मार्पाक सामुदायिक क्लबको एम्बुलेन्स काठमाडौंमा अलपत्र

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । धादिङको नेत्रावती डबजोंग गाउँपालिकास्थित मार्पाक सामुदायिक क्लबको एम्बुलेन्स काठमाडौंमा अलपत्र अवस्थामा थन्किएको छ । क्लबको नाममा रहेको एम्बुलेन्स काठमाडौंमा बेवारिसे अवस्थामा थन्किएर बसेको हो । मार्पाक सामुदायिक क्लबले करिब १० वर्षअगाडिदेखि सञ्चालनमा ल्याएको एम्बुलेन्स करिब तीन वर्षमात्र सञ्चालनमा आएको र अहिले काठमाडौंको वनस्थलीमा थन्किएर बसेको क्लबका अध्यक्ष सुदीप अधिकारीले जानकारी दिनुभयो ।

हाल वनस्थलीको एक ग्यारेजमा थन्किएको उक्त एम्बुलेन्सका चारवटै टायर फेर्नुपर्ने अवस्था रहेको छ । उक्त एम्बुलेन्सलाई फुल सर्भिसिङ गरी आवश्यक मर्मतसम्भार पनि गर्नुपर्ने देखिएकाले करिब ७० हजारदेखि एक लाखसम्म खर्च हुने देखिएको छ । करिब सात वर्षसम्म एम्बुलेन्स थन्किनु र मर्मत नगर्नु के कारणले हो यो भने शंकाको विषय बनेको छ । समय छँदा किन मर्मत गरिएन भन्ने प्रश्न एकातिर उठेको छ भने अर्कातिर सात वर्षसम्म किन एम्बुलेन्स थन्काइयो ? क्लबले किन यसको निगरानी गरेन जस्ता प्रश्नले शंका पैदा भएको छ ।

कतै क्लबका जिम्मेवार व्यक्तिले त यसमा भ्रष्टाचार गरेको छैन, यो शंकाको विषय बनेको छ । यस विषयमा एम्बुलेन्स चालक कुविर अधिकारीसमक्ष बुझ्दा क्लबका अध्यक्षले तलब नदिएकाले आफूले एम्बुलेन्सको चाबी काठमाडौंको वनस्थलीमा उहाँलाई बुझाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मैले १८ महिनादेखि तलब पाइनँ, तलब नपाएपछि के काम गर्नु भनेर मैले चाबी बुझाएँ ।’

धादिङ जिल्लाभरि कार्यक्षेत्र रहेको उक्त क्लबमा हाल अध्यक्ष सुदीप अधिकारी, महासचिव अनिल अधिकारी र कोषाध्यक्ष अजय अधिकारीलगायत कुल १७ जनाको क्लब सञ्चालक कार्यसमिति रहेको छ । गाउँमा बिरामीहरूका लागि सहयोग तथा सेवा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ करिब तीन वर्षअगाडिदेखि एम्बुलेन्स सञ्चालनमा आएको थियो । जसमा एम्बुलेन्स सञ्चालन समिति र एम्बुलेन्स सञ्चालन सल्लाहकार समितिसमेत बनाइएको थियो । केही समय संस्थाले राम्रोसँग काम गरे पनि अहिले केही काम नभएको स्थानीय बताउँछन् । गाउँमा एम्बुलेन्स आएसँगै स्थानीयहरू हर्षितमात्र भएनन्, गाउँकै मुहार परिवर्तन भएको चर्चा गरेका थिए । तर, अहिले गाउँमा भएको एउटा एम्बुलेन्स पनि थन्किएर बस्दा गाउँ नै अँध्यारो जस्तो भएको छ ।

एम्बुलेन्स सञ्चालन समितिमा अध्यक्ष विष्णु अधिकारी, रवि अधिकारी महासचिव र उत्तम अधिकारी कोषाध्यक्षसहित १५ सदस्यीय समिति रहेको थियो । साथै यमबहादुर अधिकारी मुख्य सल्लाहकार रहने गरी सातजनाको सल्लाहकार समितिसमेत बनाइएको क्लबका अध्यक्ष अधिकारीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?