‘बिआरआईले नेपाललाई हानि गर्दैन’

Read Time = 5 mins

काठमाडौं । नेपालले सबै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्दै गरिबी निवारण र विकास निर्माणमा चीनबाट बढीभन्दा बढी फाइदा लिनुपर्ने विज्ञहरूले बताएका छन् । गरिबी निवारणमा विश्वमै चीन एक नम्बरमा रहेको र चीनले गरिबी निवारण तथा विकास निर्माणमा गरेको प्रगतिले विश्वलाई चकित पारेको उनीहरूको भनाइ छ । चिनियाँ कम्युनिस्ट पार्टीको हालै सम्पन्न २०औँ महाधिवेशनका अवसरमा नेपाल‐चीन मैत्री मञ्चद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गरिबी निवारणमा चीनले अभूतपूर्व प्रगति गरेको उल्लेख गर्दै चीनले गरिबी निवारणमा गरेको प्रगति अध्ययन, अनुसन्धान गरी नेपालले पनि सोहीअनुसारको काम गर्न सक्नुपर्ने बताउनुभयो ।

अर्थ राजनीतिलाई चीनले फरक ढंगले अघि बढाइरहेको बताउँदै रेग्मीले कृषिमा पनि चीनले उत्कृष्ट काम गर्दै कृषिमा आधुनिकीकरण र बजारीकरणले विश्वमै नमुना बनेको बताउनुभयो । चीनको यातायात सञ्जाल, प्रविधिलगायतलाई पनि नेपालले अवलम्बन गर्न सक्नुपर्ने उहाँको भनाइ छ । चीन र नेपालबीच सन् १९५५ देखि औपचारिक सम्बन्ध भए पनि अनौपचारिक सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै रेग्मीले अरनिको कला र सीपलाई लिएर नेपाल–चीनबीच सम्बन्ध झन् बलियो हुँदै गएको बताउनुभयो ।

वाम विश्लेषक श्याम श्रेष्ठले चीनले आर्थिकरूपमा विकास गर्दै अमेरिकालाई पनि पछाडि पारेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चीनको अवस्था हेर्दा त्यहाँ गरिबी निवारण गर्ने अवस्था थिएन तर छोटो समयमै त्यहाँको गरिबीलाई करिब-करिब शून्यमा झारेको छ । चीनले ९५ प्रतिशतलाई स्वास्थ्य बीमा गराएका कारण विश्व आश्चर्यचकित छ ।’ चीनको शान्त, भद्र र अहस्तक्षेपकारी विदेश नीति नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाकवच भएको उहाँको भनाइ छ । चीनले अघि सारेको बिआरआई परियोजनाले नेपाललाई कुनै हानि नगर्ने जिकिर गर्दै श्रेष्ठले बिआरआईलाई अमेरिकाले विवादास्पद बनाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘चीनको विकासबाट पश्चिमाहरू तर्सिए जसरी नेपाल तर्सिनुहुँदैन । चीन र अमेरिकाबीचको प्रतिस्पर्धाबाट जोगिएर नेपालले शान्त र सन्तुलित परराष्ट्र नीति अख्तियार गरेर चीनबाट फाइदा लिन सकिन्छ । चीन जति विकसित हुन्छ, नेपाललाई त्यसबाट त्यति फाइदा हुन्छ, चीनले अघि सारेको बिआरआईबाट नेपालले भरपुर फाइदा लिनुपर्छ ।’ अर्का वाम विश्लेषक झलक सुवेदीले पनि चीनले अघि सारेको ‘साझा समृद्धि’ को अवधारणाबाट नेपालले फाइदा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपति सी जिङ पिङले चीनमा समतामूलक समाज बनाउने अभियान चलाएका छन्, त्यो अभियान महाधिवेशनपछि झन् सशक्त हुनेछ ।’

काठमाडौं विश्वविद्यालयका डा. उद्धव प्याकुरेलले विश्वले नै चीनको विकास मोडलको अनुशरण गर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चीनले गरेको विकासका कारण त्यो देश पुँजीवादमा फस्ने हो कि पश्चिमाको आँकलन थियो तर उल्टो भयो, चीनको विकास समाजवादतर्फ अघि बढेको छ ।’ नेपाल खुला विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्र प्रसाईंले चीनले अघि सारेको परियोजनाबाट नेपालले फाइदा लिन सक्यो भने त्यो सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले चुनावमा दुई तिहाइ बहुमत ल्याउन सक्ने दाबी गर्नुभयो । तथापि चीन र अमेरिकाबीचको शत्रुता सम्बन्धबाट नेपाल अलग रहनुपर्ने उहाँको भनाइ छ । कार्यक्रम मञ्चका अध्यक्ष कल्याणराज शर्माको अध्यक्षतामा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?