पाकिस्तानी टोली नेपालमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ । २४ खेलाडीसहितको पाकिस्तानी टोली आइतबार राती नेपाल आइपुगेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पाँच बजेपछि हुनेछ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले प्रतिबन्ध फुकुवा गरेपछि पाकिस्तानले तीन वर्षपछि पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका रूपमा नेपालसँग खेल्न लागेको हो ।

पाकिस्तान पछिल्लोपटक सन् २०१९ जुनमा फिफा विश्वकप कतार २०२२ को छनोटमा कम्बोडियासँग खेल्दा दुई-एकले पराजित भएको थियो । टोलीको कप्तान फरवार्ड हसन बसिर तथा मोहम्मद उमर हयात उपकप्तान रहनुभएको छ । टोलीमा साकिब हनिफ, युसुफ इजाज बट र अब्दुल बासित रहनुभएको छ । डिफेन्डरमा जैन (जुनियर), सोहेल खान, सैयद जुनैद शाह, अब्दुल्लाह शाह, मामुन मुसा, अब्दुल्लहा इकबाल, सरदार वली र हसिब खान हुनुहुन्छ ।

मिडफिल्डमा उमैर अली, जैन उल अबिदिन, अब्दुल कादिर खान, आलमगिर गाजी, अदनान याकुब र अदनान सइद हुनुहुन्छ । मोहम्मद अफजल, मोहम्मद वाहिद, मोहम्मद वलिद खान र शायक दोस्त फरवार्ड हुनुहुन्छ ।

पाकिस्तानविरुद्धको खेलका लागि नेपालले पनि अन्तिम टोली छनोट गरिसकेको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो । नेपालले घोषणा गरेको टोलीमा नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ भने हुनुहुन्न । किरण व्यावसायिक क्लब फुटबलका लागि भारतमा रहेका कारण टोलीमा नरहनुभएको हो ।

नेपाली टोलीको गोलरक्षकमा गोलकिपर विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का, मिडफिल्डरमा तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आभास लामिछाने र फरवार्डमा अञ्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का र सुजल श्रेष्ठ रहनुभएको छ ।

एन्फाले टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउने जनाएको छ । विजेता गोलाप्रथाद्वारा छनोट गरिने एन्फाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?