लिमीमा खटिएका कर्मचारी हेलिकप्टरमार्फत् पुगे मतदान केन्द्र

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ को लिमीका तीनवटा मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई नेपाली सेनाले हेलिकप्टरमार्फत् पुर्‍याएको छ । लिमी जानका लागि त्यस क्षेत्रका मुख्य दुईवटा नाकामा बाक्लो हिउँ जमेका कारण नेपाली सेनाको हेलिकप्टरले सुरक्षाकर्मी र कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म पु¥याएको जिल्ला निर्वाचन कार्यालयका निमित्त अधिकारी श्यामबहादुर रानाले बताउनुभयो ।

उहाँका अनुसार प्रमुख जिल्ला अधिकारीको सहजीकरणमा निर्वाचन आयोगले हेलिकप्टरको व्यवस्था गरेपछि मंगलबार उनीहरूलाई यहाँका मतदान केन्द्रमा पुर्‍याइएको हो । पहिलो फ्लाइटमा नेपाली सेनाका १० जना सेनालाई ओसारेको थियो भने दोस्रो फ्लाइटमा मतपेटिका, मतपत्रका साथै मतदान अधिकृत, अन्य कर्मचारी ओसारेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

लिमीमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई त्यहाँ पुग्न समस्या भएपछि सो व्यवस्थाका लागि यसअघि जिल्लाबाट हेलिकप्टर माग भएको थियो । आयोगले जिल्लाको मागअनुुसार हेलिकप्टरको व्यवस्था गरेको हो । हेलिकप्टरको व्यवस्था नभएको भए लिमीमा निर्वाचन गर्न सम्भव हुने थिएन । ४५ जना कर्मचारी र सुरक्षाकर्मी लिमीका तीनवटा मतदान केन्द्रमा खटिएका छन् । लिमीका तीन मतदान केन्द्र हल्जी, जाङ, तिल मतदान केन्द्रका लागि नेपाली सेनाको एमआई १७ बाट कर्मचारी र निर्वाचन सामग्री लिमी ओसारिएको हो ।

आयोगले कर्मचारीलाई निर्वाचनका लागि लिमी पु¥याउने मात्र नभई मतदान कार्य सम्पन्न भएपछि मतपेटिका र कर्मचारीलाई समेत हेलिकप्टरबाटै ल्याउने भएको हो । लिमी जाने दुुवै नाका, चार हजार ६ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालुु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको छ । निर्वाचनको प्रचारप्रसारका लागि दलका उम्मेदवार र नेतासमेत लिमी पुग्न सकेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?