मंसिर तेस्रो साता हस्तकला व्यापार मेला

Read Time = 3 mins

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर २३ देखि २७ गतेसम्म १९औँ हस्तकला व्यापार मेला हुने भएको छ । महासंघले आफ्नो वार्षिक कार्यक्रमका रूपमा विगतका वर्ष जस्तै यस वर्ष पनि मेला आयोजना गर्न लागेको हो । काठमाडौंको हायात होटलमा हुने १९औँ हस्तकला ब्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिता अवलोकनका लागि नेपाल सरकारका उच्च अधिकारीका साथै नेपालस्थित विभिन्न देशका विदेशी राजदूतलगायतलाई आमन्त्रण गरिने आयोजकले जनाएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका साथै निजी क्षेत्रका विभिन्न छाता संगठनहरूसँगको सहकार्यमा हुने मेलामा हस्तकलाका वस्तुका करिब एक सय ५० स्टल रहने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मेलाका प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत काष्ठकला, प्रस्तरकला र सेरामिक प्रयोगबाट मानव मुखाकृति भएको गरुड(बन्टेज) बनाउने विधा र प्राकृतिक रेसाबाट मफलर बनाउने प्रतियोगिता सञ्चालन हुने बताइएको छ । साथै कला प्रदर्शनीअन्तर्गत फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीन विधा रहेका छन् । त्यसैगरी ७० वर्ष नाघेका ज्येष्ठ कलाकार तथा आर्थिक वर्ष २०७८/०७९ मा हस्तकला वस्तु निर्यात गर्ने उत्कृष्ट निर्यातकर्तालाई पनि सम्मान गरिने कार्यक्रम रहेको छ ।

मेलाको उद्देश्य नेपाली हस्तकला सामानको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात ब्यापार प्रवद्र्धन गर्ने, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास, विदेशी हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई हस्तकला वस्तुको बजारीकरणमा सहयोग पुर्‍याउने रहेको आयोजकको भनाइ छ ।

त्यस्तै नवोदित उद्यमी व्यवसायीलाई बजार पहुँचको अवसर प्रदान, हस्तकला र नेपाली संस्कृतिबीचको अन्तरसम्बन्ध जनमानसमा उजागर, विदेशी क्रेतालाई हस्तकला सामान एकै स्थानबाट खरिद गर्ने अवसर प्रदान, आयात र निर्यातबीचको दूरी घटाई व्यापारघाटा न्यूनीकरण गर्न सहयोग पुर्‍याउने पनि रहेको महासंघले जनाएको छ । महासंघका अनुसार हाल करिब १२ अर्ब रुपैयाँ बराबरको हस्तकला ६० भन्दा बढी मुलुकमा निर्यात हुँदै आएको छ । सोही बराबर स्वदेशी बजारमा पनि कारोबार हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?