प्रमुख पार्टीका लागि चुनौती बन्दै नयाँ उम्मेदवारहरू

विश्लेषक भन्छन्-मतदाताले परिवर्तन चाहेका छन्

यज्ञराज पाण्डे
Read Time = 8 mins

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७९ सम्पन्न भएर मतगणना सुरु भएसँगै यसपटकको निर्वाचनलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । विगतका निर्वाचनमा वर्चस्व भएका प्रमुख पार्टीहरूलाई यो पटकको निर्वाचन जित्नका लागि चुनौतीपूर्ण देखिएको प्रारम्भिक आँकलन गरिँदै छ । दलहरूका लागि स्वतन्त्र उम्मेदवार तथा नयाँ खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी मुख्य चुनौती बन्ने देखिन्छ । विगत लामो समयदेखि चुनावमा जित्दै आएका ठूला दलहरूका कतिपय नेताहरूका लागि यो निर्वाचन भावी दिनको राजनीतिक यात्राका लागि निर्णायकसमेत बन्ने देखिन्छ । यस पटकको निर्वाचनमा मतदाताहरूको संख्यामा कमी आएको भए पनि मतदाताहरूले परिवर्तनप्रति उत्साहपूर्ण ढंगले मतदान गरेको विश्लेषकहरूको भनाइ छ ।

ठूला पार्टीका लागि सन्देश : प्राध्यापक खनाल
यस पटकको निर्वाचनले ठूला पार्टीहरूलाई विशेष सन्देश दिएको बताउनुहुन्छ प्राध्यापक कृष्ण खनाल । विगत लामो समयदेखि परम्परागत रूपमा राजनीतिमा रहेका दलहरूका लागि यस पटकको निर्वाचनले भने ठूलो झड्का दिने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘विगतका निर्वाचनमा जितेका दलहरूका लागि यो निर्वाचनले केही सन्देश दिनेछ । त्यो सन्देश के हो भन्ने कुरा अहिले नै यसै भन्न त सकिँदैन । तर, निर्वाचनको परिणाम आएसँगै अहिलेका मतदाताहरू त्यसमा पनि युवा वर्गले के चाहेका छन् भन्ने कुराको सन्देश भने यो निर्वाचनले पक्कै दिनेछ ।’

विगतमा झैँ मतदातामा भने त्यति धेरै उत्साह नदेखिएको प्राध्यापक खनालको टिप्पणी छ । उहाँ भन्नुहुन्छ, ‘यस पटकको निर्वाचनमा विगतमा जस्तो उत्साह देखिएन तर त्यसो भनेर जनतामा निराशा छाएको हो भन्न मिल्दैन । तर, परिवर्तनको पक्षमा छन् है जनता भन्ने सन्देश पक्कै यो निर्वाचनले दिएको छ ।’

यस पटकको निर्वाचनले मतदाताको मनस्थितिमा परिवर्तन देखाएको बताउनुहुन्छ प्राध्यापक खनाल । मतदाताहरूमा सचेतना बढेकाले योग्यलाई जिताउनुपर्छ भन्ने भावना देखिएको उहाँको टिप्पणी छ । उहाँ भन्नुहुन्छ, ‘अहिले मतदातामा सचेतना बढेको पाइयो । उही पुरानै परम्परागत शक्तिलाई भन्दा पनि केही नयाँ विचार बोक्ने नयाँ अनुहारलाई अवसर दिनुपर्छ भन्ने जनताहरूको भावना रहेको देखियो । अझ सहरका मतदातामा यो विचार धेरै देखिएको पाइयो ।’ यो निर्वाचनले विगतको भन्दा केही फरक परिणाम देखाउने संकेत दिएको प्राध्यापक खनालको भनाइ छ ।

विगतको भन्दा नयाँपन देखियो : पूर्वमन्त्री आचार्य
राजनीतिक विश्लेषक तथा पूर्वमन्त्री नीलाम्बर आचार्यले यो निर्वाचनले केही नयाँपन देखाएको टिप्पणी गर्नुहुन्छ । मतदाताहरूले यो निर्वाचनको मत परिणाममा केही आश्चर्य देखाउने उहाँको टिप्पणी छ । उहाँ भन्नुहुन्छ, ‘यो निर्वाचनमा मतदाताप्रति केही उत्साह नै देखियो । मतदाताहरूले नयाँपनलाई स्वीकार गरेका छन् । नेपालको उज्ज्वल भविष्यका लागि मतदाताहरूको उल्लासपूर्ण सहभागिता देखिनुले ज्यादै सकरात्मक सन्देश यो निर्वाचनले दिएको छ ।’

