पिछडिएको माझी बस्तीमा भोट माग्न मात्रै पुग्छन् उम्मेदवार

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । जब निर्वाचन आउँछ, तब नेताहरू माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका-१ मा रहेको माझी बस्तीमा उम्मेदवार तथा नेताहरू अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन् । बिहान बेलुकाको छाक टार्न मुस्किल परिरहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आशा मात्रै देखाउँछन् । तर, काम गर्दैनन् ।

वि.सं. २०४८ सालमा बागलुङ-पोखरा राजमार्ग निर्माण गर्दा विस्थापित भएका माझी परिवार एक दशक बढी बाङ्गेचौर वरपर छाप्रो बनाएर बसे । त्यहीँ नै गुजारा चलाए । चार वर्ष अगाडि सरकारले नियरघाट नजिकै बस्ती निर्माण गरि उनीहरूलाई हस्तान्तरण ग¥यो । धेरैले घरसहित लालपुर्जा पाए पनि । तर, अझै केही परिवारले पाउन सकेका छैनन् ।

उनीहरूलाई सडक, खानेपानी, रोजगार लगायतका आश्वासन चुनावैपिच्छे आउँछन् तर काम कसैले गर्दैनन् । स्थानीय सोमबहादुर माझी भन्नुहुन्छ, ‘चुनावका बेला यो गर्दिन्छौँ, त्यो गर्दिन्छौँ भन्दै दिनदिनै नेताहरू आउनुहुन्छ, चुनाव जितेपछि एकपटक पनि हाम्रो बस्तीमा आउनु हुँदैन, काम पनि खास्सै केही गर्न सक्नुभएन, हाम्रो बस्तीमा धेरै समस्या छन् ।’

सोमबहादुरले चुनावका बेला सडक, खानेपानी र रोजगारको कुरा गरे पनि अहिलेसम्म कुनै पनि बाचाहरू पूरा गर्न नसकेको बताउनुभयो । वर्षौं बितिसक्दा पनि खानेपानीको व्यवस्थापन पूर्ण रूपमा हुन नसकेको भन्दै उहाँ सडकको अवस्था पनि उस्तै रहेको बताउनुहुन्छ । ‘चुनावका बेला भोट माग्न आउने सबैले सडक, खानेपानीको कुरा गर्नुहुन्छ, यहाँ पानी ल्याउने भनेको धेरै भयो अहिलेसम्म स्वच्छ खानेपानीको व्यवस्थापन हुन सकेको छैन, सुरुमा बाचा गर्ने चुनाव जितेपछि आफूहरू ठूलो नेता बन्ने हामीहरूका समस्या नचिन्ने, अब यस्ता नेतालाई भोट दिएर काम छैन, जसले हाम्रा समस्या समाधान गर्छ उसैलाई भोट दिने सोच बनाएको छु’ उहाँले भन्नुभयो ।

विस्थापित माझी परिवारलाई सरकारले १३ घर निर्माण गरी चार वर्ष अगाडि हस्तान्तरण गरेको थियो । उनीहरूले घर पाए पनि स्वास्थ्य, शिक्षा, रोजगार र खानेपानीको राम्रो व्यवस्था हुन नसकेको स्थानीय उमा माझीले बताउनुभयो । उहाँले पटक पटक आफूहरूले भोट दिए पनि माझी समुदायमा नेताहरू कम पुगेको गुनासो गर्नुभयो । ‘हामीहरू समस्यामा हुँदा पनि नेताले हाम्रो लागि काम गर्लान् भनेर भोट दिएर जिताइयो तर हेरेनन्, केही काम गर्न त थाले तर सम्पन्न गर्न सकेका छैनन् । खानेपानी, सडकको समस्या त समाधान गर्ने भनेर काम थाले तर अहिले जस्ताको तस्तै छ,’ उमाले भन्नुभयो, ‘भोट माग्न आउने बेलामा काम गर्छौँ भनेर भन्छन्, विश्वास लाग्छ तर काम गर्दैनन्, अहिले आएर हामीहरूलाई झुक्याउन खोजेको जस्तो लाग्न थाल्यो ।’

माझी समुदायको नेताहरूसँग ठूलो अपेक्षा छैन । उनीहरूले आफूहरूका लागि रोजगार सिर्जना गरिदिए पुग्ने बताउँछन् । उमा भन्नुहुन्छ, ‘भएभरको घर सम्पत्ति सडकले खाइदियो, सरकारले यत्ति घर मात्रै बनाइदिएको हो, घर मात्रै भएर नहुने, गरिखाने ठाउँ छैन, सरकारले कि गरिखाने ठाउँ, कि काम गर्ने ठाउँको व्यवस्था गरिदिए हुन्थ्यो, नेताहरूले भोट माग्ने बेला रोजगारको व्यवस्था हामी गर्छौँ भनेर भने तर अहिलेसम्म कुनै जागिर दिन सकेनन्, केही काम पाए पनि परिवार पाल्न सजिलो हुन्थ्यो ।

स्थानीय चन्द्रकला माझीले नेताहरूको नजर माझी बस्तीमा पुग्न नसक्दा आफूहरूको समस्या ज्युँका त्युँ रहेको बताउनुभयो । उहाँले आफूहरूको मतले नेताहरू ठूलो पदमा पुगेर पनि काम नगरेको गुनासो गर्नुभयो । माझीले नेताहरू चुनावका बेला मात्रै आउने गरेको भन्दै समस्या परेर सहयोग माग्दासमेत नसुन्ने गरेको बताउनुभयो । ‘आजभोलि खुब नेताहरू भोट माग्न आइरहेका छन्, जितेर गए भने अर्को चुनाव नआउँदासम्म यहाँ आउँदैनन्, हाम्रो भोटले उनीहरू ठूलो पदमा पुग्छन्, त्यहाँ पुगेपछि हामीहरूलाई भुल्ने हाम्रा समस्या नदेख्दा रैछन्’ उहाँले भन्नुभयो, ‘भ्रम मात्रै छर्दा रैछन्, काम गर्दा रैनछन्, अब त भोट पनि नदिऊँ कि जस्तो लाग्न थालिसक्यो ।’

सडक निर्माण गर्दा विस्थापित बनेकामध्ये १३ परिवारको सरकारले घर निर्माण गरेर हस्तान्तरण गरे पनि तीन परिवारले अझै लालपुर्जा पाउन नसकेको उनीहरूको भनाइ छ । अहिलेसम्म गमसिंह माझी, रामबहादुर माझी र यमबहादुर माझीले लालपुर्जा पाएका छैनन् । विभिन्न प्रक्रिया नपुग्दा आफूहरूले अहिलेसम्म लालपुर्जा पाउन नसकेको यमबहादुर माझीको भनाइ छ । आफूहरूलाई छिट्टै लालपुर्जा दिने आश्वासन दिएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?