आज देशभर एकै चरणमा मतदान हुँदै

११ हजार ५४३ उम्मेदवारको भाग्य फैसला हुने, मताधिकार प्रयोग गर्न मतदाताहरूलाई आयोगको आव्हान

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज देशभर एकै चरणमा मतदान हुँदै छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी भएर मतदान गर्न आ≈वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोगको तर्फबाट सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आव्हान गर्नुभएको हो ।

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन हुने र त्यस अवधिमा आफ्नो मताधिकार प्रयोग गर्न आयोगले आव्हान गरेको हो । आयोगले निर्वाचनको सम्पूर्ण कार्य पूरा भइसकेको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’

आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको जनाएको छ । आयोगबाट स्वीकृत मापदण्डबमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकएका अधिकारीलाई निर्देशन दिइसकिएको आयोगले जनाएको छ ।

सरकारले मतदानको दिन आइतबार र भोलिपल्ट सोमबार देशभर सार्वजनिक बिदा दिएको छ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले आवश्यक तयारी गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । निर्वाचन आयोगले बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौँडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने जो कोहीलाई तत्काल कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन दृढ संकल्पित रहेको जनाउँदै आयोगले भनेको छ, ‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा निर्धक्क भएर मतदान गर्नुहुन हार्दिक अपिल गर्दछौँ ।’

८२५ सिटका लागि ११ हजार ५४३ उम्मेदवार चुनावी मैदानमा
आज हुने चुनावबाट प्रतिनिधिसभा र प्रदेशसभाका ८२५ सदस्य चयन हुनेछन् । यसका लागि ११ हजार ५४३ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक गरी ११ हजार ५४३ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार ४१२ जना र प्रदेशसभातर्फ तीन हजार २२४ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ दुई हजार १९९ उम्मेदवार बन्दसूचीमा छन् । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षबाट १६५ र समानुपातिकबाट ११० गरी २७५ जना संसद्मा पुग्नेछन् ।

प्रदेशको समानुपातिकतर्फ प्रदेश १ मा ६१६, मधेश प्रदेशमा ८६३, बागमती प्रदेशमा ७५४, गण्डकी प्रदेशमा ३४४, लुम्बिनीमा ५७९, कर्णालीमा २००, सुदूरपश्चिममा ३५२ जना उम्मेदवार बन्दसूचीमा छन् । प्रदेशसभाको प्रत्यक्षबाट प्रदेश १ मा ५६, मधेस प्रदेशमा, ६४, बागमती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४, सुदूरपश्चिम प्रदेशमा ३२ जना चयन हुनेछन् । प्रदेशको समानुपातिकमा प्रदेश १ मा ३७, मधेश प्रदेशमा ४३, बागमतीमा ४४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जना चयन हुनेछन् ।

कति छन् मतदाता ?
आमनिर्वाचन २०७९ का लागि पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ गरी कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । उनीहरूले १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ केन्द्रबाट मतदान गर्नेछन् । त्यस्तै, १४१ अस्थायी मतदान केन्द्रबाट चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकमा मत हाल्नेछन् ।

निर्वाचन आयोगले मतदाता सूचीमा नाम समावेश भएका यही मंसिर ३ गतेसम्म १८ वर्ष पूरा हुने बालिग मतदाताले मतदान गर्न पाउने व्यवस्था गरेको छ । प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५, मधेशमा ३३ लाख ८६ हजार ६२८, बागमतीमा ३४ लाख ७१ हजार ४९२, गण्डकीमा १८ लाख १७ हजार ५४१, लुम्बिनीमा ३२ लाख ४९ हजार ६३७, कर्णालीमा १० लाख आठ हजार ४०३ र सुदूरपश्चिममा १६ लाख ५८ हजार चार मतदाता छन् । साढे २१ लाख मतदाता विदेशमा रहेको अनुमान छ । ०७४ को आमनिर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता रहेकामा एक करोड पाँच लाख ९३ हजार ९७१ ले मतदान गरेका थिए ।

देशभर १० हजार ८९२ मतदानस्थल
निर्वाचन आयोगले देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र निर्धारण गरिएको जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै ५२७ मतदानस्थलमा एक हजार २७९ मतदान केन्द्र तोकिएको छ । काठमाडौंमा ३२० मतदानस्थल र ७६७ मतदान केन्द्र, भक्तपुरमा ७६ मतदानस्थल र २२२ मतदान केन्द्र तथा ललितपुरमा ७६ मतदानस्थल र २९० मतदान केन्द्र रहेको छ । काठमाडौं १०, ललितपुरमा तीन र भक्तपुरमा दुई निर्वाचन क्षेत्र छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं १ मा २२ मतदानस्थलमा ५२ मतदान केन्द्र, काठमाडौं २ मा ४० मतदानस्थलमा ९५ मतदान केन्द्र, काठमाडौं ३ मा २९ मतदानस्थलमा ६८ मतदान केन्द्र, काठमाडौं ४ मा ३३ मतदानस्थलमा ८२ मतदान केन्द्र तथा काठमाडौं ५ मा ३१ मतदानस्थलमा ८१ वटा मतदान केन्द्र छन् । काठमाडौं निर्वाचन क्षेत्र नं ६ मा ३२ मतदानस्थलमा ७५ मतदान केन्द्र, काठमाडौं ७ मा २९ मतदानस्थलमा ७१ मतदान केन्द्र, काठमाडौं ८ मा २३ मतदानस्थल र ६१ मतदान केन्द्र, काठमाडौं ९ मा ३४ मतदानस्थलमा ८५ केन्द्र तथा काठमाडौं क्षेत्र नं १० मा ४७ मतदानस्थलमा ९७ वटा मतदान केन्द्र छन् ।

यस्तै, ललितपुर क्षेत्र नं १ मा ५३ मतदानस्थल र ९१ केन्द्र, ललितपुर २ मा ३९ मतदानस्थलमा ९३ केन्द्र र ललितपुर ३ मा ३९ मतदानस्थलमा १०५ मतदान केन्द्र तथा भक्तपुर १ मा ३७ मतदानस्थल र ११५ मतदान केन्द्र र भक्तपुर २ मा ३९ मतदानस्थल र १०७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन राष्ट्रपतिको अपिल
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आव्हान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ का अवसरमा शनिबार सन्देश दिँदै उहाँले मतदान गर्नु नागरिक अधिकारको उच्चतम् अभ्यास भएको बताउनुभएको हो । राष्ट्रपति भण्डारीले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा प्रतिविम्बित गर्ने बताउनुभयो । जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको उहाँको भनाइ छ ।

राष्ट्रपति भण्डारीले जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्व रहेको बताउनुभएको हो । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जाने उहाँको विश्वास छ ।

राष्ट्रपति भण्डारीले आम निर्वाचनबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शीता स्थापित गर्न मद्दत पुग्ने जनाउँदै स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति, स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने बताउनुभएको छ । ‘मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गर्दछु । यस आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक तथा सम्बद्ध सबैमा स-धन्यवाद आव्हान गर्दछु’, राष्ट्रपति कार्यलयद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आव्हान गर्नुभएको छ । आज मंसिर ४ गते आइतबार देशभर प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुँदैछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?