देशभर ६१ प्रतिशत मतदान, १५ स्थानमा स्थगित

नारायण भण्डारी
Read Time = 11 mins

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले प्रारम्भिक विवरणअनुसार उक्त मत खसेको र सबै विवरण आउँदा यो प्रतिशत बढ्ने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार साँझ पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिनुभएको हो । आयोगको अपेक्षाभन्दा मतदान कम भएको पनि प्रमुख आयुक्त थपलियाले बताउनुभयो । ‘यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो, तर अझै पनि यकिन भइसकेको छैन,’ प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘केही सामान्य घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।’

२७५ प्रतिनिधि सभा सदस्य र ३३० प्रदेश सभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको थियोे । केही ठाउँमा भने विवादका कारण रोकिएको मतदान फेरि सुरु गर्दा बेलुका ७ बजेसम्म पनि मतदान भएको निर्वाचन आयोगले जनाएको छ । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७.६३ प्रतिशत मत खसेको थियो ।

स्थानीय चुनावमा मत दिएका करिब ६ प्रतिशत मतदाताले यसपटकको चुनावमा भोट हालेनन् । जबकि स्थानीय चुनावमा योग्य ठहरिएका कुल मतदाताको सूचीमै यसपटक दुई लाख नयाँ मतदाता थपिएका थिए । यसपटक थपिएका मतदातामध्ये २३ लाख अर्थात् १३ प्रतिशत मतदाता पहिलो पटक मतदानका लागि योग्य बनेका थिए । गत बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

आइतबार सम्पन्न निर्वाचनका लागि देशभर १० हजार ८९२ वटा मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र तोकिएको थियो । यो चुनावमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता थिए । चुनावका लागि मतपत्र र निर्वाचन सामग्रीसहित दुई लाख ४६ हजार ९६० कर्मचारी तथा नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी झन्डै तीन लाख सुरक्षाकर्मी खटिएका थिए । गुल्मी, दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका केही मतदान केन्द्रको मतदान भने रोकिएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाको भगवती माध्यमिक विद्यालयको मतदान स्थगित भएको छ । छलफलपछि मतदानको मिति तोकिने निर्वाचन अधिकृतले बताएका छन् ।

आइतबार साँझदेखि देशका धेरैजसो ठाउँमा मतपेटिका संकलनको काम सुरु भएको छ । सडक सञ्जाल पुगेका सबैजसो केन्द्रबाट गाडीमार्फत मतपेटिकालाई मतगणना हुने ठाउँसम्म पुर्‍याउने काम भइरहेको छ । मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा लगायतका केही जिल्लाका विकट ठाउँमा हेलिकप्टरसमेत परिचालन गरिएको छ । सहरी र सुगम जिल्लाको मतगणना भने आइतबार राति अबेरदेखि शुरु गरिएको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले यही मंसिर ८ गतेसम्म प्रत्यक्षतर्फको सबै परिणाम सार्वजनिक गरिसक्ने दाबी गर्नुभएको छ ।

