पराजित भएका हेभिवेट र चर्चित उम्मेदवारको के होला अबको राजनीतिक यात्रा !

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य २०७९ को प्रत्यक्षतर्फको मत परिणाम आउने क्रम जारी छ । बिहीबार अबेरसम्म सार्वजनिक नतिजाका आधारमा थुप्रै हेभिवेट र चर्चित उम्मेदवारहरू पराजित भइसकेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित हुनुभएको छ । पोखरेलले १० हजार १७२ मत प्राप्त गर्नुभयो भने पौडेल १५ हजार २३७ मतसहित निर्वाचित हुनुभयो । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएको छ । राउतले ३५ हजार ४२ मतसहित विजयी हुँदा यादवले जम्मा १६ हजार ९७९ मत मात्र प्राप्त गर्नुभयो । कम्युनिष्ट पार्टीभित्र व्यवस्थापकीय र सांगठनिक हिसाबले शक्तिशाली मानिने पदमा रहनुभएका एमाले र माओवादीका महासचिव संसदीय निर्वाचनमा पराजित हुनुभएको छ ।

एमालेका महासिचव शंकर पोखरेल दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित हुनुभएको छ भने लमजुङमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित हुनुभएको छ । गत वर्ष भएका एमाले र माओवादीका महाधिवेशनबाट महासचिवको रूपमा उदाउनुभएका दुवै नेताले संसदीय चुनावमा भने हार बेहोर्नुभएको छ ।

दाङ-२ मा एमालेका महासचिव पोखरेललाई माओवादीकी शर्माले १९६ मतको अन्तरले पराजित गर्नुभएको छ । शर्माले २६ हजार ८७७ मत प्राप्त गर्दा एमाले महासचिव पोखरेलले २६ हजार ६८१ म्त मात्रै प्राप्त गर्नुभयो । लमजुङमा एमाले उपमहासचिव गुरुङले ३४ हजार ९६९ मत प्राप्त गरेर जित हासिल गर्दा माओवादी महासचिव गुरुङ तीन हजार १८८ मतान्तरले पराजित हुनुभयो । माओवादी महासचिव गुरुङले ३१ हजार ७८१ म्त मात्रै ल्याउन सक्नुभयो । एमाले महासचिव पोखरेल यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री हुनुहुन्थ्यो । माओवादी महासिचव गुरुङ भने माओवादीको प्रमुख सचेतकको रूपमा संघीय संसद्मा सक्रिय हुनुहुन्थ्यो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूपछिको नेतृत्व लिनसक्ने नेताको रूपमा गत वर्षका महाधिवेशनबाट पोखरेल र गुरुङलाई आ-आफ्नै जोडबल र रुचिमा पार्टीको भूमिकामा बढोत्तरी गराउनुभएको थियो ।

गुल्मी-२ मा नेकपा एकीकृत समाजवादी (नेकपा एस) की सचिव रामकुमारी झाँक्री एमालेका गोकर्ण विष्टसँग पराजित हुनुभयो । झाँक्रीले २६ हजार ४४१ र विष्टले २८ हजार ४७६ मत ल्याउनुभयो । काठमाडौं-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सत्ता गठबन्धनका प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित हुनुभयो । सिंहले सात हजार १४३ र मिश्रले सात हजार १८ मत प्राप्त गर्नुभयो । २०७४ मा पनि यही क्षेत्रमा सिंहसँगै पराजित हुनुभएको थियो । नेकपा माओवादी केन्द्रकी नेतृसमेत रहनुभएकी पूर्वसभामुख ओनसरी घर्तीमगर काठमाडौं-२ मा पराजित हुनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभए पनि मगरले चौथो स्थान मात्र प्राप्त गर्नुभयो । पूर्व-अर्थमन्त्री सुरेन्द्र पाण्डे र निवर्तमान राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल पराजित हुनुभएको छ । पाण्डे र पौडेललाई चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालले पराजित गर्नुभएको हो । एमाले उपाध्यक्षसमेत रहनुभएका पाण्डेले २६ हजार ६०८ र अर्का प्रतिस्पर्धी पौडेलले २४ हजार ९९० मत ल्याउँदा विजेता ढकालले ३४ हजार १८९ मत प्राप्त गरेर विजयी हुनुभयो ।

