हरमितले लुम्बिनीबाट खेल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतीय यू-१९ विश्वकप विजेता हरमित सिंहले नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सबाट खेल्नुहुने भएको छ । लुम्बिनीले सन् २०१२ को यू-१९ विश्वकप विजेता तथा इण्डियन प्रिमियर लिग (आइपिएल) को अनुभव बटुलिसकेका हरमितलाई अनुबन्ध गरेको जनाएको हो । उहाँले २०१३ को आइपिएलमा राजस्थान रोयल्सको टोलीबाट खेल्नुभएको थियो । उहाँले भारतीय ‘बी’ टोली, मुम्बई र त्रिपुराबाट घरेलु क्रिकेट खेल्दै आउनुभएको छ । हाल भने उहाँ अमेरिकामा खेल्दै आउनुभएको छ । हरमित स्पिन बलिङसँगै तल्लोक्रममा ब्याटिङ गर्ने गर्नुहुन्छ ।

गत जेठमा अमेरिका भ्रमणमा नेपालले लुम्बिनी अल स्टार्ससँग खेल्दा हरमित टोलीमा हुनुहुन्थ्यो । उक्त खेलमा उहाँले एक विकेट लिनुभएको थियो । बायाँ हाते हरमितले ३१ प्रथम श्रेणी, १९ लिष्ट ए र ७ टी-२० क्रिकेट खेल्नुभएको छ ।

टी-२० डिसेम्बर १२ देखि ३१ सम्म काठमाडौंमा हुनेछ । लुम्बिनीको टोलीमा विदेशी खेलाडीका रूपमा लाहिर मिलान्था, काल्भिन स्याभेज, हरमीत सिंह, विपुल शर्मा, प्याट ब्राउन र रहकिम कर्नवाल रहनुभएको छ । लुम्बिनीले डिसेम्बर १२ मा फार वेस्ट युनाइटेडसँग खेल्दै प्रतियोगितामा खेलको सुरुवात गर्नेछ ।

लुम्बिनी अल स्टार्सको टोलीमा दीपेन्द्रसिंह ऐरी, अनिलकुमार शाह, कुशल भुर्तेल, गुलशन झा, सागर ढकाल, योगेन्द्रसिंह कार्की, किशोर महतो, तिलकराज भण्डारी, सुनिल धमला, आकाश चन्द र इशान पाण्डे हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?