उपाध्यक्ष महरा पक्राउको विषयमा माओवादी पदाधिकारी बैठकमा छलफल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को पार्टी पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ ।

मंगलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ परेको सम्बन्धमा छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष महरा पक्राउ पर्नुभएको विषयमा पदाधिकारी बैठकमा छलफल भएको र पार्टीले पुनः बैठक बसेर निर्णय गर्ने बताउनु भयो । सुन प्रकरणमा सोमवार भैरहवाबाट उपाध्यक्ष महरालाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति समेत दिइसकेको छ ।

उहाँले भन्नुभयो, ‘तपाईहरुले जान्न खोज्नुभएको उपाध्यक्ष कमरेड कृष्णबहादुर महराको बारेमा छ । हाम्रो धेरै राम्रोसँग छलफल भइरहेको छ । यसका हरेक पाटा पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ । छलफल जारी छ । छिटो भन्दा छिटो निस्कर्षमा पुग्छौँ ।’

उहाँले महरा पक्राउ परेको सम्बन्धमा विविध पक्षबाट छलफल भएको र पार्टीको अर्को पदाधिकारी बैठकले महराको विषयमा आधिकारिक रुपमा टुंगो लगाउने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?