फुटबलको मुख्य प्रशिक्षकमा कटुवाल

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त हुनुभएको छ । पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ मुख्य प्रशिक्षकमा कटुवाललाई नियुक्त गरेको हो । नेपालले पाकिस्तानविरुद्ध कात्तिक ३० गते मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेलका लागि शहीद स्मारक ‘ए’ डिभिजन लिगको लगातार पछिल्ला दुई संस्करण च्याम्पियन टोली मच्छिन्द्र क्लबका प्रशिक्षक कटुवाललाई एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त हुनुभएका प्रवेश कटुवालले पाएको अवसरलाई राम्रोसँग पूरा गर्ने बताउनुभएको छ । प्रशिक्षक नियुक्त भएपछि कटुवालले आफ्ना लागि अवसरसँगै चुनौती भएको भन्दै राम्रो गर्ने प्रतिक्रिया दिनुभयो । ‘मलाई थाहा छ, राष्ट्रिय टोली एक चुनौतीपूर्ण काम हो र समयको कमीका कारण पाकिस्तानविरुद्ध खेल्न पनि गाह्रो हुनेछ तर यो त्यस्तो चिज हो जुन म मिस गर्न चाहन्न । म यो काममा अझ राम्रो गर्न चाहन्छु,’ कटुवालले भन्नुभयो ।

उहाँले पाकिस्तान लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किए पनि उसका खेलाडीहरूले नियमित खेलिरहेकाले नेपालका लागि चुनौतीपूर्ण हुने बताउनुभयो । ‘हामीलाई थाहा छ पाकिस्तान वर्षौंपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किरहेको छ तर तिनीहरूका खेलाडीहरू विदेशमा खेलिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘तिनीहरू बलियो टोली हो र हामी तिनीहरूलाई हराउन चाहन्छौँ ।’

तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीको नेतृत्व छोडेपछि एन्फाले गत असोज ११ गते बंगलादेशविरुद्ध भएको मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उक्त खेलमा नेपालले बंगलादेशलाई ३–० ले हराएको थियो ।

नेपालविरुद्धको खेलसँगै पाकिस्तानको पुरुष फुटबल टोली आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो । फिफाको प्रतिबन्ध हटेपछि पाकिस्तान फुटबलमा फर्केको हो । पाकिस्तान फुटबल संघ (पिएफएफ) ले दुई मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव गरे पनि एन्फाले मंसिर ४ को निर्वाचनका कारण एक खेलमात्र खेल्न सम्भव भएको जवाफ पठाएको थियो ।

पाकिस्तानविरुद्धको खेलका लागि एन्फाले ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षणमा डाकिएका खेलाडीहरूमा किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ, विकास खवास, विकास तामाङ, सेसेहाङ आङ्देम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभास लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ र देवेन्द्र तामाङ रहनुभएको छ ।

यस्तै, रञ्जित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ, सुरज जिउ ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, विमल घर्ती मगर, अञ्जन विष्ट, मनिष डाँगी, सुनिल बल, आशिष चौधरी, ऋतिक खड्का, आयुष घलान, संजोग राई र निशान खड्कालाई पनि प्रशिक्षणमा बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?