पर्यटक नपुग्दा ओझेलिँदै ‘मार्गपोखरी’

हिमालय टाइम्स
Read Time = 3 mins

तेह्रथुम । कुनै बेला जिल्लामा निक्कै कहलिएको पर्यटकीय गन्तव्य हो, मार्गपोखरी । तेह्रथुमको छथर गाउँपालिका-१ आङ्दिमका यो पोखरी रहेको छ । धार्मिक तथा पर्यटकीय रूपमा परिचित पोखरीमा केही वर्ष अघिसम्म पर्यटकको आकर्षण थियो तर अहिले सुनसान छ ।
हरिया डाँडाकाँडाले घेरिएको पहाडको टुप्पोमा रहेको पोखरी सफा, सुन्दर र लोभलाग्दो छ । सिधुवा-शुक्रबारे सडक खण्डको डङ्डङे भन्ने स्थानबाट करिब आधा घण्टा पैदल हिँडेपछि पुग्न सकिने यो पोखरी प्रचारप्रसार अभावमा ओझेलमा परेको छ । पोखरीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न प्रदेश १ को उद्योग वन तथा पर्यटन वातावरण मन्त्रालयको १० लाख बजेटबाट पदमार्ग निर्माणसमेत भएको छ ।

यस पोखरीमा भाकल गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । अहिले पोखरीमा पानी घट्दै गएको स्थानीय निङ्मा शेर्पाले बताउनुभयो । ‘पहिले पहिले पोखरीमा भाकल गरे चिताएको पूरा हुन्छ भनेर आउँथे । धामीहरू गुफा बस्थे तर, खै किन हो अहिले आउँदैनन् ।’ उहाँले भन्नुभयो ।

वारिपारि लोभलाग्दो हिमशृंखलामा रम्न सकिने यो पोखरीमा पर्यटक खासै पुगेको पाइँदैन । त्यसो त भौतिक पूर्वाधार निर्माण नभएका पनि हैनन् । यहाँ आउने पर्यटकको लागि शौचालय, खानेपानीको धारा, विश्रामस्थल, पदमार्गलगायत संरचना पनि छन् । पोखरी संरक्षणका लागि प्रयास भए पनि पर्यटकको नजर पुगेको छैन । पहाडको दृश्य अवलोकन गर्दै पोखरीसम्म पुग्दा रमाइलो भए पनि पदमार्ग छेक्ने झाडी हटाउन आवश्यक रहेको पर्यटक कुमार लिम्बूले बताउनुभयो ।

पोखरीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न प्रदेश तथा स्थानीय सरकारले काम गर्दै आएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । प्रचारप्रसार अभाव तथा सरोकारवाला निकायहरूले चासो नदिँदा पर्यटकीय रूपमा प्रचुर सम्भावना बोकेको पोखरी आफैँमा ओझेल पर्दै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?