रवि लामिछानेको सत्तायात्रा

पार्टी गठन गरेको ६ महिनामै सरकारको शक्तिशाली मन्त्री

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । पार्टी गठन गरेको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सरकारको शक्तिशाली मन्त्री बन्नुभएको छ । लामिछाने सोमबार उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँले सोमबार नै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभयो । गृह मन्त्रालयलाई सरकारको शक्तिशाली मन्त्रालय मध्येको एक मानिन्छ । लामिछानेले गत असारमा आफ्नो सञ्चारकर्मलाई पूर्णविराम लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुभएको थियो । चुनावअघि गठन भएको रास्वपाले गत निर्वाचनमा उल्लेख्य सिट जितेको थियो । प्रदेशसभा निर्वाचनमा भाग नलिएको रास्वपाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षमा सात र समानुपातिकमा १३ गरी २० सिट जितेको छ । लामिछाने गत निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो ।

प्रतिनिधिसभामा चौथो दलका रूपमा रहेको रास्वपाले आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । नेकपा एमालेसमेत सामेल गठबन्धनमा माओवादी र रास्वपासहित राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । सञ्चारकर्ममा रहँदा लामिछाने चर्चा र उत्तिकै विवादमा समेत तानिनुभयो । सिधा कुरा जनतासँग कार्यक्रमबाट चर्चा बटुल्नुभएका लामिछानेले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दामा केही दिन हिरासतमा समेत बस्नुपरेको थियो । उहाँ ११ दिनको हिरासतपछि धरौटीमा रिहा हुनुभएको थियो । सो मुद्दामा अदालतबाट लामिछानेले सफाइ पाइसक्नु भएको छ ।

भ्रष्टाचारको विषयमा छानबिन गर्न आयोग बनाउने सहमतिपछि सरकारमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद देखिएको छ । सरकारमा जाने निर्णय उपयुक्त नभएको भन्दै एक केन्द्रीय सदस्यले असन्तुष्टि जनाउनुभएको छ । सभापति रवि लामिछानेको नेतृत्वमा पार्टी सरकारमा सामेल भएपछि केन्द्रीय सदस्य गणेश कार्कीले असन्तुष्टि जनाउनुभएको हो । उहाँले पार्टी केन्द्रीय कार्यालयमा असहमति पत्र नै बुझाउनुभएको छ । स्वार्थका लागि जोसँग पनि मिल्ने र छुट्टिने प्रवृत्तिलाई हतारमा समर्थन गर्नु उपयुक्त नहुने उहाँको सुझाव छ । ‘सत्ता स्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर जुन जोगी आए पनि कानै चिरेको भनेर आमनागरिकहरूको निराश मनस्थितिमा हामी अलग छौँ, अलग रहनेछौँ र अलग गर्नेछौँ भनेर मत मागेका थियौँ,’ असहमति पत्रमा कार्कीले भन्नुभएको छ, ‘चुनावको परिणाम आउँदै गर्दा हतार हतारमा हामी पनि उनीहरू जस्तै छौँ भन्न आफ्नै कान किन आफैँले चिर्न थाल्यौँ ?’ आफूहरूले वाचापत्रमै लेखेका मुद्दाहरू अब के हुन्छन् भन्दै उहाँले प्रश्नसमेत गर्नुभएको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरू सरकारमा सहभागी भएको बताउनुभएको छ । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने साझा सहमति भएपछि आफूहरू सरकारमा सहभागी भएको बताउनुभयो । यस विषयमा सत्तारूढ सबै पार्टीहरू सहमत भएको उहाँको भनाइ छ । विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार दिने, नयाँ व्यवसायीहरूका लागि विशेष कार्यक्रम ल्याउने लगायतको विषयमा साझा सहमति बनेको उहाँले बताउनुभयो ।

नागरिकता र पासपोर्ट किर्ते आरोपको छानबिन अब के हुन्छ ?
अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेस गरेर नेपाली राहदानी बनाएको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा नियुक्त हुनुभएको छ । लामिछानेको नागरिकता विवादको विषयमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौं हुँदै प्रहरी परिसर काठमाडौं पुगेको उजुरी प्राप्त भएसँगै प्रहरीले अनुसन्धान थालेको छ । मंसिर ६ गते गृह मन्त्रालयमा छानबिन गरी कानुनअनुसार कारबाही गर्न माग गर्दै लामिछानेविरुद्ध उजुरी परेको थियो । उजुरीमा लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः लिएको नदेखिएको र पहिलाकै नागरिकता देखाएर दल दर्ता गरेर निर्वाचन आयोगलाई समेत गुमराहमा राखेको आरोप छ । उजुरीमा लामिछानेलाई तत्काल पक्राउ गरी कानुनअनुसार हदैसम्मको कारबाही गर्न माग गरिएको छ । फौजदारी मुद्दा आकर्षित हुने विषयमा अनुसन्धान भइरहे पनि लामिछाने उपप्रधानसहित गृहमन्त्री भएपछि अब छानबिन कसरी अगाडि बढ्छ भन्ने धेरैको चासो विषय छ । उपप्रधानमन्त्री लामिछानेले भने आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउनुभएको छ । स्वतन्त्र भएर अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो ।

‘मन्त्रिपरिषद्मा पनि हामी प्रतिपक्षीको भूमिकामा हुन्छौँ’
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले क्याबिनेटभित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछानेले सोमबार अपराह्न सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै क्याबिनेटमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी नै आफ्नो पार्टी सरकारका सहभागी भएको स्पष्ट पार्नुभयो । विगतमा आफूहरूले जनताको पक्षमा खबरदारी गर्दै आएको र त्यसलाई सरकार तथा संसद्मा गएर पनि निरन्तरता दिने उहाँको भनाइ थियो । जनताको पक्षमा आफूहरूले गरेको बाचा पूरा गर्ने गरी केही दिनमै सत्तारूढ दलहरूको तर्फबाट सामूहिक प्रतिबद्धता सार्वजनिक गर्ने घोषणासमेत गर्नुभयो । ‘हामी यसअघि पनि खबरदारी गर्ने काममा नै थियौँ । संसद् र क्याबिनेटभित्र पनि एउटा प्रतिपक्षको आवश्यकता पर्दछ,’ उहाँले भन्नुभयो, ‘सरकारमा भएका साथीहरूबाट पनि कहीँ कतै आम जनताको पीरमर्का नबुझ्ने अथवा त्यहाँ कुनै गलत काम हुन्छ कि भनेर प्रतिपक्षको भूमिका रहन्छ । हाम्रो भूमिका त्यहाँभित्र पनि एउटा प्रतिपक्षको भूमिका हुन्छ । क्याबिनेटमा जसले जे निर्णय गरेँ, त्यसमा हो मा हो भन्न हामी सरकारमा सहभागी भएका होइनौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?