ज्यामरुककोटमा पुरातात्विक सम्पदाको संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विस्तार

हिमालय टाइम्स
Read Time = 7 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको ऐतिहासिक खड्गभवानी कोत परिसरमा ६ सय वर्ष पुराना ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दै पर्यटकीय गन्तव्यस्थल बनाउनका लागि भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको छ । थापा र मल्लकालीन विरासत बोकेको ज्यामरुककोटमा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वयुक्त खड्गभवानी कोत परिसरका पुरातात्विक महत्वका ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दै पर्यटकीयस्थल बनाउनका लागि पूर्वाधार निर्माण थालिएको हो ।

समुद्री सतहदेखि एक हजार ६४८ मिटरको उचाइमा रहेको खड्गभवानी कोत करिब ६०० वर्ष पुरानो इतिहासको आँखी झ्याल मानिन्छ । ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्वका बारेमा जानकारी लिन र आवश्यक पूर्वाधारका लागि सहयोग गर्ने उद्देश्यले म्याग्देली प्रवासी संघ (मोना) हङकङको एक टोलीले ज्यामरुककोटका जनप्रतिनिधि र खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका पदाधिकारीहरूसँग छलफल गरेको छ ।

मोना हङकङका अध्यक्ष कर्णबहादुर पुन मगर, मोना हङकङका निवर्तमान अध्यक्ष इन्द्र एलजी थापामगर, ओमकुमारी शान्ति कोषका अध्यक्ष एवं म्याग्दीका पर्यटन अभियन्ता राजेश शाक्यलगायतको एक टोलीले ज्यामरुककोट ऐतिहासिक विरासतको महत्वपूर्ण स्थल भएकाले यसका पुरातात्विक पूर्वाधारहरूलाई नचलाइकन पर्यटकीय पूर्वाधार निर्माण गर्न आफूहरूले संस्थागत र व्यक्तिगतरूपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

१५ औँ शताब्दीको प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । अध्यक्ष कार्कीका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारहरूसमेत रहेका छन् ।

ज्यामरुककोटलाई धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वको संगमस्थल बनाउन बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा गत वर्ष २०६७/०६८ मा २१ लाखको लगानीमा मन्दिरसम्म पुग्ने ३५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०६८/०६९ मा नगरपालिकाको पर्यटनतर्फबाट पाँच लाख र वडा कार्यालयको दुई लाख रुपैयाँ विनियोजित बजेटबाट कोत परिसरमा २१० मिटर घेराबार, २०० मिटर बाटो ढलान, पटांगिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएको ज्यामरुककोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

विसं १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ । ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायतका हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै पनि आकर्षणका रूपमा रहेका छन् ।

पूर्वाधार र प्रचारप्रसार अभावमा ओझेलमा रहेको ऐतिहासिकस्थलमा पछिल्लो समय वडा कार्यालयले देखाएको सक्रियता प्रशंसनीय रहेको मोना हङकङका निवर्तमान अध्यक्ष इन्द्र एलजी थापामगरले बताउनुभयो । ऐतिहासिक ज्यामरुककोटलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गरी गलेश्वर र पञ्चकोटसँग जोड्ने पदमार्ग निर्माण गर्ने योजनासहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

पुरातात्विक र ऐतिहासिक महत्वको ज्यामरुककोटबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत दर्जनौं हिमाल, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौं ग्रामीण बस्ती देख्न सकिने व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । पुरातात्विक सम्पदाहरूको संरक्षणसहित धार्मिक पर्यटकीयस्थलको पूर्वाधार र प्रचारप्रसार गर्न नगरपालिका, वडा र स्थानीयवासीले सक्रियता देखाउन सके यो क्षेत्र पुरातात्विक महत्वसहितको रमणीय पर्यटकीयस्थल बन्न सक्ने नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका सल्लाहकार धु्रवसागर शर्माको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?