बाराका दुईवटा निर्वाचन क्षेत्रमा एमालेको कब्जा, एउटामा समाजवादी विजयी

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । बारामा चार प्रतिनिधितथा आठ प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्र रहेकोमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एमाले र एउटामा नेकपा समाजवादीले जित हासिल गरेका छन् । बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका बलवीर चौधरीले नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानीमन्त्री उमाकान्त चौधरीलाई नौ हजारभन्दा बढी मतको फराकिलो अन्तरले हराउन सफल हुनुभएको छ ।

एमालेका चौधरीले ३९ हजार १९७ मत प्राप्त गरी विजयी हुुनुभएको छ भने नेपाली कांग्रेसका चौधरीले ३० हजार ५६ मत प्राप्त गरी पराजय भोग्नुपरेको छ । यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका ज्वालाकुमारी साहले जसपाका रामबाबु यादवलाई दुई हजार ९८२ मतले पछि पार्दै विजयी हुनुभएको छ । साहले २० हजार २५१ मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी जसपाका रामबाबुकुमार यादवले १७ हजार २६९ मत पाउनुभएको थियो ।

बारा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) ले १० हजारभन्दा बढी फराकिलो मतले आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै विजयी हुनुभएको छ । श्रेष्ठले २९ हजार ५०५ मत ल्याई विजय हासिल गर्नुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाले १९ हजार ४३४ मत पाउनुभएको थियो । यसैगरी प्रदेशसभा सदस्यमा बारा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट जसपाका सरोजकुमार यादव विजयी हुनुभएको छ । यादवले १५ हजार ९२७ मत ल्याई विजय हासिल गर्नुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नागेन्द्रप्रसाद कानुले ११ हजार ४० मत पाउनुभएको थियो ।

यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर २ को (क) मा स्वतन्त्र उम्मेदवार शारदा शंकरप्रसाद कलवार विजयी हुनुभएको छ । कलवारले नौ हजार २९५ मत पाउनुभएको थियो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका बलवीर चौधरीले ६ हजार ८६७ मत पाउनुभएको थियो ।
निर्वाचन क्षेत्र नम्बर २(ख)मा जसपाका बच्चा राउत अहिर विजयी हुुनुभएको छ । अहिरले १० हजार ३०२ मत प्राप्त गरी विजय हात पार्नुभएको थियो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामअयोध्याप्रसाद यादवले आठ हजार ९३९ मत पाउनुभएको थियो ।

यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट नेकपा एमालेका उम्मेदवार रविन्द्रदास श्रेष्ठ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले आठ हजार १९५ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मुकेश साहले सात हजार ३०९ मत पाउनुभएको थियो ।

यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर ४ (क)बाट नेकपा एमालेका देवनारायण चौधरी विजयी हुनुभएको छ । चौधरीले १३ हजार ६०९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार ९८९ मत प्राप्त गर्नुभएको थियो । यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर ४(ख) बाट प्रदेशसभा सदस्यमा लोसपाका जितेन्द्र सोनल विजयी हुनुभएको छ । सोनलले १२ हजार १८१ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी जसपाका आत्माराम साहले सात हजार ६०९ मत प्राप्त गर्नुभएको थियो ।

बारामा एउटा प्रतिनिधिसभा सदस्य र दुईवटा प्रदेशसभा सदस्यको मतगणना जारी रहेको बाराका मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?