अहिलेको निर्वाचनमा मतदाताहरूको सहभागितामा कमी आउनुमा निर्वाचनप्रति उदासीनता भएको भन्न नमिल्ने आचार्यको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘अहिले निर्वाचनमा मतदाताहरूको सहभागिता कम हुनुमा मतदानप्रति जनताको उदासीनता भयो भन्न मिल्दैन । किनकि जनताहरूले परिवर्तन चाहेका छन् र परिवर्तनका लागि सबै मतदाताहरू उत्सुक छन् ।’ जनताहरूले चाहेअनुसार परिवर्तनको पक्षमा मत दिएकाले मत परिणामपछि सुधार आउने उहाँको टिप्पणी छ ।

अहिलेको मतदानले संवैधानिक प्रणालीलाई मजबुत बनाएको आचार्यको भनाइ छ । ‘अहिलेको निर्वाचन वर्तमान संविधानअन्तर्गत भएको दोस्रो निर्वाचन हो । यसले संवैधानिक प्रणालीलाई मजबुत बनाएको छ ।’ उहाँ भन्नुहुन्छ, ‘सफलतापूर्वक दोस्रो निर्वाचन पनि सम्पन्न हुनुले संविधानले केही हदसम्म स्थायित्व प्राप्त गरिरहेको भन्न सकिन्छ ।’

मतदाताहरूको उल्लासपूर्ण सहभागिता देखियो : वरिष्ठ पत्रकार दाहाल
वरिष्ठ पत्रकार होमनाथ दाहाल अहिलेको निर्वाचनमा मतदान गर्नेहरूको संख्यामा केही कमी आए पनि मतदाताहरूको सहभागिता भने उल्लासपूर्ण देखिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अंकमा भन्दा पनि मतदाताहरूको सहभागिता मतदान देखिएको उत्साहमा मूल्यांकन गरिनुपर्छ । मतदाताहरूमा यसपालि निकै उत्साह देखिएको थियो । जनता सरिक भएर आफ्नो मतदानको प्रयोग गर्न चाहेको देखियो ।’
मतदान केवल हारजितको खेल मात्र नभएर नयाँ नेपाल बनाउने अवसरका रूपमा जनताले दिएको दाहालको टिप्पणी छ । उहाँ भन्नुहुन्छ, ‘पार्टीहरू लामो समयदेखि पार्टीभित्रकै आन्तरिक किचलोमा अल्झिए तर आजको नेपालका मूल समस्याहरू केही हुन् त्यसमाथि त्यति विचार पुर्‍याएको देखिएन । तर, नयाँ उम्मेदवारहरू चाहिँ नयाँ समस्याहरूप्रति सचेत देखिए । त्यसैले नयाँ नेपाल बनाउनका लागि मतदाताहरूका लागि पनि नयाँ विचार दिन सक्ने नेता छान्नका लागि मतदानमा उत्साहपूर्ण रूपले मतदान गरेको देखियो ।’

‘अहिले नेपाल धेरै समस्याहरूबाट गुज्रिरहेकाले आगामी दिनमा जितेर आउने नेताहरूले ती समस्याहरूलाई प्राथमिकताका साथ लिनुपर्ने दाहालको भनाइ छ ।’ उहाँ भन्नुहुन्छ, ‘अहिले देखिएका मूल समस्याहरू गरिबी र बेरोजगारीको हो । अब आउने नयाँ प्रतिनिधिहरूले यी समस्याहरूलाई समाधान गर्न योजना बनाएरै अघि बढ्नुपर्छ । नेताहरूले नयाँ नेपाल बनाउन प्रतिज्ञा गर्नुपर्छ ।’ युवा नै परिवर्तनको संवाहक भएकाले यो निर्वाचनमा युवाहरूले पुराना नेताहरूलाई विशेष सन्देश दिएको दाहालको टिप्पणी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?