साताव्यापी राष्ट्रिय कर दिवस

Read Time = 4 mins

काठमाडौं । स्वैच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०७९ साताव्यापीरूपमा मनाइने भएको छ । नेपालमा मूल्य अभिवृद्धि कर(भ्याट) लागू भएको दिन १ मंसिर २०५४ को स्मरण गर्दै हरेक वर्ष मंसिर १ गतेलाई सरकारले २०६९ देखि प्रत्येक वर्ष राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।

कर शिक्षाको माध्यमबाट स्वैच्छिक कर सहभागितामा जोड दिई कराधार फराकिलो बनाउँदै जाने उद्देश्यका साथ सरोकारवालासँग सामूहिक तथा संस्थागत सहकार्यमा अन्तरसंवाद, छलफल गरी व्यापक प्रचारप्रसार र कर सचेतता बढाउन मंसिर ७ गतेसम्म विभिन्न कार्यक्रमसहित आन्तरिक राजस्व विभाग र मातहतका सम्पूर्ण कार्यालयबाट कर सप्ताह मनाइने विभागले जनाएको छ ।

विभागका अनुसार गत असारसम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको संख्या ४८ लाख १२ हजार सात सय १७ पुगेको छ ।

करदातालाई स्वैच्छिकरूपमा कर तिर्न अभिप्रेरित गर्ने र कर भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउने गरी विभागले काम गरिरहेको महानिर्देशक रितेशकुमार शाक्यले बताउनुभएको छ । कर भुक्तानी प्रणाली सुधारका लागि विभागले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा ट्याक्स एड्मिनिस्ट्रेसन डायग्नोस्टिक एसेस्मेन्ट टुल (टाडाट) र जर्मन सहयोग नियोगको सहयोगमा बिजनेस प्रोसेस इन्जिनियरिङ (बिपिआर) गरिरहेको उहाँले जानकारी दिनुभयो ।

विभागका अनुसार गत असारसम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको संख्या ४८ लाख १२ हजार सात सय १७ पुगेको छ । २०७८ असारसम्ममा ४० लाख ४९ हजार एक सय नौ थियो । व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या १७ लाख ६२ हजार चार सय १३ पुगेको छ ।

व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ ३० लाख ५० हजार तीन सय चार करदाता छन् । गत आवमा कुल राजस्व संकलन १० खर्ब ६७ अर्ब ९५ करोड रहेकोमा आन्तरिक राजस्वको हिस्सा ४४ प्रतिशत बराबर रहेको छ ।

आन्तरिकतर्फ पाँच खर्ब ३७ अर्ब ९४ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा चार खर्ब ८३ अर्ब ४८ करोड असुली भएको थियो । तर, अघिल्लो आवको तुलनामा गत आवको राजस्व वृद्धिदर १२.५९ प्रतिशतले बढी हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?