुनौती थपिएको छ । पश्चिम बागलुङमा राम्रै प्रभाव राख्ने अर्यालले पौडेलको केही मत काट्न सक्ने देखिन्छ ।

पौडेलको प्रतिद्वन्द्वीको रूपमा रहनुभएकी एमालेकी उम्मेदवार मञ्जु शर्मा चालिसेले पनि सोचेअनुसार मत पाउन नसक्ने नेता कार्यकर्ता बताउँछन् । चालिसे गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । चुनाव सकिएपछि उहाँ बालकोटमै पुगेर एमाले प्रवेश गर्नुभएको थियो ।

अवसरका लागि पार्टी अदलबदल गर्नेले विकास गर्न नसक्ने मतदाताको आरोप छ । यसै पनि बागलुङ क्षेत्र नम्बर २ मा कमजोर रहेको एमालेले पार्टीको टीका लगाएर टिकट दिएको छ । यसले पार्टीभित्र रहेर लामो समय संघर्ष गरेका नेताले टिकट नपाएपछि असन्तुष्ट बनेको एक नेताको भनाइ छ ।

एमालेका ती नेताले भन्नुभयो, ‘दशकौँदेखि एमाले रगत पसिना बगाएका, संघर्ष गरेका नेताले टिकट पाएनन्, अस्ति भर्खर अर्को पार्टीबाट आएको मान्छेलाई टिकट दिनु न्यायोचित भएन, यसले संघर्ष गर्नुभएका नेतालाई चोट पुर्याएको छ, नेतृत्वको सही निर्णयले नेता कार्यकर्तामा विचलित आउन सक्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?