जुम्लाका सबै स्थानीय तहमा नमुना मतदान

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको एक नगरपालिका सहित सात गाउँपालिका गरि आठवटै स्थानीय तहमा मतदाता शिक्षाका लागि नमूना मतदान कार्यक्रम गरिएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर नमूना मतदान कार्यक्रम संचालन भएको निर्वाचन कार्यालय जुम्लाका सुचना अधिकारी अविनन्द चौलागाईले बताउनुभयो ।

जिल्लाका आठवटै स्थानीय तहमा मतदाताहरूलाई मतदान गर्ने तरिका, बदर मत घटाउनका लागि जिल्ला निर्वाचन कार्यालयले नमूना मतदान कार्यक्रम सम्पन्न गरेको छ । “जिल्लाका सबै वडाहरूमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ”, सूचना अधिकारी चौलागाईले भन्नुभयो, “नमूना मतदानले मतदाता शिक्षा तथा बदर मत घटाउन सहयोग गर्छ ।” मतदाताले मतदान गर्न जाँदा मतपेटिका तथा अन्य गतिविधिबारे सहज ढङ्गले पूर्वजानकारी दिनका लागि नमूना मतदानको कार्यक्रम सञ्चालन गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालयले आईतबार १०४ जनाले चन्दननाथ नगरपालिकामा गरेको नमुना मतदानमा ९१ मत सदर र १३ मत बदर भएको थियो । त्यस्तै सिंजा गाउँपालिकामा ३६ जनाले नमुना मतदान गरेकामा आठ मत बदर र २८ मत सदर भएको छ । कनकासुन्दरीमा ४८ जनाले मतदान गरेकामा १२ मत बदर र ३६ मत सदर भएको छ । ३८ जनाले पातारासीमा गरेको नमुना मतदानमा २४ मत सदर र १४ मत बदर भएको निर्वाचन कार्यालय जुम्लाका सुचना अधिकारी चौलागाईले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको हिमा गाउँपालिकामा ४२ जनाले गरेको नमुना मतदानमा ३० मत सदर र १२ मत बदर भएको छ । तातोपानीमा ५९ जनाले गरेकोमा ५० मत सदर र ९ मत बदर भएको छ र तिलामा ७२ जनाले गरेकोमा ५४ मत सदर र १८ मत बदर भएको र गुठिचौर गाउँपालिकामा ७२ जनाले गरेकोमा ६० मत सदर र १२ मत बदर भएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

स्थानीय तहमा भएको नमुना मतदानको बदर मतपत्र केलाएर हेर्दा छाप लगाएर मतपत्र पट्याउन नजानेको, दुई कोठामा छाप लगाएको र दुई चिह्नमा छाप लगाएको देखिएको निर्वाचन कार्यालयले जनाएको छ । नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ । जिल्लाका सबै वडामा मतदाता शिक्षा सञ्चालन भएको र नमूना मतदानबाट पनि मतदानका विषयमा जानकारी दिने लक्ष्य लिइएको निर्वाचन कार्यालयका प्रमुख महेश शर्र्माले जानकारी दिनुभयो ।

जिल्लाभर कुल एक सय छ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुई अस्थायी मतदानस्थल कायम गरिएको छ । जिल्लामा कुल ६८ हजार छ सय ३८ मतदाता छन । प्रदेशसभा निर्वाचन (क) मा ३६ हजार ७८३ र प्रदेशसभा (ख) मा ३१ हजार ८५५ मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदै छ ।

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?