गुल्मीमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

भण्डारीसँग ज्ञवाली भिड्दा झाँक्री र विष्टबीचको प्रतिष्पर्धा रोचक

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 6 mins

गुल्मी । यहि मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गुल्मीमा सत्ता गठबन्धन दल र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धन दलका साझा उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच निकै प्रतिस्पर्धा हुने देखिएको हो ।

सबै उम्मेदवारहरूले अहिले आफ्नो पक्षमा मत माग्न मतदातासँगको भेटलाई निकै नजिक बनाएका छन् । निर्वाचन क्षेत्र नं.– १ मा नेपाली कांग्रेसका प्रभावशाली नेता, संविधान सभा सदस्य डा. चन्द्र भण्डारी र नेकपा (एमाले) का केन्द्रीय उप–महासचिव प्रदीपकुमार ज्ञवालीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस नेता भण्डारी सत्ता गठबन्धन दलको साझा उम्मेदवार हुनुहुन्छ । भण्डारी र ज्ञवाली अहिले चौथो पटक प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस निर्वाचन क्षेत्रमा रेसुङ्गा नगरपालिका–७ देखि १४ वडा, गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, सत्यवति गाउँपालिका, चन्द्रकोट गाउँपालिका र कालिगण्डकी गाउँपालिका पर्दछन् । रेसुङ्गा नगरपालिका दुई वटै निर्वाचन क्षेत्रमा पर्छ । यहाँ गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले प्रमुख तथा उपप्रमुख दुवै पदमा विजयी हाँसिल गरेको छ ।

त्यस्तै, गुल्मीदरबार गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, चन्द्रकोटमा उपाध्यक्ष, कालिगण्डकीमा अध्यक्ष पदमा नेपाली कांग्रेसले विजयी हाँसिल गरेको छ । नेकपा (एमाले) ले छत्रकोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, रुरुक्षेत्र गाउँपालिकामा उपाध्यक्ष, सत्यवति गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा विजयी हाँसिल गरेको हो । नेकपा (माओवादी केन्द्र) ले रुरुक्षेत्र गाउँपालिकामा अध्यक्ष, चन्द्रकोट गाउँपालिकामा अध्यक्ष र कालिगण्डकी गाउँपालिकामा उपाध्यक्ष पदमा विजयी हाँसिल गरेको छ । यस निर्वाचन क्षेत्रमा रहेका ५० वडाहरुमध्ये नेपाली काँग्रेसले २२ वडामा विजयी हाँसिल गरेको थियो । नेकपा ९एमाले० ले २३ वडामा विजयी हाँसिल गरेको थियो । नेकपा (माओवादीले केन्द्र) ले ३ वडामा विजयी हाँसिल गरेको थियो । जनमोर्चा र स्वतन्त्रबाट भएका उम्मेदवारले १÷१ वडामा विजयी हाँसिल गरेका थिए ।

निर्वाचन क्षेत्र नं.– २ मा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्री र नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । झाँक्री सत्ता गठबन्धन दलको साझा उम्मेदवार हुनुहुन्छ । झाँक्री र विष्ट पूर्वसहकर्मी समेत हुनुहुन्छ । यस निर्वाचन क्षेत्रमा रेसुङ्गा नगरपालिका– १ देखि ६ वडा, मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिका पर्दछन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले इस्मा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, मदाने गाउँपालिकामा अध्यक्ष, मालिका गाउँपालिकामा उपाध्यक्ष पदमा विजयी हाँसिल गरेको छ । नेकपा (एमाले) ले मुसिकोट नगरपालिकामा प्रमुख र उपप्रमुख, धुर्कोट गाउँपालिकामा उपाध्यक्ष, मदाने गाउँपालिकामा उपाध्यक्ष पदमा विजयी हाँसिल गरेको हो । नेकपा (माओवादी केन्द्र) ले धुर्कोट र मालिका गाउँपालिकामा अध्यक्ष पदमा विजयी हाँसिल गरेको छ । ४३ वडा रहेको यस निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै वडामा नेपाली कांग्रेसले विजयी हाँसिल गरेको छ । नेपाली कांग्रेसले २५ वडा, नेकपा एमालेले १७ र माओवादी केन्द्रले एक वडामा विजयी हाँसिल गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?