प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता चुनावी सभाका लागि बैतडी आउँदै

Read Time = 3 mins

बैतडी ।सत्ता गठबन्धनका शीर्ष नेताहरु बुधबार बैतडी आउने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता बैतडी आउने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले जानकारी दिनुभयो ।

कार्तिक २३ गते दिउँसो १ जिल्लाको पाटनमा चुनावी आम सभाको आयोजना गरिएको र उक्त सभामा देउवा प्रचण्ड र नेपालले सम्बोधन गर्ने उहाँले बताउनुभयो ।

सोही दिन दुवै नेताले दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवा , पुर्व प्रधानमन्त्री प्रचण्ड र नेपालले कार्तिक २३ गते बिहान ११ बजे दार्चुलामा हुने चुनावी सभालाई सम्बोधन गर्ने र दिउँसो १ बजे बैतडीको पाटन आयोजना गरिएको लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेस बैतडीका सचिव प्रेम बहादुर चन्दले बताउनुभयो ।

प्रधानमन्त्री र दुई पुर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने चुनावी आम सभामा तयारी पुरा भएको जानकारी दिँदै जिल्ला संयोजक भण्डारीले १५ हजार नेता कार्यकर्ता उतार्ने दावी गर्नुभयो ।

बैतडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी संयुक्त रुपमा गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् । गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा छन् भने प्रदेश सभा (क) मा नेपाली कांग्रेसका बीरबहादुर बिष्ट र प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा रहेका छन् ।
कार्तिक १८ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बैतडीको पाटनमा चुनावी सभालाई सम्बोधन गरेका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?