केपी ओलीलाई प्रधानमन्त्री बनाउन दीपक बोहरालाई जिताउनुपर्छ : निरञ्जन थापा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 10 mins

रुपन्देही । राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले राष्ट्रवादी नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउन दीपक बोहरालाई जिताउनुपर्ने बताउनु भयो । उहाँले संसद्मा ओलीलाई प्रधानमन्त्री बनाउन राप्रपाले मतदान गर्ने भएकोले प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नम्बर ३ बाट बोहरालाई जिताउनुपर्नेमा बताउनु भएको हो ।

नेकपा एमाले, राप्रपा, जसपा नेपालको सामाजिक संघ–संस्थासँग भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै नेता थापाले पाँच वर्षसम्म स्थिर सरकार चलाउन तीनदलीय तालमेलका उम्मेदवारलाई जिताउनुपर्ने बताउनु भयो।

संयुक्त निर्वाचन परिचालन प्रचारप्रसार समिति क्षेत्र नम्बर ३ (१), रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भन्नुभयो ‘तीनदलबाट प्रधानमन्त्रीको उम्मेदवार केपी ओली हुनुहुन्छ तर पाँचदलीय गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार को हो थाहा छैन, आलोपालो प्रधानमन्त्रीको कुरा आइरहेको छ तर जनतालाई स्थिर सरकार आवश्यक छ ।’ उहाले वर्तमान गठबन्धन सरकारले सत्ताको दुरुपयोग गरिरहेको वताउनु भयो ।

उहाँले भन्नुभयोे, ‘प्रहरी प्रशासन सबैको हो, प्रहरी प्रशासन कुनै एउटा पार्टी, व्यक्तिको हुँदैन । ’राज्यले सामाजिक संघ–संस्थालाई सहयोग र संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो । विकासप्रेमी नेता तथा राप्रपा वरिष्ठ नेता दीपक बोहरा जनताको हृदयमा बस्न सफल नेता भएको उहाको भनाई छ ।

त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले आफूलाई एकपटक अवसर दिन आग्रह गर्नु भएको छ । उहाले जनताले आफूलाई एकपटक अवसर दिए काम गरेर देखाउने दावी गर्नु भयो । नेता यादवले आफूले अहिलेसम्म अवसर नपाए पनि निरन्तर जनताको पक्षमा काम गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म आग्रह गर्न चाहन्छु, एकपटक मलाई अवसर दिनुस्, एकआपसमा मिलेर यस क्षेत्रको विकासका लागि अघि बढौं ।’ उहाँले यस क्षेत्रको विकासका लागि आफूले काम गर्न नसके पुनः उम्मेदवारी नदिने र भोट माग्न पनि नआउने बताउनु भयो । जसपाका केन्द्रीय सदस्य समेत रहेका नेता यादवले आदर्शको राजनीति गर्नुपर्ने बताउनु भयो । झुटो आश्वासन दिएर काम नगर्ने नेताहरुको पहिचान गर्ने बेला आएको उहाँको भनाइ थियो । उहाँले आफूसहित प्रतिनिधिसभा सदस्यमा विकासप्रेमी नेता दीपक बोहरा, प्रदेशसभा सदस्य ३ (२) मा तुल्सी प्रसाद चौधरीलाई अत्याधिक मतले जिताउन आग्रह गर्नु भयोे ।

राप्रपा केन्द्रीय सुशासन विभागका सदस्य सिए शिवहरि शर्माले राज्यलाई कर तिरेपछि राज्यबाट समान सेवा सुविधा राज्यबाट पाउनुपर्ने बताउनु भयो ।
इनरह्वील क्लब अफ लुम्बिनीकी निवर्तमान अध्यक्ष मीना नेपाल पन्थीले युवालाई विदेश जानबाट रोकी स्वदेशमै रोजगारको सिर्जना गर्नुपर्ने बताउनु भयो । उहाँले यस क्षेत्रको पर्यटनको विकासमा ध्यान दिन उम्मेदवारहरुलाई आग्रह गर्नु भयो । उहाँले भन्नुभयो्, ‘लुम्बिनीका होटल पूर्ण रुपमा सञ्चालनमा ल्याउन यहाँहरुले भूमिका निर्वाह गर्नुहोस्, मैले आग्रह गर्न चाहन्छु ।’