नेपाली कांग्रेसका पूर्व-महामन्त्री कृष्ण सिटौला पनि पराजित हुनुभएको छ । झापा क्षेत्र नं. ३ बाट उम्मेदवार सिटौलालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पराजित गर्नुभएको हो । लिङ्देनले ४० हजार ६४८ मत ल्याउँदा कांग्रेस नेता सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गर्नुभयो । २०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ लिएर सिटौलालाई पराजित गर्नुभएको थियो । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय पनि पराजित हुनुभएको छ । उपाध्यायलाई मकवानपुर क्षेत्र नम्बर-१ मा राप्रपाका दीपकबहादुर सिंहले पराजित गर्नुभएको हो । सिंह दुई हजार ३९३ मतको फरकमा विजयी हुनुभएको हो । सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिद्वन्द्वी सत्तारूढ गठबन्धनकी उम्मेदवार उपाध्यायले २५ हजार ४२३ मत प्राप्त गर्नुभयो । एमालेको चुनाव चिन्हबाट उम्मेदवार बन्नुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि यही क्षेत्रबाट पराजित हुनुभयो । तेस्रो स्थानमा सीमित हुनुभएका थापाले २५ हजार ४२० मत प्राप्त गर्नुभयो ।

काठमाडौं–७ मा कांग्रेसका भीमसेनदास प्रधान राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित हुनुभयो । खनालले १४ हजार ४०२, एमालेका सर्वेन्द्र खनालले आठ हजार ९११ र प्रधानले आठ हजार ८०५ मत पाउनुभयो । गठबन्धनको समर्थनमा माओवादीको चुनाव चिन्ह लिएर काठमाडौं–७ मा उम्मेदवारी दिनुभएकी नेपाल समाजवादी पार्टीकी नेत्री मानुषी यमी भट्टराई तेस्रो स्थानमा सीमित हुनुभयो । भट्टराईले ६ हजार ६३, एमालेका श्याम घिमिरेले ६ हजार ८०० र रास्वपाका गणेश पराजुलीले आठ हजार ७४३ मत प्राप्त गर्नुभयो । पर्सा-१ बाट उम्मेदवारी दिनुभएका लोसपा नेता लक्ष्मणलाल कर्ण चौथो स्थानमा सीमित बन्न पुग्नुभयो । कर्णले जम्मा एक हजार ११६ मत प्राप्त गर्नुभयो ।

नेकपा एमालेका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराई पराजित हुनुभएको छ । खोटाङमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामकुमार राईले नेकपा एमालेका विशाल भट्टराईलाई दुई हजार ६६९ मतान्तरले पराजित गर्नुभएको हो । राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ मत प्राप्त गर्नुभयो । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पराजित हुनुभएको छ । बस्नेतलाई नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका दुर्लभ थापाले ९५९ मतान्तरले पराजित गर्नुभएको हो ।

थापाले २४ हजार २३८ मत ल्याउँदा एमालेका बस्नेतले २३ हजार २७५ मत प्राप्त गर्नुभयो । बस्नेतले ०७४ मा १७ हजारभन्दा धेरै मतान्तरले जित्नुभएको थियो । बहालवाला ऊर्जामन्त्रीसमेत रहनुभएकी नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल पनि पराजित हुनुभएको छ । भुसाललाई ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले पराजित गर्नुभएको हो । तोसिमाले ३१ हजार १३६ मत पाउँदा भुसाल भने आठ हजार ७६९ मतसहित तेस्रो स्थानमा सीमित हुनुभयो । प्रतिनिधिसभाका उपसभामुख एवं कांग्रेस नेत्री पुष्पा भुसाल पराजित हुनुभएको छ । अर्घाखाँची प्रतिनिधिसभा सदस्य निर्वाचनमा भुसाललाई नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले पराजित गर्नुभएको हो । रायमाझीले ४२ हजार ६७५ मत ल्याई विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी भुसालले ४० हजार ९४५ मत प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?