आर्मीको सेमिफाइनल सम्भावना बलियो

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल आर्मी क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । गण्डकी प्रदेशलाई ६९ रनले पराजित गर्दै आर्मीले सेमिफाइनल सम्भावना बलियो बनाएको हो । समूह ‘ए’ बाट आर्मी तीन खेलमा चार अंकका साथ तेस्रो स्थानमा छ । आर्मीले अन्तिम खेलमा मंगलबार कर्णालीसँग खेल्नेछ । उक्त खेलमा विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । कर्णाली विजयी हुँदा गण्डकी सेमिफाइनलमा पुग्नेछ ।

जितका लागि १६६ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ३३.२ ओभरमा ९६ रनमा अल आउट भयो । गण्डकीका लागि ओपनर समिर कँडेलले ९२ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाउनुभयो । अर्जुन कुमालले ४३ बलमा २ चौकासहित १४ रन बनाउनुभयो । पहिलो विकेटका लागि अर्जुन र समिरले १६ ओभरमा ४१ रनको सुरुवात दिलाउनुभएको थियो । अभिषेक बस्नेत एक, विधान श्रेष्ठ र सन्देश बस्नेत शून्यमा आउट हुनुभयो । अमृत गुरुङ ५, सुवास भण्डारी ३, कप्तान विपिन खत्री १९, कमल परियार, सन्दीप क्षेत्री र चन्द्रकान्त पौडेलले खाता खोल्न सक्नुभएन । आर्मीका सुशन भारीले ९ ओभरमा २ मेडनसहित १४ रन खर्चेर ५ विकेट लिनुभयो । कुशल मल्लले ७ ओभरमा १ मेडनसहित २८ रन खर्चेर २ विकेट लिनुभयो । साहब आलमले ७.२ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिनुभयो ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मी ४७.४ ओभरमा १६५ रनमा अल आउट भयो । आर्मीका कप्तान विनोद भण्डारीले ७९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५४ रन बनाउनुभयो ।
आर्मीलाई सातौँ विकेटका लागि विनोद भण्डारी र भीम सार्कीले ७९ रनको साझेदारी गर्दै सुरक्षित योगफलमा पु¥याउनुभएको छ । रन आउट हुनुअघि भीमले ४५ बलमा ३ चौका र १ छक्कासहित ३९ रन बनाउनुभयो ।

ओपनर अनिल मण्डल २६ र अर्जुन साउद १३ रनमा आउट हुनुभयो । हरि चौहान ६, रोहित पौडेल ४ र कुशल मल्ल शून्यमा आउट हुनुभयो ।
गण्डकीका विपिन खत्रीले १० ओभरमा २ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिनुभयो । कमल परियारले २ विकेट लिनुभयो । अमृत गुरुङ, चन्द्रकान्त पौडेल र सुवास भण्डारीले एक÷एक विकेट लिनुभयो ।

प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी कुल १० टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश १ रहेका छन् ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रधानमन्त्री कपको विजेताले १० लाख र उपविजेता टोलीले पाँच लाख पाउनेछन् । सेमिफाइनलमा पुग्ने टोलीले ५०-५० हजार पाउनेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउनेछन् । प्रतियोगिताको उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् । प्लेयर अफ द म्याचले पाँच हजार पाउनेछन् । प्रतियोगिताको अनुमानित कुल बजेट एक करोड ५० लाख छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६० लाख सहयोग गर्नेछ भने बाँकी रकम क्यानले जुटाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?