निर्वाचन सफलतापूर्वक सम्पन्न भएको निर्वाचन पर्यवेक्षण समितिको ठहर
निर्वाचन पर्यवेक्षण समिति नेपालले केही अपवादबाहेक आम निर्वाचन २०७९ समष्टिगतरुपमा सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । समितिका अध्यक्ष प्रदीप पोखरेलले विज्ञप्ति जारी गर्दै लोकतन्त्रको संस्थागत विकासमा यो निर्वाचन अर्को एउटा कोसेढुंगो साबित हुने अपेक्षालाई सार्थक रुप दिन प्रयत्नशील प्रस्तुत निर्वाचन विभिन्न बाधा र चुनौतीको बाबजुद सम्पन्न भई त्यो सफलतातर्फ एक पाइला अगाडि बढेको उल्लेख गर्नुभएको छ । यस निर्वाचनको पर्यवेक्षणका उक्त संस्थाको तर्फबाट ७७ वटै जिल्लामा ५२३ जना राष्ट्रिय पर्यवेक्षक, सार्वजनिक सेवामा महत्वपूर्ण योगदान गरेका राष्ट्रिय व्यक्तित्वहरु र अन्य स्वतन्त्र बुद्धिजीवीहरू समेत सहभागी भएर निर्वाचन केन्द्रहरूको स्थलगत भ्रमण गरेको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनका क्रममा अनपेक्षित रुपमा केही मतदान केन्द्रहरूमा द्वन्द्व, झडप, मुठभेड र विवादको कारणले असर गरेता पनि निर्वाचनको बृहत उद्देश्य प्राप्तिमा अपेक्षाकृत रूपमा निर्वाचन शान्तिपूर्ण वातावरणमै सम्पन्न भएको समितिको ठहर छ । यद्यपि मतदाताहरूको सक्रिय उत्साहमा कमी देखिएको तथा पर्यवेक्षणको अवधिमा युवा मतदाताको सहभागिता समेत न्यून देखिएको पनि समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति अनपेक्षित आकर्षण !
अहिलेको निर्वाचनमा मतदाताको मनस्थिति व्यापक रूपमा परिवर्तन भएको देखिएको छ । जसले पुराना र स्थापित पार्टीहरूको केही परम्परागत जनमत नयाँ पार्टीमा गएको संकेत देखिएको छ । केही महत्त्वपूर्ण निर्वाचन क्षेत्र (खासगरी सहर) मा राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको रुझान अनपेक्षित रूपमा पाइएको छ । ११० जना निर्वाचित हुने समानुपातिक प्रणालीमा यो पार्टीले महत्वपूर्ण हिस्सा ओगट्ने देखिएको छ । यसैगरी पूर्वी तराईमा सीके राउत नेतृत्व जनमत पार्टी र पश्चिम तराई रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी उदाउन सक्ने संकेत देखिएका छन् । नयाँप्रतिको केही आकर्षण, पुरानाप्रति केही आक्रोश र केही चुनौतीका कारण राजनीतिलाई तरंगित पार्ने किसिमको जनमत आउने देखिएको छ । विशेषगरी सहरी क्षेत्रका मतदान केन्द्रमा मतदाताको उत्साहमा कमी देखिएको छ । मतदानलाई उत्सवका रुपमा लिने मतदाताहरुमा कतिले यसलाई कर्तव्यका रुपमा प्रयोग गरेका छन् । यसपल्ट मतदानमा उत्साह नदेखिएको राजनीतिक विश्लेषकदेखि विभिन्न दलका नेता-कार्यकर्तालेसमेत उल्लेख गरेका छन् । देशका विभिन्न भागमा पुगेर स्थलगत रिपोर्टिङका आधारमा यसपल्ट केही ‘सरप्राइज’ दिने संकेत देखिएको छ ।

मतदान सकिएपछि यसरी राखिन्छ मतपेटिका
मतगणनाका लागि निर्वाचन आयोगले मतगणना निर्देशिका, २०७९ बनाएको थियो । मतदान गर्नुअघि नै निर्वाचन अधिकृतले मतगणना स्थानबारे सूचना जारी गर्नुपर्ने व्यवस्था छ । निर्वाचन अधिकृतले मतदान अधिकृतबाट मतपेटिका बुझिलिन र त्यसको भर्पाइ गर्नुपर्ने व्यवस्था छ ।

निर्वाचन अधिकृतले प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक मतपेटिकालाई मतगणना अघि एकै ठाउँमा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ । तर मतदान केन्द्र छुट्टिनेगरि मत पेटिका राख्नुपर्नेछ ।

मतपेटिकालाई कोठामा राखिसकेपछि लाहाछाप लगाउनुपर्नेछ । उम्मेदवार वा निर्वाचन प्रतिनिधिले लाहाछाप लगाउन चाहेमा लाहाछाप लगाउन दिनुपर्नेछ । त्यसपछि लाहाछाप पछि मुचुल्का गर्नुपर्नेछ । मुचुल्कामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा प्रतिनिधिले अधिकार दिएको व्यक्तिको सहीछाप गरि निर्वाचन अधिकृतले सहिछाप गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ । सम्भव भएसम्म मत गणना गर्ने ठाउँमा सिसिटिभी जडान गर्नुपर्ने व्यवस्था छ । मतपेटिका राखिएको कोठा खोल्दा लाहाछाप जाँच गर्नुपर्ने व्यवस्था छ । कोठा खोलेको मुचुल्का गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।

मतगणना प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक एकै साथ सुरु हुनेछ । मतगणना सुरु गर्नुअघि मतपेटिका खोलिएको वा फोरिएको छ छैन भन्नेबारे भने जाँच गर्नुपर्नेछ । मतपेटिका जाँच गरिसकेपछि उम्मेदवार वा निर्वाचन प्रतिनिधिलाई सहि छाप लगाउनुपर्नेछ । कसैले कैफियत जानाउन चाहेमा त्यसको व्यवस्था निर्वाचन अधिकृतले गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?