खोटाङमा मतदान अधिकृतलाई निर्वाचन सामग्री वितरण

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 7 mins

खोटाङ । खोटाङमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्री वितरण थालिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीहरु वितरण थालिएको हो ।

जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयदेखि मंगलबारबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामग्री वितरण थालिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार आज जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन सामग्री बुझेका छन् ।

बुधबारसम्म सम्पूर्ण गाउँपालिका तथा नगरपालिकाको मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामग्री जिम्मा दिई सकिनेछ । १ मंसिरभित्र निर्वाचन सामग्री लिएर उहाँहरु मतदान केन्द्रमा पुग्नुपर्छ । निर्वाचन अधिकारी गौतमले भन्नुभयो ।

निर्वाचन सामग्रीमा मतपेटिका, छेकाबार, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप, स्टाम प्याड, स्टाम प्याड मसी, मार्कर पेन, स्केल मेटल, कैची, ग्लुस्टिक, पंचिङ मेसिन लगायत ६२ प्रकारका निर्वाचन सामग्री छन् । जिल्लामा पुरुष मतदाता ७४ हजार ९२७ र महिला मतदाता ६७ हजार ८३५ गरी कूल १ लाख ४२ हजार ७९२ मतदाता छन् । १३६ मतदान स्थल र दुई अस्थायी सहित १९६ मतदान केन्द्र रहेको छ ।

निर्वाचन सुरक्षा योजना अनुसार सम्पूर्ण सुरक्षाका निकायहरु त्यही अनुसार खटिरहेकाले जिल्लाको शान्ती सुरक्षाको अवस्था मजबुत रहेको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले बताउनुभयो ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जिल्लामा प्रतिनिधिसभातर्फ गठबन्धन (माओवादी केन्द्र)बाट रामकुमार राई ‘पासाङ’, नेकपा एमालेबाट विशाल भट्टराई, जनता समाजवादी पार्टी(जसपा)बाट डा. कृष्णकुमार राई ‘केके’, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट दीपक मगर, आमुल परिवर्तन मसिहा पार्टीबाट चन्द्रमणि राई र स्वतन्त्र जयन्द्रकुमार राई चुनावी मैदानमा हुनुहुन्छ ।

प्रदेशसभा ‘क’ मा नेकपा(एकीकृत समाजवादी) पार्टी (गठबन्धन)बाट बीरबलकाजी राई, नेकपा एमालेबाट पाँचकर्ण राई ‘पिके’, जनता समाजवादी पार्टीबाट राकेश राई, नेपाल मजदुर किसान पार्टीबाट केशव राई, नेकपा (माले)बाट पदमप्रसाद आचार्य, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई, स्वतन्त्रबाट धर्मराज पोखरेल र कुमारप्रसाद भट्टराई प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेस (गठबन्धन)बाट भूपेन्द्र राई, नेकपा एमालेबाट रामप्रसाद दंगाल, जनता समाजवादी पार्टी जसपाबाट प्रेमकुमार राई, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवाश राई र मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट विमला राई चुनावी मैदानमा हुनुहुन्छ ।

नौ पालिकामा नमुना मतदान

जिल्ला निर्वाचन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सहित नौ पालिकामा नमुना मतदान गराएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै मतदान अधिकृत र सहाययक मतदान अधिकृतलाई नमुना मतदान गराएका हुन् ।

मत बदर हुन नदिन, निर्वाचनका प्राविधिक समस्याहरु पहिचान गर्न, चार वटा मतपेटिका हुने र चारवटा मतपत्र हुने जानकारी गराउनका लागि नमुना मतदान गराईएको जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिनुभयो । यसले मत बदरमा कमी आउने र निर्वाचन स्पीड बढ्ने अपेक्षा गरिएको छ ।

नमुना मतदानले आगामी मंसिर ४ गते हुने निर्वाचन चुस्तदुस्त गराउनमा सहायता पुगेको निर्वाचनका लागि खटेका मतदान अधिकृत कविन श्रेष्ठले अनुभव सुनाउनभयो । यसअघि, वराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, साकेला गाउँपालिका, रावाबेंशी गाउँपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिकामा नमुना मतदान गराईएको छ । बिहीबार हलेसी तुवाचुङ नगरपालिकामा नमुना मतदान गराईनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?