चिसो भुइँमा पढ्न बाध्य स्कुले बालबालिका

हिमालय टाइम्स
Read Time = 4 mins

बारा । बाराको आदर्श कोटवाल गाउँपालिका-५ मा रहेको नेरा आधारभूत टेढाकट्टी विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका चिसो भुइँमा पलेँटी कसेर पढ्न बाध्य छन् । झन् ‘दैलो सरकार’ (स्थानीय सरकार) ले पनि यस्तो समस्या बेवास्ता गर्दा तत्काल सुधार हुने छाँटकाँट देखिँदैन । बाराको आदर्श कोटवाल गाउँपालिका-५ मा रहेको यस आधारभूत विद्यालयको अवस्था निकै नाजुक छ । पटक-पटक स्थानीय सरकारलाई सहयोगका लागि आग्रह गरे पनि प्राथमिकतामा नपरेको स्थानीयको भनाइ छ ।

तीन वर्षअघि गाउँपालिकाले नयाँ भवन बनाउने भन्दै पुरानो पाँचकोठे भवनमा सुधारका लागि थप लगानी भएको छैन । यही कारण बालबालिकाहरू जीर्ण विद्यालय भवनको चौर, बरण्डाको चिसो भुइँमा बसेर पढ्न बाध्य छन् । यसरी पढ्दा बालबालिकाको स्वास्थ्यमा निकै नराम्रो असर परिरहेको विद्यालयका प्रधानाध्यापक शारदा सिंहले गुनासो गर्नुभयो । १ देखि ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा करिब चार सय विद्यार्थी छन् । विद्यार्थी राखेर पढाउन कक्षाकोठा अपुग भएपछि विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थीहरूलाई एउटै कोठामा राखेर बहुकक्षा सञ्चालन गर्दै आइरहेको छ । जसले विद्यालयको पढाइ केवल औपचारिकतामा सीमित छ ।

विशेषगरी दलित, गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने भएर पनि जनप्रतिनिधिले यस विद्यालयलाई बेवास्ता गरेको हुनसक्ने स्थानीयको आरोप छ । हुनेखाने र सम्पन्न परिवारका बालबालिका सहरी क्षेत्रका निजी विद्यालयमा पढाउने गरेकाले स्थानीय हुनेखाने परिवारको नजरमा समेत यो विद्यालय परेको छैन । सोही कारण विद्यालयमा अहिले शैक्षिक गुणस्तर पनि खस्किरहेको पूर्व-विद्यार्थीहरूको अनुभव छ ।

विद्यालयको अवस्था हेर्दा कतै पनि अध्ययन, अध्यापनको वातावरण नै देखिँदैन । चाँडै नयाँ भवन निर्माण सम्पन्न गर्न अघिल्लो सरकारका जनप्रतिनिधिलाई भने पनि ध्यान नदिएको आदर्श कोटवाल गाउँपालिका-५ का वडाध्यक्ष रूपेशनारायण सिंह बताउनुहुन्छ । विद्यालयमा अहिले जम्मा चारवटा कोठा छन् । प्रशासनिक भवन अर्को भवनमा छ । जसमा एउटा कोठामा निर्माण सामग्री राखिएका छन् । सोही कोठामा विद्यालयको अफिस पनि छ । गाउँपालिकाले विद्यालय सुधारमा चासो नदिएपछि विद्यार्थीको पढाइ अस्तव्यस्त बनेको छ ।
आदर्श कोटवाल गाउँपालिका प्रमुख जवाहरप्रसाद साहले चाँडै नै पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने र अब बालबालिका चिसो भुइँमा बसेर पढ्ने समस्याको चाँडै समाधान निकाल्ने बताउनुभयो । धेरै सामुदायिक विद्यालयको अवस्था देखेर नाक खुम्च्याउनुपर्ने अवस्था सिर्जना भएको छ । आदर्श कोटवाल गाउँपालिकामा रहेको यस आधारभूत विद्यालय नयाँ भवन कहिले बन्छ र विद्यार्थीले चिसो भुइँमा बसेर पढ्नुपर्ने बाध्यता अन्त्य कहिले हुन्छ भनेर प्रतीक्षा गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?