मलाई चुनावी प्रचार गर्न दिइएन : ढकाल

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 4 mins

टेकराज अवस्थी/हिटा
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिनुभएका सागर ढकालले आफूलाई चुनाव प्रचार-प्रसार गर्न नदिइएको आरोप लगाउनुभएको छ । उहाँले सोमबार सामाजिक सञ्जालमा लेख्दै आफूलाई चुनाव प्रचार गर्न नदिइएको बताउनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन उल्लंघन गर्दा प्रशासनले आँखा चिम्लिएको तर, आफूलाई भने चुनावी प्रचारको लागि माइकिङ गर्नसमेत नदिएको उहाँको भनाइ छ । उहाँले लेख्नुभएको छ, ‘मलाई जोगाइदिनुहोस्- जनता गुहार्नुबाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ । मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ ।’

हर्क साम्पाङजस्तै माइकिङ गर्न खोज्दा प्रशासनले नदिएको भन्दै उहाँले भन्नुभएको छ । ‘शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन । मलाई रोकेको छ ।’

ढकालले यसपटक देउवालाई स-सम्मान बिदा गर्न भन्दै आफूले उहाँविरुद्ध उम्मेदवारी दिएको बताउँदै आउनुभएको छ । पछिल्लो समय उहाँ डडेल्धुरामा घरघर पुगेर भोट मागिरहनु भएको थियो । मतदाताले आफूलाई भव्य स्वागत गरेको र आफूले जित्ने उहाँले बताउँदै आउनुभएको छ । देउवालाई हराउन मैदानमा उत्रिनुभएका ढकाल देउवा डडेल्धुरा पुग्दा स्वागतमा फूलमाला लिएर लाइनमा बसेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

पाँच वर्षअघि बिबिसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री देउवालाई गरेको प्रश्नबाट चर्चामा आउनुभएका ढकाल सरकारले आमनिर्वाचन घोषणा गरेलगत्तै डडेल्धुरा पुग्नुभएको थियो । ‘बेलायतका प्रधानमन्त्रीहरू अक्सफोर्ड विश्वविद्यालय पढेका छन् । सिंगापुर, चीन, अमेरिकामा पनि उत्कृष्ट विद्यार्थी मात्र प्रधानमन्त्री बन्छन् । नेपालमा विगत ७० वर्षदेखि खै त हामीले त्यस्तो प्रधानमन्त्री पाएको ?’, पाँच वर्षअघि देउवालाई सोधेको यही प्रश्नले ढकालले चर्चा पाउनुभएको थियो । ढकालले पुलचोक इञ्जिनियरिङ कलेजबाट स्नातक र अक्सफोर्ड विश्वविद्यालयबाट मास्टर्स गर्नुभएको छ । डडेल्धुरा देउवाविरुद्ध कांग्रेस बिपीबाट कर्ण मल्लले पनि उम्मेदवारी दिनुभएको छ ।

यसो भन्छ प्रशासन
ढकालले सामाजिक सञ्जालमार्फत आफूलाई रोक लगाएको भन्दै प्रचार गरे पनि जिल्ला प्रशासनले भने कुनै उम्मेदवारलाई रोक नलगाइएको बताएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख मोहन जोशीले भन्नुभयो, ‘जिल्ला प्रशासन र इलाका प्रशासनले कुनै पनि राजनीतिक दलका कुनै पनि उम्मेदवारलाई निर्वाचन आचारसंहिताको पालना हुने गरी गरिएका कुनै पनि कार्यक्रमलाई रोक लगाइएको छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?