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष श्री रायमाझीले अर्घाखाँचीमा आफू अध्ययन गर्दा त्यहाँ पनि दीपक बोहराको चर्चा सुनेको वताउनु भयो उहाँले, ‘धेरै वर्षदेखि दीपक बोहराको नाम सुन्दै आएको छु, अझ यो मञ्चमा बोहराजीको अगाडि बोल्न पाउँदा गर्वको अनुभुति भएको छ । ’ अहिले टोलटोल गाउँघरमा दीपक बोहरा, महेन्द्र यादव र तुल्सी प्रसाद चौधरीलाई जिताउने चर्चा चलिरहेको उहाँको भनाइ छ ।
राप्रपा केन्द्रीय सदस्य स्वाती थापाको अध्यक्षता, शिवहरि शर्माको स्वागत तथा एमाले नेता उमेश थापा लाटोमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

रुपन्देही–३ : राप्रपामा प्रवेश गर्नेको संख्या बढ्दै
रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं राप्रपाका वरिष्ठ नेता दीपक बोहरालाई जिताउनुपर्छ भन्दै युवाहरु प्रवेश गरिरहेको पार्टीले जनाएको छ ।

यसैबीच शनिबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित कर्णपथमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी नेता कार्यकर्ता तथा स्थानीय राप्रपामा प्रवेश गरेका छन् । उनीहरुलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्वमन्त्री दीपक बोहराले पार्टीमा स्वागत गर्नु भएको थियो ।

त्यस्तै शनिबार सिद्धार्थनगर नगरपालिका–६ स्थित दुर्गा कलोनीमा आयोजित कार्यक्रममा ५० जना बढी राप्रपामा प्रवेश गरेका थिए । त्यसै गरी सिद्धार्थनगर नगरपालिका–३ खजहनामा आयोजित कार्यक्रममा सयौं संख्यामा युवाहरु राप्रपामा प्रवेश गरेका थिए ।

बिहीबार रुपन्देही क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार नवाब मुसलमान आफ्ना ३ सय जना समर्थकसहित राप्रपामा प्रवेश गर्नुभएको थियो । दीपक बोहरालाई समर्थन गर्दै उहाँ राप्रपामा प्रवेश गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘म पनि चुनावी मैदानमा थिएँ, तर घरदैलोमा जाँदा, बुझ्दै जाँदा दीपक बोहरा जत्तिको राम्रो र विकासप्रेमी नेता कोही छैन भन्ने महसुस गरेँ । दीपक बोहरालाई जिताउन लागेको थाहाँ पाएँ, अनि सोचे जसले जित्दैछ त्यसलाई सहयोग गर्नुपर्छ, त्यसैले राप्रपामा प्रवेश गरेको हुँ । ’ विकासका लागि दीपक बोहरालाई अत्याधिक मतले जिताउनुपर्ने उहाँको भनाई थियो।

यसअघि नै ओमसतिया गाउँपालिका वडा नम्बर २ का निवर्तमान वडाअध्यक्ष ज्ञानेश श्रेष्ठ, लुम्बिनी निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष सुन्दर गुप्ता लगायत विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशकी पूर्वमन्त्री तथा लोसपा नेतृ कल्पना पाण्डे पार्टी परित्याग गरी तीन दलीय तालमेलका उम्मेदवारलाई समर्थन गर्नु भएको छ । एमाले, राप्रपा र जसपाकोतर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा, प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादव र तुल्सी चौधरीलाई जिताउन आफू लागिपरेको उहाले बताउनु भयो् । पूर्वमन्त्री पाण्डेले भन्नुभयो, ‘दीपक बोहरा रुपन्देहीलाई उज्यालो बनाउने दियो हो, विकासप्रेमी नेता बोहरालाई जिताउनु आजको आवश्यकता हो ।’

राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले राप्रपामा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको वताउनु भयो । उहाँले ‘राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको छ । ’ उहाँले वर्तमान गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न नसकेको दावी गर्नु भयो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?