खोटाङमा एमालेका प्रमुख सचेतक भट्टराईलाई पराजित गर्ने को हुन् रामकुमार राई ?

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 6 mins

खोटाङ । प्रतिनिधिसभाको अन्तिम मतपरिणाम अनुसार खोटाङमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङ प्रतिनिधिसभामा विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्धन्दी एमाले उम्मेदवार बिशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पराजित गुर्नभएको हो ।

मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत बिहीबार मुख्य निर्वाचन अधिकृत(जिल्ला अदालत)को कार्यालय ६७ हजार ४०८ मतगणना हुँदा गठबन्धनका उम्मेदवार पासाङले ३१ हजार ३५१ मत पाउँदा एमाले उम्मेदवार भट्टराई २८ हजार ६८२ मतमा खुम्चिएका छन् । २ हजार ९८६ मत बदर भएको छ ।

खोटाङको साकेला गाउँपालिका–२ रतन्छामा वि.सं. २०२५ वैशाख–१४ गते जन्मिएका पासाङले २०४१ सालबाट राजनीति शुरु गर्नुभएको हो ।
२०४९ सालबाट भूमिगत राजनीतिमा क्रियाशील भएर २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट खोटाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सभासद बन्नुभएको पासाङ २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेशसभा (ख)बाट निर्वाचित भएर १ नं.प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर्जामन्त्री भईसक्नुभएको छ ।

तत्कालीन नेकपा (माले)को विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिक यात्रा शुरु गरेका पासाङ खम्बुवान राष्ट्रिय मुक्ति मोर्चामा २०४९ देखि ०५८ सालसम्म क्रियाशील हुनु हुन्थ्यो । २०६० सालबाट खम्बुवान माओवादीसँग एकीकरण भएपछि पासाङले माओवादीमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

पार्टी भूमिगत हुँदा खोटाङ, भोजपुर, संखुवासभा र उदयपुरको जिल्ला इन्चार्जसमेत सम्हाल्नुभएका पासाङले करिब ३८ वर्षको राजनीतिक अनुभव बटुल्नुभएको छ । भूमिगत अवस्थामा खोटाङको साप्सुखोलामा नेपाली सेनासँग भएको दोहोरो भिडन्तमा सेनाको गोली लागेर घाइतेसमेत हुनु भएको पासाङ जिल्लामा निष्ठावान तथा भ्रष्टाचारबिरोधी नेताका रुपमा चिनिनु हुन्छ ।

२०६२÷०६३ मा सैन्य विभागको बिग्रड कमाण्डरसमेत हुनुभएका पासाङले जिल्लाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । भर्खरै ढलानको काम सकिएको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङ्टारस्थित सुनकोशी नदीको निर्माणाधीन मोटरेबल पक्की पुल पासाङकै पालामा योजना परेको हो ।
पासाङसँग पराजय भोग्नुभएका भट्टराई एमालेका प्रमुख सचेतक हुनु हो । भट्टराईले २०७० सालको दोश्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभामा निर्वचित हुनुभएको थियो । २३ कात्तिकमा मनोनयपछि भट्टराईले महागठबन्धनलाई परास्त गर्न बलियो उम्मेदवार खोजी गर्ने क्रममा पाटीले आफुलाई टिकट दिएकाले गठबन्धनलाई परास्त गर्ने बताउनु भएको थियो ।
नेकपा एमालेलाई संघमा १३८ सिट ल्याएर बहुमतको सरकार निर्माणको प्रयोजनका लागि मेरो उम्मेदवारी हो । त्यसबाट खोटाङका लागि १ सिट थप्नका लागि उम्मेदवारी हो । भट्टराईले भन्नुभएको थियो ।

यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार कृष्णकुमार राईले १९१४, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सर्जु श्रेष्ठले १७६१, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार भोजराज बस्नेतले १४०, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार दिपक मगरले १३१, आमूल परिवर्तन मसिहा पार्टीका उम्मेदवार चन्द्रमणि राईले २०४ र स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले २३९ मत पाएका छन् ।

जिल्लाभर ३५ हजार १८ पुरुष तथा ३२ हजार ३५५ महिला गरी कूल ६७ हजार ३७३ मत खसेको थियो । ७४ हजार ९२७ जना पुरुष मतदाता र ६७ हजार ८३५ जना महिला मतदाता गरी कूल १ लाख ४२ हजार ७९२ मतदाता थिए । निर्वाचनका लागि १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?