आज साँझ खग्रास चन्द्रग्रहण लाग्दै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आज (मंगलबार) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आज साँझ ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्र ग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गमा’ मा उल्लेख छ ।

साँझ ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिनेछ । साँझ ०५ः२७ बजे ग्रहणको उन्मिलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी गराउनुभयो । साँझ ०६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ । चन्द्र ग्रहणको नौ घण्टा अघिदेखि सूतक लाग्ने बताइएको छ ।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । समितिका अनुसार यो ग्रहणले मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ र कर्कट राशिलाई सुख फल दिनेछ । यस्तै, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट, तुला राशिलाई स्त्रीपीडा र वृश्चिक राशिलाई सुख फल मिल्नेछ । धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि समितिद्वारा मान्यता प्राप्त पात्रोमा उल्लेख छ ।

यसअघि ८ कात्तिक मंगलबार कात्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लागेको छ ।

एउटा ग्रह वा ग्रहबिम्बको छायाले अर्को बिम्बलाई छेक्ने अवस्थालाई ग्रहण भनिन्छ । चन्द्रबिम्बले सूर्यको प्रकाशलाई छेक्दा सूर्यग्रहण र पृथ्वीको छायाले चन्द्रमालाई छेकेको अवस्थामा चन्द्रग्रहण हुन्छ । सूर्यग्रहण औँसी तिथिका दिन र चन्द्रग्रहण पूर्णिमा तिथिका दिन मात्र सम्भव रहन्छ । सबै औँसी र पूर्णिमामा पनि ग्रहण लाग्दैनन् । किनकि पृथ्वी, सूर्य र चन्द्रमा एक सरल रेखामा पर्नुपर्छ र कोणीय अन्तर पनि शून्य हुनुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?